शुक्रबार, माघ २, २०८२

कमल थापाले राजसंस्था पुर्नस्थापनाको माग छाडे

हिन्दु राष्ट्र, सुशासन र समृद्धि मुख्य एजेण्डा

मेरोन्यूज २०७८ फागुन १८ गते १६:५३

काठमाडौं । राप्रपा परित्याग गरी राप्रपा नेपालका अध्यक्ष भएका कमल थापाले राजसंस्था पुर्नस्थापनाको एजेण्डा त्यागेका छन् ।

लामो समयदेखि राजसंस्थाको माग गर्दै आएका थापा राजावादी भनेर चिनिँदै आएका थिए । राप्रपाको एकता महाधिवेशनमा आफूलाई हराउन पूर्वराजाले नै मुख्य भूमिका खेलेको आरोप लगाउँदै थापाले राप्रपा परित्याग गरेका थिए ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राप्रपा छाडेर राप्रपा नेपालका अध्यक्ष बनेका थापाले राजसंस्था पुनस्र्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारे ।

राप्रपाको एकता महाधिवेशनमा पुनः अध्यक्ष पदमा लडेका थापा पराजित भएपछि निर्मल निवासको नाङ्गो हस्तक्षेप गरेको आरोप लगाएका थिए । थापालाई झापाका युवा नेता राजेन्द्र लिङदेनले हराएका थिए ।

लिङदेनले अध्यक्षको कार्यभार सम्हालिसकेपछि पनि थापाले महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप भएको भन्दै छानबिनको माग गरेका थिए । तर पार्टीबाट कुनै सुनुवाई नभएको र लिङदेनले आफूलाई पूरै बेवास्ता गरेको गुनासो गर्दै आएका थिए ।

थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्ट्याए । उनले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताए ।

धर्मनिरपेक्षताको खारेजी र संघीयताको परिमार्जन गर्न आफ्नो पार्टीले जोड दिने अध्यक्ष थापाको भनाई थियो ।

प्रतिक्रिया