एमसीसीमा भूराजनीतिक भूमरी
अमेरिकाको जोड : कांग्रेस-एमाले मिलाउने, एमसीसी पास गराउने
नेपालको उत्तरी छिमेकी मुलुक चीन चाहान्छ : एमाले-माओवादी फेरि मिलेर जाँउन र एमसीसी रोकुन्

काठमाडौं । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्याक्ट सम्झौतामा नेपाल भूराजनीतिक भुमरीको चक्रमा फसेको छ । नेपालका राजनीतिक दलमा एमसीसी सम्झौताका कारण धुव्रीकरण बढिरहेका बेला दुई शक्ति राष्ट्रको चेपुवामा नेपाल पर्न थालेको छ ।
सार्वभौम देश नेपालले एमसीसी स्वीकार गर्ने या नगर्ने भन्ने आफै निर्णय लिन सक्छ । तर, गिजोलिएको एमसीसीलाई लिएर अहिले अमेरिका र चीनको तीव्र चासो नेपालमा देखिएको छ ।
अमेरिका जसरी पनि नेपालमा आफ्नो देशको सरकारी परियोजना एमसीसी अनुमोदन गराउने अन्तिम कसरतमा जुटेको छ । त्यसका लागि उसले डिसेम्बर महिनाभित्र नेपालका राजनीतिक दलका नेतालाई कस्ने र प्रेसरमा राख्ने नीति अख्तियार गरेको छ । उता, चीन यहीबेला जसरी पनि नेपालमा एमसीसी अनुमोदन रोक्ने गरी अगाडि बढेको विभिन्न घटना क्रमले देखाएको कुटनीतिक क्षेत्रका जानकारहरु बताउँछन् ।
नेपालमा मात्र होइन, नेपालमा एमसीसी अनुमोदन गर्ने/नगर्ने विषयलाई दुई शक्ति राष्ट्र अमेरिका र चीनले आफ्नो प्रतिष्ठाको विषय बनाएको देखिएको छ । त्यसको पुष्टि अमेरिकी सहायकमन्त्री डोनाल्ड लुले बिहीबार नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गरेको टेलिफोन वार्ता र वार्ताका क्रममा व्यक्त चेतावनीको भाषाले पनि गर्छ ।
फेब्रुअरी २८ अर्थात् फागुन १६ एमसीसी अनुमोदनको अन्तिम मिति हो भनेर लुले नेपालका नेतालाई स्मरण मात्रै गराएका छैनन्, अनुमोदन नभए नेपाललाई थप अप्ठ्यारो पर्ने चेतावनी पनि दिए । अमेरिका कतिसम्म यो मामिलामा नेपालका नेताहरुलाई प्रेसरमा राख्न चाहान्छ भन्ने प्रमणित हुन्छ ।
उसले नेपालका प्रमुख तीन दलका शीर्ष नेतालाई फोन गरेर तीनथरी कुरा गरेको छ । देउवालाई निर्धारित समय आएको भन्दै पारित गराउन आग्रह गरेको छ । उता ओलीलाई एमसीसी पारित गर्नुपर्छ, तपाईंहरूले सहयोग गर्नुहोस्, पारित नगरे राम्रो हुन्न भन्नेसम्मको चेतावनीमा पुगेको छ । तर, अझ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई थप प्रेसरमा ढाल्ने गरी तपाईहरुले एस वा नोमा छिट्टै निर्णय गर्नुस् ।
हामी संशोधन गर्दैनौँ । समय थप गर्दैनौँ । यसलाई लिनुभएन भने त्यो तपाईंहरूको कुरा हो, तर हामी यसलाई गम्भीरतापूर्वक लिन्छौँ । यो चीनको कारणले यस्तो भयो ठान्छौँ भन्नेसम्मको चेतावनी लुले दिएका छन् । यसले पनि देखाउँछ अमेरिका नेपालका नेताहरुलाई कति दबाबमा राख्न चाहान्छ भन्ने ।
ठिक त्यस्तै चीनले पनि एमसीसी सम्झौता अनुमोदन नगराउन उत्तिकै नेपालका नेताहरुसँगको सम्वादलाई बाक्लो बनाएको देखिन्छ । उसले नेपालका राजनीतिक दलका नेताहरु जो एमसीसीको पक्षमा अझै खुलेका छैनन्, उनीहरुसँगको सम्वादलाई बाक्लो बनाइरहेका छन् । खासगरि एमसीसीमा अन्तर्निहित राजनीतिक, रणनीतिक र भूराजनीतिक पक्षका कारण नेपालमा गिजोलिरहेका बेला दुई शक्ति राष्ट्रले आफ्नो सक्रियता बढाउन थालेका हुन् ।
एमसीसी सम्झौताको दफा ५.१ मा नेपालले अमेरिकाको सुरक्षा–स्वार्थ प्रतिकूलका गतिविधि गर्न नहुने भन्ने व्यवस्था राखेका कारण बढी विवादमा छ । अमेरिकाको सुरक्षा–स्वार्थभित्र केके पर्न सक्छन् भन्ने कुरा अमेरिकाले नै परिभाषित गर्ने छ । त्यो पनि अहिलेका र पछि बन्ने अमेरिकी कानुन र नीतिअनुसार भन्ने विषय सम्झौतामा रहेकाले र नेपालमा सहयोग आएका जति परियोजना छन्, संसदमा अनुमोदन नभएको तर एमसीसी संसदमै अनुमोदन गराउन चाहेर कानुनकै तहमा लान खोजेपछि नेपालमा एमसीसी परियोजना चर्काे विरोधमा परेको हो ।
चीन र अमेरिकाको एक अर्कालाई हेर्ने दृष्टिकोण र त्यसले निम्ताउने सम्भाव्य भूराजनीतिक छिटा अहिले नेपालमा एमसीसीमार्फत गिजोलिएको छ । एक कुटनीतिक विश्लेषक भन्छन्, ‘त्यही कारण पनि दुवै शक्ति राष्ट्रको नेपालमा प्रत्यक्ष चासो र सक्रियता एमसीसी अनुमोदन गर्ने नगर्ने विषयमा जोडिएर हुन थालेको छ, यसले नेपालका राजनीतिक दलहरुको गठबन्धन कस्तो बनाउने भन्नेसम्ममा अहिले दुई शक्ति राष्ट्रको दुई थरी इन्टेष्ट देखा परेको छ ।’
अमेरिका नेपालमा कांग्रेस र एमालेबीचको धुव्रीकरण गराउने र गठबन्धन बनाउनै परे दुई पार्टीले बनाउने गरी तयारीमा लागेको देखिन्छ । त्यसका लागि प्रधानमन्त्री देउवा र ओलीलाई फकाएर वा मनाएर भए पनि एमसीसी अनुमोदन गराउन प्रेसर गरिरहेको छ ।
माओवादी केन्द्रभन्दा एमाले एमसीसीमा लचिलो बन्न सक्ने बुझाई अमेरिकाको छ । सोही कारण पनि ओलीलाई मनाउन अमेरिका स्वयमले पनि प्रयास गरिरहेको छ । अमेरिकी राजदूत र्यान्डी बेरीले मंगलबार ओलीलाई ओलीकै निवास बालकोट पुगेर भेट्नुको भित्री मक्सद त्यसैभित्र अन्तरनिहित रहेको बुझाईमा कुटनीतिक क्षेत्रका जानकारहरु छन् ।
उता, चीन दुई कम्युनिष्ट पार्टीको भत्केको र टुटेको सम्बन्ध फेरि गास्न र एकता सम्भव नभए पनि गठबन्धनमा जोड लगाउन चाहिरहेको छ । कांग्रेस खुलेरै एमसीसीको पक्षमा रहेको देखेपछि चीनले ओली र प्रचण्डको पार्टीलाई गठबन्धन निर्माणको कोशिस गरिरहेको छ ।
त्यही क्रममा उसले आफ्ना कुटनीतिक नियोगका मानिसहरुलाई परिचालन गरेर दुवै पार्टीका नेताहरुसँगको सम्बन्ध र भेटघाटलाई बाक्लो बनाइरहेको छ । क्रमशः तिक्त रहेको सम्बन्ध सुधार्ने प्रयासमा गृहकार्यमा चीनको भूमिका देखिन खोजेको छ । अमेरिकी सहायक विदेशमन्त्रीको प्रमुख तीन शीर्ष नेताहरुसँगको सम्वादलगतै प्रचण्ड र ओलीबीचको टेलिफोन वार्तालाई त्यसैको कडीका रुपमा लिन थालिएको छ ।
चीन अझै दुई कम्युनिष्ट पार्टीबीच गठबन्धन निर्माण गरेर पश्चिमातिर होइन, उत्तरतिरै नेपाललाई ढल्काउन चाहिरहेको छ । यसले अमेरिका कांग्रेस एमाले गठबन्धनतिर र चीन एमाले-माओवादी गठबन्धन निर्माणतिर जोड लगाइरहेको देखिएको कुटनीतिक जानकारहरुको विश्लेषण छ ।















जुम्लाको कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु
UML chair Oli undergoing health examinations at TUTH
ओली र लेखकलाई महाराजगञ्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने
ओली पक्राउ परेपछि एमाले केन्द्रिय सचिवालय बैठक च्यासलमा जारी
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
आइसीसी महिला च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक टोली घोषणा
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स नवौं वर्षमा प्रवेश
प्रतिक्रिया