सोमबार, पुष २८, २०८२

तीन वर्ष सम्म किन भएन यी एसपीको सरुवा ?

प्रहरीको प्रबन्ध निर्देशनालयका एसपीको साढे तीन वर्षदेखि सरुवा हुन सकेको छैन

मेरोन्यूज २०७८ फागुन ११ गते ९:१६

काठमाडौ । प्रहरी संगठनभित्र केही अधिकारीहरुको हालीमुहाली चल्ने गरेको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालय, गृहमन्त्रीको स्वकीय सचिवालय , राजनीतिक व्यक्ति, र प्रहरी प्रधान कार्यालयका केही अधिकारीहरुले संगठनभित्र हालीमुहाली चल्ने गरेको छ ।

दुई साता अघि तीन एसपीको काज सरुवा र गत आइतबार साँझ १८ जना एसपीको सरुवालाई हेर्दा यही प्रष्ट हुन्छ । लामो सयमदेखि सरुवा कुरेर बसेका एसपीहरुको नियमित सरुवा भएपनि केहीको काज सरुवा भएको थियो । गृहमन्त्री र माओवादी अध्यक्ष प्रचण्डको दबाबमा भएको काज सरुवाको विरोध भएपछि नियमित सरुवा भएपनि विवादरहित बन्न सकेन ।

प्रबन्ध निर्देशनालयका एसपीको भने साढे तीन वर्षदेखि सरुवा हुन सकेको छैन । साढे तीन वर्षदेखि प्रहरी प्रधानकार्यालयको प्रबन्ध निर्दैशनालयमा कब्जा जमाएर बसेका एसपी प्रेम बस्नेतको सरुवा अझै भएको छैन । साढे तीन वर्ष अघि प्रवन्ध शाखामा सरुवा भएका एसपी बस्नेत अझै त्यही बस्नेगरी शक्ति केन्द्रसँगको सम्पर्कमा छन् ।

नेपाल प्रहरीको प्रबन्ध शाखाले ठेकेदारसँगको मिलेमतोमा गुणस्तहीन सामाग्रीहरु लिनेगरेपछि संगठनभित्र चरम असन्तुष्टि उत्पन्न भएको बेला पनि उनको सरुवा भएन । एक वर्ष अघि सरुवा भएका एसपीहरु शेखर खनाल, वीर बहादुर ओली, गोविन्द थपलिया, गृहमन्त्रीको कृपाबाट महोत्तरी पुगेका कृष्ण पंज्ञेनी, प्रचण्डको सचिवालय र विना मगरको सहयोगमा चितवन पुगेका नवराज अधिकारीको सरुवा हुँदा पनि बस्नेतले भने प्रबन्ध शाखा छाडेका छैनन । आइतबार साँझ भएको सरुवा पनि एसपी बस्नेतको नाम छैन । अधिकारी दुई पटक जिल्ला कमाण्ड गर्ने एसपीमा पर्छन ।

उनले सरुवामा पर्ने एसपीहरूमा कमल थापा, कृष्ण बहादुर पल्ली मगर, केदार खनाल, गंगा पन्त, गोपाल भट्टराई,मनोजकुमार केसी, तुल बहादुर कार्की, दयानिधि ज्ञवाली, दान बहादुर मल्ल, दीपक कुमार बस्नेत, नकुल पोखरेल, विमल राज कँडेल, रवीन्द्र रेग्मी, लक्ष्मीराज अधिकारी, शारदा प्रसाद चौधरी रहेका छन् । दीपककुमार बस्नेतको स्थानमा भीम दाहाललाई पठाइएको छ ।

रुपन्देहीमा तस्करी बढेको बेला केसीको पनि सरुवा भएको छ । उनले रुपेन्देहीमा तस्करीको नाका खुला गरेको भन्दै आलोचना भएको थियो । एसपी प्रेम बस्नेतले बाग्लुङ जिल्लाको कमाण्ड गरेका थिए । त्यसपछि डेढ वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर प्रबन्धमा सरुवा भएका हुन् । प्रबन्धका डिएसपी वीरेन्द्र गोदारसँगको सहकार्यमा उनले अतिरिक्त आम्दानीलाई प्रश्रय दिइरहेको र त्यसलाई डिआइजी बसन्त लामाले पनि सहयोग गरिरहेको स्रोतको दावी छ ।

असोज कात्तिकमा लागेको ठेक्काको सामान फागुन १५ देखि चैत १५ सम्म बुझाउने भएकाले पनि उनले सरुवा नचाहेको स्रोतको दावी छ । यसैगरी नेपाल प्रहरीले आगामी बर्षका लागि झूल, बुट, पार्कर ज्याकेट लगायतको ठेक्का बाँकी नै रहेकाले पनि बस्नेत लगायतको टिमले स्पेक निर्माण गरिरहेकाले पनि उनले सरुवा रोक्न सफल भएको प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ ।

नेपाल प्रहरीमा बस्नेत प्रबन्धमा पुगेपछि ३ चरणमा एसपीको सरुवा भए पनि प्रबन्ध निर्देशनालयका चलाइएको छैन । उनी आएपछि करिब करिब २ अर्ब बढीको सामान खरिद भैसकेको छ । उनी आएपछि नेपाल प्रहरीमा ठेक्कामा ज्ञानेन्द्र बस्नेत, पिताम्बर मुन्का, राजमान मिश्र, श्रवण अग्रवालको समूहले एक छत्र राज गरिरहेको प्रहरी प्रधानकार्यालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार अहिले मिश्र, अग्रवालको समूहले ठेक्का गरिरहेका छन् । सो समूहसँग एसपी बस्नेतको राम्रो सम्बन्ध भएकै कारण प्रहरीले पाउनुपर्ने गुणस्तरको सामाग्रीसमेत पाउन नसकेको गुनासो प्रहरीले गर्दै आएका छन् । एसपी बस्नेतले ठेकेदारसँगको मिलेमतोमा कपडा, ज्याकेट, बुट लगायतमा गुणस्तरहीन सामाग्री बुझेपछि समस्या आएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया