आइतबार, पुष २७, २०८२

त्रिशूलीमा माछा मार्ने क्रममा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुन सक्ने आशंका

मेरोन्यूज २०८२ पुष २७ गते १२:५६

तनहुँ । तनहुँको आँबुखैरहनी गाउँपालिका– ५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ ।

भरतपुर महानगरपालिका– २९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुन सक्ने आशंका गरिएको छ । बस बेपत्ता भएको ठाउँबाट २०० मिटरनजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार माछा मार्ने क्रममा जाल अड्किएपछि स्थानीयले खोतलेर हेर्दा बसजस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोलगत्तै बालुवामा पुरिएको अवस्थामा बस देखिएपछि खन्ने काम भइरहेको छ । उनका अनुसार नीलो रङको देखिएको र सिमलतालमा हराएको गणपति बसको रङसँग मिलेकाले सोही बस हुन सक्ने सम्भावना छ । यद्यपि, बस निकालेपछि मात्रै यकिन भन्न सकिने उनले जानकारी दिए ।

२८ असार २०८१ मा नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसहित दुई बस त्रिशूलीमा बेपत्ता भएका थिए । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स त्रिशूलीमा बेपत्ता भएका थिए । दुई बसमा सवार ६५ जनामध्ये ११ जनाको शव फेला परेको थियो भने तीन जना घाइते भएका थिए ।

घटनामा ५१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए ।

प्रतिक्रिया