शनिबार, माघ १०, २०८२

नारायणगढ बुटवल सडक विस्तारको काम सुस्त

मेरोन्यूज २०७८ फागुन ३० गते ८:२३

काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ बुटवल सडक खण्ड विस्तारको कामले गति लिन सकेको छैन । सो सडकखण्ड विस्तारको अधिकांश काम यतिखेर सकिसक्नु पर्ने अवस्था थियो ।

नारायणगढ बुटवल सडक योजना पूर्वी खण्डका प्रमुख इञ्जिनियर रमेश दिष्टीका अनुसार आयोजनाको लक्ष्यअनुसार सडक विस्तारको काम ९० प्रतिशत सम्पन्न गर्नु पर्दथ्यो । तर, सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले जम्मा १२.४४ प्रतिशत मात्र काम सकेको उनले जानकारी दिए ।

ठेकेदार कम्पनीले निर्माण आरम्भमा ढिलाई, रुख कटान गर्नु पर्ने संख्या बढ्नु र कटान आदेश ढिलो गरी प्राप्त हुनु, कोभिडको महामारीले काम गर्न समस्या हुनु, विद्युत् लाइन सार्न समस्या हुनुलगायतका समस्याले विस्तारमा ढिलाइ भएको जनाइएको छ ।

त्यसैगरी, खानेपानी लाइन स्थानान्तरण गर्न समस्या, बर्सातको पानी निकासको समस्या, काठदाउरा हस्तान्तरणमा समस्या रहेको उहाँको भनाइ छ । नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सडक विस्तारको काम छिटो सक्न मजदुरको सङ्ख्या बढाएर काम गर्न निर्देशन दिएको बताए ।

उनले सबै ठाउँमा एकैपटक काम गर्नभन्दा सानो सानो क्षेत्रमा काम सक्दै अगाडि बढ्न निर्देशन दिएको बताए । सो सडकखण्ड विस्तारको काममा अहिले दैनिक झण्डै ७०० को हाराहारीमा मजदुर खटिएका इन्जिनियर दिष्टीले जानकारी दिए ।

खण्डमा पर्ने सात साना पक्की पुल (माइनर ब्रीज) सञ्चालनको अन्तिम तयारीमा रहेको उल्लेख गर्दै उनले पुल सञ्चालनमा आएसँगै यात्रामा केही सहज हुने बताए । सडक खण्डको सात वटा पुल निर्माण सकेर अहिले माटो भर्ने काम चलिरहेको छ ।

सडक विस्तारका लागि मजदुरसँगै २१३ औजार उपकरण प्रयोग गरेर काम भइरहेको आयोजनाले जनाएको छ । करिब एक घण्टामा पार गरिने नारायणगढ बुटवल सडकको पूर्वी खण्ड विस्तारको काम ढिला हुँदा पार गर्न तीन घण्टाभन्दा बढी समय लाग्ने गरेको छ ।

निर्माणाधीन सडकमा उड्ने धुलोका कारण स्थानीय तथा यात्रुले निकै सास्ती खेप्नु परेको छ । करिब ६५ किलोमिटर पूर्वी खण्डमध्ये १७.६ किलोमिटर छ लेन, ४२.७ किलोमिटर चार लेन, ४.१ किलोमिटर तीन लेन (दाउन्ने खण्ड)मा विस्तार हुनेछ ।

सडक विस्तार आयोजनाको म्याद आगामी साउन २२ मा सकिँदै छ । सम्झौता मितिबाट ४२ महिनाभित्र निर्माण सम्पन्न गर्नु पर्ने गरी सरकारले विसं २०७५ माघ २४ मा सडक विस्तारका लागि चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा विस्तार हुन लागेको सो सडकको पूर्वी खण्ड नौ अर्ब १३ करोडमा ठेक्का सम्झौता भएको थियो ।

प्रतिक्रिया