बिहीबार, माघ १, २०८२

मोरङमा तीन जनाको हत्यामा संलग्न पक्राउ, आर्थिक लेनदेनका कारण हत्या

मेरोन्यूज २०७८ माघ २१ गते १८:०२

काठमाडौं । मोरङको धनपालथान गाउँपालिकाको उखुबारीमा एकसाता अघि हत्या गरेर खाल्डो खनि पुरेको अवस्थामा भेटिएका दुई व्यक्तिको आर्थिक लेनदेनका कारण हत्या भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी हत्यामा संलग्न मध्ये मुख्य योजनाकार मण्डलसहित मोरङका अमित शाह र नासिर आलम पक्राउ गरि सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार थप केही व्यक्ति फरार छन् । हत्यामा केही भारतीय नागरिक समेत संलग्न रहेको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ । प्रहरीले तीन जनाको हत्या आर्थिक लेनदेनकै कारण भएको बताएको छ ।

आर्थिक लेनदेनको कारण मोरङमा दुई जना र ललितपुरको गोदावरीमा नगरपालिका–१२, थेचोमा थप एकजनाको हत्या गरि खाल्डो खनेर परिएको अवस्थामा शव बिहीबार प्रहरीले फेला परेको थियो ।

तीन जनाको हत्या सिरहा नगरपालिका वडानम्बर १२ स्थायि घर भएका ३१ वर्षीय अनिलकुमार मण्डलले आपसी लेनदेनका कारण केहि ब्यक्तीको सहयोगमा फरकफरक मिति र स्थानमा हत्या गरी खाल्डो खनेर पुरेको प्रहरी अनुसन्धानले खुलेको छ ।

माघ १२ गते धनपालथान वडानम्बर ७ को उखुबारीमा सप्तरी शम्भुनाथ नगरपालिका वडानम्बर ४ का ३२ बर्षिय शम्भुकुमार चौधरी र भोलीपल्ट धरान उपमहानगरपालिका वडानम्बर ३ का ४८ वर्षिय राजेन्द्रकुमार श्रेष्ठको सोहि स्थान नजिकैको अर्को खाल्डोबाट शव भेटिएको थियो ।

त्यहाँका स्थानीयले शंकास्पद खाल्डो देखेर प्रहरीलाई खबर गरेपछि प्रहरीको टोलीले ५ फिट गहिरो खाडलबाट दुईजनाको शव बाहिर निकालेको थियो ।

स्थानीयले प्रहरीलाई खबर गरेसँगै प्रहरी टोली अनुसन्धानको लागि घटना स्थलमा पगेको मोरङ जिल्लाका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक जनार्दन जिसीले बताए ।

उनले प्रहरीले खाल्डो खन्दा एउटा शव भेटिएको बताए । प्रहरीले त्यसको भोलिपल्ट अर्को स्थानमा पनि शंकास्पद खाल्डो खनेर अर्को शव पनि निकालेको उनले बताए ।

प्रहरी वरिष्ठ उपरिक्षक जिसीले प्रहरीले अनुसन्धानले श्रेष्ठको पुस ५ गते र चौधरीको पुस ७ गते हत्या गरिएको पत्ता लागेको बताए ।

उनले प्रहरीले अनुसन्धान गर्दै जाँदा उनीहरुसँग संगलन एक जना हराएको र त्यसको लागि ललितपुरको थेचोमा छ भन्ने थाहा पाएपछि मोरङ जिल्ला प्रहरी र अपराध महाशाखाको टोलीले गोदावरीमा लाख फेला परेको बताए ।

प्रहरी अनुसन्धानबाट मण्डल समूहले पुस ५ गते भन्दा अगाडि मंसिर २८ गते ६३ बर्षिय मोहन लिम्बुलाई हत्या गरी ललितपुरको गोदावरी नगरपालिका वडानम्बर १२ थेचोमा खाल्डो खनी पुरेको देखिएको उनले जानकारी दिए ।

लिम्बुको शव प्रहरीले माघ २० गते बिहीबार मात्रै ललितपुरमा फेला पारेको जिसीले बताए । लिम्बुको हत्या गरेर शव चाँडै कुहाउन खाल्डामा नुनको समेत प्रयोग गरिएको भेटिएको उनले जानकारी दिए ।

घटनामा संलग्न तिनै जनालाई प्रहरीले माघ २० गते फरकफरक स्थानबाट पक्राउ गरेको जनाएको छ । मुख्य हत्याका योजनाकार मण्डललाई प्रहरीले काठमाण्डौ महानगरपालिकाको वडानम्बर १३ बल्खुबाट पक्राउ गरेको जनाएको छ ।

यस्तै, सोनारलाई विराटनगर ५ दामाबन्दी चोकबाट र आलमलाई विराटनगर १७ मटेरुवाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जग्गा जमिनको कारोबारको क्रममा हासिल हुने रकम एकलौटी बनाउन तिनवटै हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले जनाएको छ ।

हत्यामा उनीहरुले नाइलनको डोरी तथा गम्छा प्रयोगगरि घाँटी कसेर मृतकहरुको हत्या गरेको खुलेको छ ।

धनपालथानमा शव भेटिएका श्रेष्ठ र चौधरी मण्डलसंगै मंसिर २९ गते विराटनगर आएको अनुसन्धानको क्रममा खुलेको छ ।

प्रतिक्रिया