नारायणगढ बुटवल सडक विस्तारको काम सुस्त

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडक खण्ड विस्तारको कामले गति लिन सकेको छैन । सो सडकखण्ड विस्तारको अधिकांश काम यतिखेर सकिसक्नु पर्ने अवस्था थियो ।
नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इञ्जिनियर रमेश दिष्टीका अनुसार आयोजनाको लक्ष्यअनुसार सडक विस्तारको काम ९० प्रतिशत सम्पन्न गर्नु पर्दथ्यो । तर, सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले जम्मा १२.४४ प्रतिशत मात्र काम सकेको उनले जानकारी दिए ।
ठेकेदार कम्पनीले निर्माण आरम्भमा ढिलाई, रुख कटान गर्नु पर्ने संख्या बढ्नु र कटान आदेश ढिलो गरी प्राप्त हुनु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, विद्युत् लाइन सार्न समस्या हुनुलगायतका समस्याले विस्तारमा ढिलाइ भएको जनाइएको छ ।
त्यसैगरी, खानेपानी लाइन स्थानान्तरण गर्न समस्या, बर्सातको पानी निकासको समस्या, काठदाउरा हस्तान्तरणमा समस्या रहेको उहाँको भनाइ छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सडक विस्तारको काम छिटो सक्न मजदुरको सङ्ख्या बढाएर काम गर्न निर्देशन दिएको बताए ।
उनले सबै ठाउँमा एकैपटक काम गर्नभन्दा सानो सानो क्षेत्रमा काम सक्दै अगाडि बढ्न निर्देशन दिएको बताए । सो सडकखण्ड विस्तारको काममा अहिले दैनिक झण्डै ७०० को हाराहारीमा मजदुर खटिएका इन्जिनियर दिष्टीले जानकारी दिए ।
खण्डमा पर्ने सात साना पक्की पुल (माइनर ब्रीज) सञ्चालनको अन्तिम तयारीमा रहेको उल्लेख गर्दै उनले पुल सञ्चालनमा आएसँगै यात्रामा केही सहज हुने बताए । सडक खण्डको सात वटा पुल निर्माण सकेर अहिले माटो भर्ने काम चलिरहेको छ ।
सडक विस्तारका लागि मजदुरसँगै २१३ औजार उपकरण प्रयोग गरेर काम भइरहेको आयोजनाले जनाएको छ । करिब एक घण्टामा पार गरिने नारायणगढ बुटवल सडकको पूर्वी खण्ड विस्तारको काम ढिला हुँदा पार गर्न तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।
निर्माणाधीन सडकमा उड्ने धुलोका कारण स्थानीय तथा यात्रुले निकै सास्ती खेप्नु परेको छ । करिब ६५ किलोमिटर पूर्वी खण्डमध्ये १७.६ किलोमिटर छ लेन, ४२.७ किलोमिटर चार लेन, ४.१ किलोमिटर तीन लेन (दाउन्ने खण्ड)मा विस्तार हुनेछ ।
सडक विस्तार आयोजनाको म्याद आगामी साउन २२ मा सकिँदै छ । सम्झौता मितिबाट ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नु पर्ने गरी सरकारले विसं २०७५ माघ २४ मा सडक विस्तारका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विस्तार हुन लागेको सो सडकको पूर्वी खण्ड नौ अर्ब १३ करोडमा ठेक्का सम्झौता भएको थियो ।
















पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
पक्राउ पुर्जीसहित ओली निवास पुग्यो प्रहरी टोली
China pledges support for Nepal’s economic transformation with new government
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
प्रकाशकीय : ‘मेरोन्यूज’ छैटौँवर्षमा प्रवेश
जेनजी आन्दोलनको प्रतिवेदनसहित तीन वटा दस्तावेज सार्वजनिक गर्ने प्रधानमन्त्रीको निर्णय
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी
रास्वपा सभापति रवि लामिछानेलाई अमेरिकाले दियाे बधाई
अनैतिक क्रियाकलापमा संलग्न युगाण्डाका २० महिला ठमेलबाट पक्राउ
प्रतिक्रिया