मेक्सिकोको एक सुपरमार्केटमा विस्फोट हुँदा २३ जनाको मृत्यु

मेक्सिकोको उत्तरी भागमा रहेको एक सुपरमार्केटमा शनिबार भएको भीषण विस्फोटमा कम्तीमा २३ जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार विस्फोटका कारण सम्भवतः त्रुटिपूर्ण विद्युतीय ट्रान्सफर्मर रहेको प्राथमिक अनुसन्धानले देखाएको छ ।
सोनोरा राज्यका गभर्नर अल्फोन्सो दुराजोले भिडियो सन्देशमार्फत भने, “दुःखको कुरा, धेरै पीडितहरू नाबालिग रहेका छन्, घाइतेहरूलाई हर्मोसिलो सहरका अस्पतालमा उपचारका लागि लगिएको छ ।”
गभर्नर दुराजोले घटनाको वास्तविक कारण पत्ता लगाउन तथा जिम्मेवार व्यक्तिहरूको पहिचानका लागि विस्तृत र पारदर्शी अनुसन्धानको आदेश दिएका छन् । अभियोजक कार्यालयले जारी गरेको वक्तव्यमा भनिएको छ, “घटना आकस्मिक भएको प्रारम्भिक धारणा छ र अनुसन्धान पसलभित्र रहेको ट्रान्सफर्मरमाथि केन्द्रित गरिएको छ ।”
विस्फोट सहरको केन्द्रमा रहेको ‘वाल्डो’ सुपरमार्केटमा दिउँसो करिब २ बजेतिर (२००० जिएमटी) भएको थियो । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार विस्फोटपछि पसलभित्र रहेका केही ग्राहकहरू भाग्न नपाई आगोको लप्कामा फसेका थिए । सार्वजनिक भएका तस्बिरहरूमा भवनको अगाडिको भाग कालो देखिएको र झ्यालहरू फुटेका थिए ।
गभर्नर दुराजोले भने, “कसैले पनि यो पीडाको सामना एक्लै गर्नुपर्ने छैन । पहिलो क्षणदेखि नै आपतकालीन, सुरक्षा र स्वास्थ्य निकायहरूले उच्च व्यावसायिकता र प्रतिबद्धताका साथ कार्य गरे, परिस्थितिलाई नियन्त्रणमा लिए र धेरै जीवनहरू बचाए ।”
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबामले सामाजिक सञ्जाल एक्समार्फत मृतकका परिवारजन र प्रियजनप्रति हार्दिक समवेदना प्रकट गरे । उनले भने, “म सोनोराका गभर्नरसँग सम्पर्कमा छु र गृह सचिव रोजा इसेला रोड्रिगेजलाई प्रभावित परिवार र घाइतेहरूलाई सहयोगका लागि सहायता टोली पठाउन निर्देशन दिएकी छु ।”
स्थानीय अधिकारीहरूले नागरिकहरूलाई विस्फोट क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन् । सो अवसरमा आयोजना हुन लागेको मृतकको दिन (डे अफ द डेड) सम्बन्धी उत्सव पनि स्थगित गरिएको छ ।
अखबार एल युनिभर्सलका अनुसार नजिकका व्यवसायहरूले आगो फैलिन नदिन आफ्ना ढोका बन्द गरेका थिए । अनुसन्धानकर्ताहरूले भवनमा प्रवेश अनुमति पाएपछि घटनाको ठ्याक्कै कारण पत्ता लाग्ने अपेक्षा गरिएको छ ।









आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
प्रतिक्रिया