शनिबार, माघ ३, २०८२

सत्तागठबन्धन दलको बैठक : एमसीसी पारित गरेकोमा एक-अर्काको प्रशंसा र वधाई साटासाट

त्यसपछि प्रधानमन्त्रीले भने : चुनावसम्मै अव गठबन्धन रहन्छ, त्यसमा म प्रतिवद्द छु

मेरोन्यूज २०७८ फागुन १९ गते १२:५०

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावसम्मै गठबन्धन निर्माण गरेर जाने प्रतिबद्धता जनाएका छन् । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन एमसीसी पारित गराउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्रीले गठबन्धन झन कसिलो भएको बताएका थिए ।

एमसीसी सत्तागठबन्धन दलभित्रै पारित हुने नहुने आशंका र त्यसले गठबन्धन जोगिने नजोगिनेमा सकस परिरहेका बेला अन्तिम समयमा माओवादी केन्द्र र एकीकृत समाजवादीले समेत साथ दिएपछि व्याख्यात्मक घोषणासहित अनुमोदन संसदबाट भइसकेको छ ।

संसदबाट एमसीसी अनुमोदनपछि पहिलोपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन दलको बैठकले चुनावी गठबन्धनका बारेमा छलफल भएको थियो । जसमा सत्ता गठबन्धन दलले आ-आफ्नो पार्टीभित्र छलफल गर्ने र के मोडालिटीमा के कसरी गठबन्धन गर्न मिल्ने नमिल्ने, त्यसका अप्ठ्यारा, सप्ठ्यारा पक्षका बारेमा छलफल गर्ने र त्यही सुझावका आधारमा फेरि गठबन्धनमा छलफल गरेर निर्णय लिइने जनाइएकाे छ ।

सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आ-आफ्नो दलमा छलफल गरेर चुनावी तालमेलका लागि गठबन्धनको बैठक बस्ने जानकारी दिए । ‘जुन कारणले हामीले गठबन्धन बनाएको थियौं, राजनीतिक स्थायित्वका लागि गठबन्धनको आवश्यकता छ, प्रधानमन्त्रीले पनि चुनावसम्मै गठबन्धन गरी जाने बताउनु भएको छ । गठबन्धन अघि बढ्छ। चुनावी गठबन्धनका लागि पहिले आ-आफ्नो दलमा सजिलो र अप्ठ्यारा विषयमा छलफल गरेर फेरि गठबन्धन बैठक बसेर एउटा निष्कर्षमा पुग्छौं,’ सञञ्चारमन्त्री कार्कीले भने ।

एक-अर्काको प्रशंसा

पर्टीभित्रकै असहमत नेतालाई पनि साथमै लिएर सत्तागठबन्धनको बैठकमा माधव नेपाल र प्रचण्ड पुगेका थिए । तर बैठकमा एमसीसी अनुमोदनको विषयमा प्रधानमन्त्री तथा प्रचण्ड र माधव नेपालले एक अर्काको प्रशंसा गरेको बैठकमा सहभागी एक नेताले बताए ।

प्रधानमन्त्रीले माधव नेपाल र प्रचण्डलाई पार्टीभित्र खेलेको भूमिका र एमसीसी पारित गराउन गरेको सहयोगको लागि धन्यवाद दिँदै बधाई दिएका थिए । त्यस्तै प्रचण्ड र माधव नेपालले पनि सदनमा एमसीसीमा रहेका भ्रम निवारणका लागि व्याख्यात्मक घोषणासहित पारित गराउन भूमिका खेलेको भन्दै धन्यवाद दिएका थिए ।

प्रचण्ड र माधव नेपालले प्रधानमन्त्रीको प्रशंसा गर्दै देउवालाई धन्यवाद दिएपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराईले समेत प्रधानमन्त्री देउवाको प्रशंसा गरेका थिए ।

‘प्रचण्ड, माधव नेपाल, उपेन्द्र र बाबुराम भट्टराई चारै जनाले प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने क्रममा परिपक्व भूमिका खेलेको भन्दै प्रशंसा गर्नु भयो। प्रधानमन्त्रीले सुझबुझ पूर्ण ढंगले काम गरेको भनेर समेत भन्नु भयो जवाफमा प्रधानमन्त्री देउवाले पनि माधव नेपाल र प्रचण्डलाई धन्यवाद दिनु भयो । उहाँहरुको भूमिका एमसीसी पारित गर्न महत्वपूर्ण रहेको भन्दै अमेरिकाले अझै आर्थिक सहयोग गर्ने आश्वासन दिएको बताउनु भयो। अमेरिकी दातृ निकायमार्फत अन्य बजेट पनि आउँछ भनेर अमेरिकाले भनेको भनेर प्रधानमन्त्रीले बैठकमा अमेरिकी विदेशमन्त्रीसँगको टेलिफोन वार्ताका बारेमा पनि जानकारी गराउनु भयो,’ बैठकमा सहभागी एक नेताले भने ।

नारायणकाजी र झलनाथको विरोध

सत्ता गठबनधनको बैठकमा सहभागी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने हतारो गरेर एमसीसी अनुमोदन गरेको भन्दै असन्तुष्टि जनाएका थिए । तपाईहरुलाई धेरै राम्रो गरे भन्ने परेको होला, यसले राम्रो गरेको छैन, दुई नेताले बैठकमा भनेका थिए, व्याख्यात्मक घोषणाको अर्थ छैन ।

उनीहरूले यसले नेपालको राष्ट्रियतामा असर पर्न सक्ने समेत बताएका थिए । अमेरिकाले १२ बुँदे घोषणा नस्वीकारेको अवस्थामा एमसीसी खारेज हुनुपर्छ भनेर आवाज उठाउनुको सट्टा उल्टै पारित गरिएको भनेर धन्यवाद दिएकोमा पनि उनीहरुले असहमति जनाएका थिए ।

एमालेलाई सदन अवरोध खोल्न फेरि आग्रह

बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई सदनको जारी अवरोध फेरि खोल्न आग्रह गर्ने विषयमा पनि छलफल गरेको छ । गत भदौ २३ यता एमालेले सदनमा निरन्तर अवरोध कायम राख्दै आएको छ । संसद अवरोध भएको १७६ दिन भए पनि नरोकिएकोमा सत्ता गठबन्धन दलले फेरि सहज वातावरण बनाउन आग्रह गर्ने भएको हो । सदनमा नागरिकतालगायतमा महत्वपूर्ण विधेयक रोकिएको विषयमा पनि छलफल भएको र सदन खोलेर विधेयकमाथिको छलफलमा सहभागी हुन आग्रह गर्ने गरी छलफल चलेको पनि सञ्चारमन्त्री कार्कीले बताए ।

लामो समयसम्म अवरोध हुँदा संसदबारे जनतामा नकारात्मक धारणा बन्न सक्ने भन्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘प्रमुख प्रतिपक्षी दललाई सदल सञ्चालन गरेर पर्याप्त छलफल गर्ने वातावरण बनाउन आग्रह गरेका छौं ।’

प्रतिक्रिया