‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी

नारायणगढ (चितवन) । पछिल्लो समय विभिन्न सवारीसाधनले ठक्कर दिएर फरार हुने (हिट एण्ड रन)का घटना बढ्दै गएका छन् । सवारीसाधनको चाप बढेसँगै दुर्घटना गराएर भाग्ने प्रवृत्ति पनि बढेको प्रहरीको भनाइ छ ।
यस्तो अवस्थामा दुर्घटनापछि चालकले पूरा गर्नुपर्ने कर्तव्यबारे जनचेतना आवश्यक देखिएकाले सचेतनामूलक अभियान सञ्चालनको तयारी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार ‘हिट एण्ड रन’ गर्नु चालकको गम्भीर लापरबाही हो । यस्तो घटनालाई प्रहरीले नछाड्ने र चालक भागेमा खेजेर कानुनी दायरामा ल्याउने गरिएको उनले बताए ।
प्रमुख प्रहरी उपरीक्षक पुरीले भने, “हिट एण्ड रनका घटना भएमा प्रहरीले जसरी पनि पत्ता लगाएर कारबाही अघि बढाउँछ । ठक्कर दिएर चालक भागेमा को पनि उम्कन पाएका छैनन् र पाउँदैनन् । प्रहरीले कानुनी कारबाही अवश्य गर्छ ।” उनका अनुसार गत साउनयता जिल्लामा १५ वटा हिट एण्ड रनका घटना दर्ता भएका छन् ।
उनले भने, “चितवन देशको मध्य भागमा पर्ने सहर हो । पूर्व–पश्चिम राजमार्ग र काठमाडौँ प्रवेश गर्ने मुख्य सडक यहीँ भएर जाने भएकाले यहाँ सवारीको चाप बढी हुन्छ ।” सवारीसाधनको आवागमन बढी हुने भएकाले दुर्घटना पनि तुलनात्मक रूपमा बढी हुने उनले बताए ।
प्रमुख पुरीका अनुसार जिल्लामा प्रहरी हिट एण्ड रनका घटनालाई नियन्त्रण गर्न विशेष संयन्त्र बनाएर काम गर्दै आइएको छ । उनले थपे, “राजमार्गमा ठक्कर दिएर भाग्ने प्रवृत्ति देखिन्छ भने भित्री सडकमा पनि यस्ता घटना केही कम हुने गरेका छन् । साउनयता भएका १५ वटै घटनाको प्रहरीले पहिचान गरिसकेको छ ।”
प्रमुख प्रहरी उपरीक्षक पुरीले केही समयअघि एक हिट एण्ड रनको घटनाको वास्तविकता ४९ दिनपछि पत्ता लगाई कानुनी कारबाही अघि बढाइएको उदाहरणसमेत प्रस्तुत गरे । दुर्घटना गराएर भाग्नुले समस्या झन् जटिल हुने उल्लेख गर्दै उनले भने, “दुर्घटना गरेपछि भागेँ भने बचिहाल्छु, कारबाही हुँदैन भन्ने सोच गलत हो । सवारी चालकले यस्तो सोच सच्याउन जरुरी छ ।”
दुर्घटना भएको खण्डमा तुरुन्तै प्रहरीलाई जानकारी गराई आत्मसर्मपण गर्नुपर्ने उनको सुझाव छ । चालकले आफ्नो कमजोरी वा गल्ती स्पष्ट रूपमा प्रहरीलाई बताउनुपर्नेमा उनले जोड दिए । दुर्घटनाको जानकारी तत्काल प्रहरीलाई गराएमा समस्या कम हुने, घाइतेको उपचार छिटो हुने, ज्यान जोगिन सक्ने र कानुनी प्रक्रियासमेत सहज हुने उनले बताए ।
हिट एण्ड रन गरेर फरार भएमा झन् कडा कारबाही हुनसक्ने विषयका बारेमा पनि प्रमुख प्रहरी उपरीक्षक पुरीले स्पष्ट पारे । जिल्ला प्रहरी कार्यालय चितवनले यस्ता हिट एण्ड रनका घटना दोहोरिन नदिन विशेष सतर्कता अपनाएर काम गरिरहेको उनले बताए ।

















युक्रेन युद्ध अन्त्यका लागि हतार नगर्ने रुसको घोषणा
अहिले सेटिङमा निर्वाचन सर्वेक्षण सार्वजनिक गरिएका छन् : विष्णु पौडेल
इरान र अमेरिकी प्रतिनिधिमण्डल वार्ता सहमति नजिक !
अबको पाँच वर्ष स्वर्णिम बनाउने छौँ, मुलुकलाई दुर्घटनामा पर्न दिन्नौँ : सभापति थापा
जापानमा वृद्ध व्यक्ति भित्तेचित्र कोरेको आरोपमा पक्राउ
रास्वपा पहिराे जाने क्रम राेकिएन : आजै दुई नेताले पार्टी छाडे
चुनावकाे मुखमा सिंहदरबार जलाउने आरोपीलाई सरकारी वकिलको उन्मुक्ति
भेनेजुएलाका पूर्वराष्ट्रपति मदुरोलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घमा माग
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
प्रतिक्रिया