शनिबार, वैशाख २६, २०८३

माओवादी बैठक भोलि, के गर्लान् नारायणकाजी ?

केन्द्रीय कमिटि बैठकमा जाने, लिखित रुपमा डकुमेन्ट पेश गर्ने, वहसको वातावरण नभएमात्रै निस्कने

मेरोन्यूज २०७८ फागुन १९ गते १७:३५

काठमाडौँ । एमसीसी प्रकरणले पार्टीभित्र तीव्र मतभेद चुलिएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक भोलिदेखि काठमाडौंमा शुरु हुँदै छ । राष्ट्रियसभा गृहमा बस्न लागेको बैठकमा एमसीसी संसदबाट अनुमोदन प्रकरणले उग्र रुप लिँदै छ ।

Advertisement
NiccNicc

अध्यक्ष प्रचण्डले संसदमा ब्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनको विषयमा निर्णय लिएर पार्टीमा ह्विपसम्म लगाएपछि नेता नारायणकाजी श्रेष्ठ पक्ष नराम्ररी बिच्चिकिएको छ । त्यसयता श्रेष्ठले अब माओवादी केन्द्रमा बस्न सकिने नसकिनेमा निरन्तर आफू पक्षीय नेतादेखि मोर्चाका नेताहरुसँग पनि छलफल चलाइरहेका छन् ।

छलफलमा करिब दुई दर्जन बढी केन्द्रीय सदस्यहरु निरन्तर सहभागी भइरहेका छन् । माओवादीको महाधिवेशनले यथास्थितिमा एमसीसी पारित गरेर जान नसकिने निर्णय गरेको थियो । तर एमसीसी सदनबाट माओवादीकै कारण पारित भएपछि श्रेष्ठ पक्षमा तत्काल पार्टी केन्द्रीय समितिबाटै राजीनामा दिएर अलग रुपमा संर्घषमा जानु पर्ने आवाज जबरजस्त उठेको थियो ।

त्यसपछि बसेको श्रेष्ठ निकट नेताहरुको बैठकले भोलिदेखि बोलाएको केन्द्रीय समिति बैठकमा सहभागी नहुने कि भन्नेसम्ममा छलफल चलाएको थियो । बुधबारयता भने पार्टी केन्द्रीय समितिमा रहेका नेताहरुका बीचमा छलफल जारी छ । आज पनि यो समाचार तयार पार्दासम्म माओवादी केन्द्रका श्रेष्ठ नजिक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको छ ।

छलफलमा ०६५ साल अगाडिको श्रेष्ठसँगै रहेका जनमोर्चा धारका नेताहरु मात्र छन् । त्यो धारका पनि लिलामणि पोखरेल, शशी श्रेष्ठलगायतका नेताहरु भने सहभागी छैनन् । पोखरेल पनि एमसीसीको कडा आलोचक हुन् । उनी पनि प्रचण्डले संसदबाट एमसीसी पारित गराउन खेलेको भूमिकासँग सन्तुष्ट छैनन् । यद्यपि, उनी श्रेष्ठले चलाएको बहसमा सहभागी छैनन् ।

श्रेष्ठ समूहमा केन्द्रीय समितिमा जाने नजाने बहस भए पनि अन्ततः एकमतका साथ जाने निर्णय भएको सहभागी एक नेताले मेरो न्यूजलाई बताए । ‘केन्द्रीय समिति बैठकमै नजाने, अब आफ्नै बाटो लाग्ने भन्नेसम्मका साथीहरुले कुरा उठाइरहनुभएको थियो, तर अब केन्द्रीय समिति बैठकमा जाने निर्णयमा हामी पुगेका छौँ, भोलिको बैठकमा हामी सहभागी हुन्छौँ,’ श्रेष्ठ निकटका ती केन्द्रीय सदस्यले बताए ।

केन्द्रीय समिति बैठकमा जाँदा श्रेष्ठको तर्फबाट व्यवस्थित रुपमा डकुमेन्ट नै लिखित रुपमा लैजाने गरी तयारी भएको छ । गत साउन ३० मा बसेको माओवादी केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पार्टीभित्र आफै सुध्रिएर मात्र पार्टी बन्ने भन्ने भावमा सम्बोधन आएको र त्यसले पार्टी सुधारका लागि धेरै महत्वपूर्ण निर्णय गरेको, त्यसपछि पार्टीको पुसमा सम्पन्न महाधिवेशनमा पनि प्रचण्डले आफ्नै कमजोरीको निर्मम समीक्षा गरी आत्मआलोचना गरेको परिवेशमा फेरि उही बाटो आफू मात्रै पार्टी, आफ्नो मात्र निर्णय पार्टी निर्णय भन्ने शैलीमा प्रकट भएकाले प्रचण्ड सुध्रिने सम्भावना नरहेको निष्कर्षमा श्रेष्ठ समूह पुगेको छ ।

नेता श्रेष्ठले आफ्नो विचार समूहका तर्फबाट भोलिको बैठकमा लिखित रुपमा दस्ताबेज लाने भएका छन् । एमसीसी प्रकरणमा अध्यक्षले आत्म सुरक्षावादी निर्णय लिएको र यसले राष्ट्रहितमा दीर्घ कालीन असर पुग्ने भएकाले महाधिवेशनको निर्णयविपरीत निर्णयमा पुगेको भन्दै अनुशासन उल्लंघनको आरोप अध्यक्षमाथि उठाउने तयारी भएको छ ।

यो आरोपमा प्रचण्डले दिने जवाफ र बैठकमा छलफलका लागि निर्माण हुने वातावरण हेरेर मात्र श्रेष्ठ समूह थप अगाडि जाने देखिएको छ । ‘वैचारिक राजनीतिक रुपमा पनि प्रचण्ड अब सुध्रिनन्, राष्ट्रियताको विषयमा माओवादी चुक्यो, केही गर्न सक्दैनन्, यस्तो बेला पार्टीमा निर्णायक संघर्ष गर्ने, त्यसका लागि दस्तावेज लैजाने, छलफलको वातावरण के हुन्छ, त्यस आधारमा निर्णयमा पुग्ने गरी हामी अगाडि बढ्न खोज्दै छौँ,’ श्रेष्ठ निकटका ती केन्द्रीय सदस्यले मेरो न्यूजलाई भने, ‘छलफलको वातावरण निर्माण नभएमा अब प्रचण्डसँगको सम्बन्धमा ब्रेक हुने सम्भावना अधिक छ ।’

श्रेष्ठलाई पूर्व जनमोर्चा धारका नेताहरुले पार्टी अलग गर्न दबाब बढाइरहेका छन् । तर, कतिपय माओवादी पृष्ठभूमिका नेताहरुले भने प्रचण्डबाट यही ढंगले पार्टी नचल्ने भए पनि अब छुट्टिनेसम्मको निर्णयमा पुगिनहाल्न उत्तिकै दबाब श्रेष्ठमाथि परेको छ ।

प्रचण्डसँग नारायणकाजी श्रेष्ठका यस्ता छन् चार असन्तुष्टि

प्रतिक्रिया