बिहीबार, पुष २४, २०८२

रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम

मेरोन्यूज २०८२ पुष २३ गते १०:११

रसुवा।आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका लागि मतदानस्थल तथा मतदान केन्द्र निर्धारण कायम गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदातालाई सहज र सरल बनाउन जिल्ला सुरक्षा समिति, स्थानीय मतदाता, बुद्धिजीवीसमेतको सुझावमा ती काम पूरा गरेको हो । जिल्ला निर्वाचन अधिकारी राजन रायका अनुसार २१ हजार १४१ महिलासहित ४१ हजार ४७१ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन् ।

यसका लागि मतदानका लागि छनोट गरिएका ३६ मतस्थल ५७ मतदान केन्द्र कायम रहनेछन् । यहाँका पाँच गाउँपालिकामध्ये उत्तरगया गाउँपालिकामा ११, कालिकामा १२, नौकुण्डमा १५, गोसाइँकुण्डमा १० मतदान केन्द्र रहने छन् ।

यसअघिको निर्वाचनमा ४० हजार ५०० मतदाताका लागि ५२ केन्द्र कायम गरिएको थियोभने हालको निर्वाचनमा अद्यावधिक गरिएको मतदाता नामावलीमा नाम थपिएका कारण मतदान केन्द्र क्रमशः वृद्वि गर्दै लगिएको बताइएको छ । निर्धारित मतदान केन्द्रमध्ये १४ सामान्य, ३८ संवेदनशील र पाँचवटा अतिसंवेदनशीलमा वर्गीकरण गरिएको निर्वाचन अधिकारी रायले जानकारी दिए ।

प्रतिक्रिया