शनिबार, चैत ७, २०८२

निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुन्छ : महामन्त्री थापा

मेरोन्यूज २०७८ फागुन ३ गते ७:१४

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकतानुसार गठबन्धन हुने बताएका छन् । बनेपास्थित नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्नेसमेत दाबी गरे ।

Advertisement
nepal life insurencenepal life insurence

‘कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमितिलगायत जिल्ला तहबाटै निक्र्योल गर्ने हो, यसो गर्दा मात्रै उपलब्धि हासिल गर्न सकिन्छ,’ थापाले भने । केन्द्र निर्देशित गठबन्धनले स्थानीय निर्वाचनमा अपेक्षित उपलब्धि प्राप्त गर्न निकै गाह्रो हुने उहाँले बताउनुभयो । उनले भने, ‘निर्वाचन सरकारले तोकिएकै समयमा हुन्छ, कसैले हुन्न भन्ने हल्ला गरेर नहुने होइन, ढुक्क हुनुस् सरकार निर्वाचन गर्न तत्पर छ ।’

नेता थापाले टोल समितिले पार्टी बलियो हुने बताए । उनले पार्टी संगठनको सबैभन्दा तल्लो निकाय टोल समिति रहेकाले सबैभन्दा बलियो बनाउनु पर्ने उल्लेख गर्दै टोलटोलमा कांग्रेसको समिति बनाएर पार्टीलाई बलियो बनाउन निर्देशन दिए । ‘टोलटोलमा कांग्रेसलाई क्रियाशील बनाउन जरुरी छ, यसले मात्रै पार्टी बलियो हुन्छ,’ उनले भने ।

नेता थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग स्वाभाविक रहेको बताए । । उनले भने, ‘उहाँमाथि थुप्रै आरोप छन्, न्यायालयलाई ध्वस्त पार्ने उहाँकै भूमिका हो ।’ उनले आफू निकै अघिदेखि प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको पक्षमा रहेको दाबीसमेत गरे ।

प्रतिक्रिया