आइतबार, फागुन १७, २०८२

नबिल निःशुल्क जलन उपचार शिविर सम्पन्न, ६५ बिरामीको उपचार

मेरोन्यूज २०८२ फागुन १७ गते १३:५९

काठमाडौं । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा तीनदिने ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सम्पन्न भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त शिविरमार्फत ६५ जना जलनका बिरामीहरूले निःशुल्क उपचार पाएको बैंकले जनाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

शिविरमा आएका २० जना बिरामीको सेती प्रादेशिक अस्पतालमै वरिष्ठ चिकित्सकले शल्यक्रिया गरेका थिए भने जटिल किसिमका १८ जना बिरामीलाई काठमाडौको सांखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा रिफर गरिएको छ । नबिल बैंक, सुष्मा कोइराला मेमोरियल अस्पताल र सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा आयोजित उक्त शिविरमा सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँबाट बिरामीहरू उपचारका लागि आएका थिए । लामो समयदेखि उचित उपचार तथा शल्यक्रियाको पर्खाइमा रहेका तथा विपन्न र आर्थिक अवस्था कमजोर भएका बिरामीहरूले शिविरमा निःशुल्क उपचार पाएका थिए ।

सुष्मा कोइराला मेमोरियल अस्पतालका प्रा. डा. ईश्वर लोहनीको नेतृत्वमा विशेषज्ञ चिकित्सकको टोलीले शिविरमा सेवा प्रदान गरेका थिए । सघन उपचार गर्नु पर्ने जटिल किसिमका बिरामीहरूलाई काठमाडौंस्थित अस्पतालमा रिफर गरिएको प्रा. डा. लोहनीले जानकारी दिए । नेपालमा जलनका घटनासम्बन्धी समस्या ठूलो भएको उल्लेख गर्दै प्रा.डा. लोहनीले पीडितले समयमा उपचार नपाउने, कमजोर आर्थिक अवस्थाका कारण घाउहरू अझै बढ्ने र थप समस्या आउने बताए । शिविरले मानिसहरूलाई उचित उपचारबारेमा सचेत गरेको र भविष्यमा यस्ता कार्यक्रमले विपन्न वर्गका मानिसहरुलाई अझ लाभान्वित गर्नेे उनको भनाइ थियो ।

नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरेको शिविरमा ३५ पुरुष तथा ३० महिला गरी ६५ जना सहभागी थिए । ‘नेपालमा जलनसम्बन्धी घटनाका पीडितले अझै पनि उचित उपचार नपाएर बस्नु पर्ने अवस्था रहेकामा नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पहिलो चरणमा सुदुरपश्चिम प्रदेशका दुर्गम क्षेत्रमा रहेका जलनपीडितलाई लक्षित गरी शिविर आयोजना गरेको हो । शिविरमार्फत पीडितहरुले उपचार पाएका छन्,’ नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले भने ।

काठमाडौंदेखि गएको विशेषज्ञ चिकित्सकहरुको टोलीले उपचार गराएकाले शिविर सफल तथा एकदम प्रभावकारी भएको ज्ञवालीले बताए । उनले आगामी दिनमा अन्य प्रदेशमा पनि यस प्रकारका शिविर आयोजना गर्ने जानकारी दिए । धेरै मानिसहरू अझै पनि उचित उपचार नपाएर बसिरहेको र यस्ता जलन शिविरले जलनको अत्यावश्यक उपचार उपलब्ध भई राहत पाइने सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले बताए । जलनको उपचार सम्वेदनशील र जरूरी रहेको बताए ।

जलन शिविरका साथसाथै सेती प्रादेशिक अस्पतालमा आधारभूत जलन उपचार तालिम पनि सञ्चालन गरिएको थियो । सुषमा कोइराला मेमोरियल अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. राजु भण्डारीद्वारा अस्पतालका डाक्टर, नर्स, प्रशासनिक प्रमुख, सर्जन लगायत करिब ५० जनालाई तालिम प्रदान गरिएको थियो । डा. भण्डारीका अनुसार जलनको शल्यक्रिया गरिसकेपछि फलोअपमा आउने बिरामीहरुको उपचार गर्नका लागि अस्पतालका डाक्टर तथा नर्सको सीप विकासका लागि सो तालिम सञ्चालन गरिएको हो ।

प्रतिक्रिया