शनिबार, चैत १४, २०८२

कीर्ते बिल बनाएर अनियमितता गर्ने चार कर्मचारी निलम्बित

मेरोन्यूज २०७८ चैत २ गते १९:४३

काठमाडौँ । ताप्लेजुङ जिल्ला अस्पतालको फार्मेसीमा औषधिको कीर्ते बिल बनाएर अनियमितता गरेको विषय बाहिरिएसँगै चार जना कर्मचारी निलम्बित भएका छन् । अनियमितताबारे यथार्थता नआउँदासम्मका लागि अस्पतालको फार्मेसी फाँटमा कार्यरत चार जना कर्मचारीलाई निलम्बन गरिएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले फार्मेसी फाँटका चार जना कर्मचारीलाई निलम्बन गर्ने निर्णय गर्दै सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराईको संयोजकत्वमा एक छानबिन समितिसमेत गठन गरेको छ ।

अस्पतालको फार्मेसीको औषधि बिक्री वितरणमा अनियमितता भएको भन्ने चर्चा सार्वजनिक हुने गम्भीर विषय भएकाले सहायक प्रजिअको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले जानकारी दिए ।

जिल्ला समन्वय समिति प्रमुखसमेत रहेका मादेनले यस विषयलाई गम्भीर रूपमा लिँदै छानबिन गरिने र यथार्थता पत्ता लगाउने बताए । चिकित्सकको पुर्जामाथि आफैँ औषधि विवरण थपेर बिरामीबाट अतिरिक्त रकम असुलीमा फार्मेसीमा कार्यरत कर्मचारीहरूको सम्भावित संलग्नता पाइएको समिति बैठकले ठहर्‍याएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मोटो रकमको कागजातसहित बिमा दाबी पेस गरी बिरामी, अस्पताल र बिमा बोर्डलाई नै आर्थिक भार पर्ने गरी अनैतिक क्रियाकलाप गरेको हुन सक्ने देखिएको पनि छानबिन समिति बनाएको बताइएको छ ।

सहायक प्रजिअ भट्टराईको संयोजकत्वमा समिति सदस्यमा जिल्ला अस्पतालका डाक्टर दीपेन्द्र बोखिम, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश यादव, कोष तथा लेखा नियन्त्रक कार्यालयका दुर्गा थापा र स्वास्थ्य कार्यालयका कम्प्युटर सहायक विवेक थुलुङ रहेका छन् । समितिले पाँच दिनभित्र प्रतिवेदन बुझाउने गरी जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए ।

यता, जिल्ला अस्पतालको फार्मेसीमा अनैतिक रूपमा औषधि बिक्री वितरण र आर्थिक अनियमितता भएको विषय बाहिरिएसँगै उपचार सेवा प्रभावित भएको छ । अस्पतालका केही चिकित्सकमाथि आक्रमणको प्रयाससमेत भएको भन्दै मंगलबारदेखि उनीहरू काम नफर्किएपछि सेवा प्रभावित बन्दै आएको हो ।

आक्रमणको प्रयास भएपछि आफूहरू असुरक्षित भएको भन्दै सुरक्षाको प्रत्याभूति नभएसम्म काममा नफर्कने पनि चिकित्सकले बताएका छन् ।

प्रतिक्रिया