बिहीबार, माघ ८, २०८२

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

मेरोन्यूज २०८२ माघ ८ गते १९:३८

बरहथवा (सर्लाही)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सर्लाहीमा १५८ मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रका रुपमा राखिएको छ । यहाँ रहेका चार निर्वाचन क्षेत्रमा ३१२ मतदानस्थल तोकिएको थियो । त्यसमध्ये १३१ संवेदनशील र २३ मतदानस्थललाई सामान्य समूहमा वर्गीकरण गरिएको हो ।

जिल्ला सुरक्षा समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार सबै मतदानस्थलको अनुगमनपछि तीन समूहमा वर्गीकरण गरिएको हो । निर्वाचन सुरक्षा रणनीति तयार गर्ने उद्देश्यसहित तयार पारिएको समूहअनुसार मतदानस्थलको सुरक्षा व्यवस्था सोहीअनुसार गरिने उनले बताए ।

अनुगमनका क्रममा यहाँको सामाजिक, राजनीतिक, भौगोलिक तथा सीमावर्ती क्षेत्रका जोखिमलाई मूल्याङ्कन गरिएको प्रजिअ रामुराज कडरियाको भनाइ छ । सुरक्षा समितिको सिफारिसमा यसपटक केही मतदानस्थल र केन्द्र हेरफेर गरिएको जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले बताए । आसन्न निर्वाचनमा सर्लाहीका मतदाताले ३१२ मतदानस्थलमा स्थापना गरिने ६२८ मतदान केन्द्रमार्फत आफ्नो मत जाहेर गर्नेछन् ।

निर्वाचन कार्यालयका सर्लाहीका अनुसार क्षेत्र नं १, मा एक लाख ३० हजार ८७१ मतदाता रहेका छन् । यहाँ ७८ मतदानस्थल र १५७ मतदान केन्द्र तोकिएको छ भने क्षेत्र नं २, मा एक लाख २५ हजार ३११ मतदाताका लागि ७७ स्थानमा १५८ मतदान केन्द्र तय भएको छ ।

यस्तै क्षेत्र नं ३, मा एक लाख ३४ हजार ४१२ मतदाताका लागि ७६ मतदानस्थलमा १५९ मतदान केन्द्र स्थापना गरिने भएको छ भने ४ नम्बर निर्वाचन क्षेत्रमा एक लाख २१ हजार १२ जना मतदाताका लागि ८१ मतदानस्थलमा १५४ वटा केन्द्र रहने जिल्ला निर्वाचन अधिकारी पौडेलले जानकारी दिए ।

आसन्न निर्वाचनमा सर्लाहीबाट दुई लाख ७८ हजार ८३७ पुरुष, दुई लाख ३२ हजार ७५८ महिला र ११ अन्यसहित पाँच लाख ११ हजार ६०६ जना मतदाताले मतदान गर्नेछन् । विसं २०७९ को निर्वाचनपछि सर्लाहीमा २२ हजार ५९५ जना नयाँ मतदाता थपिएका छन् ।

प्रतिक्रिया