सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्चिम र उत्तरपश्चिम सीमाक्षेत्रमा मङ्गलबार बिहानदेखि तीव्र झडप भएको जनाउँदै इस्लामाबादले एक पाकिस्तानी सैनिकको पनि ज्यान गएको पुष्टि गरेको छ ।
पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले अफगान सीमामा भएका ‘धेरै आक्रमणलाई सफलतापूर्वक विफल पारिएको’ बताए । उनका अनुसार अफगान स्थल सेनाले बलुचिस्तान प्रान्तका किल्ला सैफुल्ला, नुस्की र चमन जिल्लामा रहेका १६ स्थानमा भूमि आक्रमण गरेको थियो । त्यसको प्रत्युत्तरमा पाकिस्तानी सेनाले २७ अफगान सैनिक मारिएको दाबी गरेको उहाँले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिए ।
उनका अनुसार उत्तरपश्चिमी खैबर पख्तुनख्वाको सीमावर्ती क्षेत्रमा पनि अफगान सेनाले २५ स्थानमा आक्रमण गरेको थियो । ती क्षेत्रमा भएको झडपमा ४० अफगान सुरक्षा बलका सदस्य मारिएको दाबी पाकिस्तानले गरेको छ । यसरी दुवै मोर्चामा गरी ६७ अफगान सुरक्षाकर्मी मारिएको इस्लामाबादको भनाइ छ ।
यी दाबीबारे काबुलबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । तर, दुवै देशले विगत बिहीबारदेखि एकअर्कालाई भारी क्षति पुर्याएको दाबी गर्दै आएका छन् । अफगानिस्तानले अघिल्लो आइतबार भएको पाकिस्तानी हवाई आक्रमणको प्रतिशोधस्वरूप आक्रमण सुरु गरेको जनाएको थियो । त्यसयता पाकिस्तानले सीमाक्षेत्रमा निरन्तर सैन्य अपरेसन सञ्चालन गरिरहेको छ ।
सोमबार तरारले ४३५ अफगान सुरक्षाकर्मी मारिएको र ३१ स्थान नियन्त्रणमा लिइएको दाबी गरेका थिए।
यसबीच, अफगान पक्षले पनि आफ्ना कारबाहीबाट पाकिस्तानी सेनालाई ठूलो क्षति पुर्याइएको दाबी गर्दै आएको छ । यद्यपि, स्वतन्त्र रूपमा यी दाबीहरूको पुष्टि हुन सकेको छैन ।
पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले सोमबार अफगानिस्तानभित्र जारी सैन्य कारबाहीको बचाउ गर्दै इस्लामाबादले कूटनीतिक प्रयासका सबै विकल्प प्रयोग गरिसकेपछि मात्र उग्रवादीविरुद्ध कदम चालिएको बताएका थिए । उनले काबुललाई पाकिस्तानमा आक्रमणका लागि जिम्मेवार समूहहरूलाई निशस्त्र बनाउन आग्रह गरे।
पाकिस्तानले हालको अवस्थालाई अफगानिस्तानसँगको ‘खुला युद्ध’ का रूपमा वर्णन गरेको छ । सीमाक्षेत्र अल–कायदा र इस्लामिक स्टेट समूहजस्ता आतङ्कवादी सङ्गठनहरूको गतिविधि बढेको क्षेत्र मानिँदै आएको छ ।
पछिल्ला महिनाहरूमा पाकिस्तानभित्र हिंसा बढेको र त्यसका लागि प्रतिबन्धित तेहरीक–ए–तालिबान पाकिस्तान (टिटिपी) जिम्मेवार रहेको इस्लामाबादको आरोप छ । पाकिस्तानले टिटिपीले अफगान भूमिबाट सञ्चालन गर्दै आएको र अफगान तालिबान सरकारले सुरक्षित आश्रय दिएको आरोप लगाउँदै आएको छ, जसलाई काबुलले अस्वीकार गर्दै आएको छ ।
हालको सीमापार द्वन्द्वले गत अक्टोबरमा कतार र टर्कीको मध्यस्थतामा भएको युद्धविरामलाई प्रभावहीन बनाएको छ ।
इस्तानबुलमा सम्पन्न वार्ता स्थायी सहमति बनाउन असफल भएपछि दुवै पक्षबीच तनाव पुनः चुलिएको हो । पाकिस्तानी अधिकारीहरूले अफगान तालिबान सरकारले टिटिपी र अन्य उग्रवादी समूहहरूविरुद्ध प्रमाणित र प्रभावकारी कदम नचालेसम्म सैन्य अपरेसन जारी रहने स्पष्ट पारेका छन् ।
















सेयर बजारमा सामान्य वृद्धि
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण
व्यवसायी दीपक भट्ट पक्राउ
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया