आइतबार, फागुन १७, २०८२

दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी

मेरोन्यूज २०८२ मंसिर २ गते १२:१३

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ सम्ममा तीन लाख ३० हजार ९१२ जना करदाताबाट रु दुई खर्ब ७५ अर्ब बक्यौता कर असुली हुन बाँकी देखिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

सोमबार सार्वजनिक गरिएको आन्तरिक राजस्व विभागको वार्षिक प्रगति प्रतिवेदनअनुसार बक्यौता बाँकी रहेका करदाताबाट रु ९४ अर्ब ९५ करोड र प्रशासकीय पुनरावलोकनमा रहेका दुई हजार ९५ करदाताबाट रु एक खर्ब ८० अर्ब १० करोड बराबर असुली हुन बाँकी देखिएको हो।

असुली हुन बाँकी कर बक्यौताको अवस्था हेर्दा आयकरतर्फ सबैभन्दा बढी एक लाख ९३ हजार ६२० करदाताबाट रु दुई खर्ब १९ अर्ब ११ करोड उठ्न बाँकी रहेको छ। मूल्य अभिवृद्धि करतर्फ एक लाख ३७ हजार २५३ करदाताबाट रु ४८ अर्ब ७० करोड, अन्तः शुल्कतर्फ ३६४ करदाताबाट रु चार अर्ब नौ करोड र अन्यतर्फ एक हजार ७७० करदाताबाट रु तीन अर्ब १५ करोड बराबर कर असुली हुन बाँकी छ।

गत आर्थिक वर्षमा आन्तरिक राजस्व विभागले कर बक्यौता असुलीका लागि राखेको वार्षिक लक्ष्यको प्रगति पनि न्यून देखिएको छ। “बक्यौता सङ्कलनतर्फ आर्थिक वर्ष २०८१÷८२ मा आयकरतर्फ रु २२ अर्ब ७६ करोड लक्ष्य रहेकामा रु आठ अर्ब ७१ करोड असुल भई लक्ष्यको तुलनामा ३८ दशमलव २९ प्रतिशत प्रगति हासिल भएको छ”, वार्षिक प्रतिवेदनमा भनिएको छ।

त्यसैगरी मूल्यअभिवृद्धि करतर्फ रु १६ अर्ब ३३ करोड बक्यौता उठाउने लक्ष्य रहेकामा ६३ दशमलव २८ प्रतिशत अर्थात् रू १० अर्ब ३३ करोड असुल भएको जनाइएको छ।

गत आर्थिक वर्षमा बक्यौता समायोजनमा आयकरतर्फ रु २७ अर्ब ३८ करोड लक्ष्य रहेकोमा रु २१ अर्ब ३९ करोड प्रगति भई लक्ष्यको तुलनामा ७८ दशमलव एक प्रतिशत प्रगति भएको छ। त्यस्तै मूल्य अभिवृद्धिकरतर्फ रु १८ अर्ब १७ करोड लक्ष्य रहेकामा रु २२ अर्ब २९ करोड अर्थात् वार्षिक लक्ष्यको तुलनामा १२२ दशमलव ६३ प्रतिशत प्रगति भएको छ।

प्रतिक्रिया