गठबन्धनको घेरा तोड्ने कसरतमा एमाले, योजना बनाउन बैठक आह्वान

काठमाडौँ । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरूले निर्वाचन केन्द्रीत कार्यक्रम तयार गर्न थालेका छन्। सत्ता र सत्ताबाहिर रहेका राजनीतिक दलहरूले निर्वाचन लक्षित कार्यक्रम गरिरहेका बेला एमालेले भने गठबन्धनको घेराबन्दी तोड्न योजना बनाउन थालेको छ।
आन्तरिक रुपमै यसबारे व्यापक छलफल शुरु गरेको छ। नेता–कार्यकर्ताहरूलाई त्यहीअनुसार प्रशिक्षित गर्न थालेको छ। सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन केन्द्रीत कार्यक्रमहरू तयार गर्न थालेको हो।
सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा)लगायत दलहरूले निर्वाचनसम्बन्धी प्रशिक्षण, संगठन निर्माण, स्थानीय स्तरमा विभिन्न कार्यक्रमहरू गर्दै आएका छन्। केन्द्रमा पनि राजनीतिक प्रशिक्षण जस्ता कार्यक्रमहरू चलिरहेका छन्। यस क्रममा एमालेले स्थानीय तहको निर्वाचन केन्द्रीत कार्य योजना बनाउन केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय तहको निर्वाचनसम्बन्धी कार्य योजना बनाउन आगामी चैत ८ र ९ गते काठमाडौँमा केन्द्रीय कमिटीको बैठक बोलाएको हो। त्यसअघि ७ गते पोलिटब्युरो बैठक बोलाएको छ।
पार्टी कार्यालय थापाथलीमा गत हप्ता बसेको केन्द्रीय कार्यालयको बैठकमा सम्पूर्ण पार्टी पंक्तिलाई निर्वाचनका केन्द्रीत गर्ने गरी कार्य योजनामा बनाउन र गठबन्धनले एमालेमाथि प्रहार गर्न सक्ने विषय वस्तुलाई प्रतिरक्षा गर्ने विषय वस्तुबारे छलफल गर्न एमालेले चैत ७ गते पोलिटब्युरो बैठक बोलाएको हो। साथै, ८ र ९ गते केन्द्रीय कमिटीको बैठक बोलाएको हो।
त्यसैगरी चैत १४ गते स्थायी कमिटीको बैठक बोलाएको छ। यसअघि चैत १ गते सचिवालय बैठक बोलाइएको थियो। सो बैठकले उम्मेदवारको छनौटको मापदण्डबारे सामान्य छलफल गर्दै सिफारिस गर्ने तह टुंग्याएको थियो। सबै दलभन्दा अगाडि नै उम्मेदवारको तयको मापदण्डबारे एमालेले तय गरेको हो।
सातै प्रदेशमा निर्वाचन केन्द्रीय प्रशिक्षण र अभिमुखी कार्यक्रमहरू सम्पन्न गरेको र छिट्टै पार्टीका अरु तहका बैठकहरू आयोजना गरेर निर्वाचन लक्षित अभियान चलाउनु पर्ने भएकाले सबै तहको बैठकहरू बोलाइएको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए। एमालेले यही केन्द्रीय कमिटीको बैठकबाट स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रमहरू सार्वजनिक गर्ने छ।
‘केन्द्रीय कमिटीको बैठकले धेरै विषयहरू निर्धारण गर्नेछ, सबै केन्द्रीय सदस्यहरूलाई गाउँपालिका र नगरपालिकामा खटाउने छ’, प्रचार विभागका उपप्रमुख रिजालले भने, ‘यसवर्ष गठबन्धन मात्र होइन सत्तासँगै निर्वाचन लड्नु पर्ने भएकाले एमालेका सबै नेताहरू देशव्यापी रुपमै खटिने छन्।’
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको र गठबन्धनले एमालेविरुद्ध घेराबन्दी गरेकाले त्यसलाई चिर्न पार्टीको सबै तहमा बैठक राखेर चुनावी नीति रणनीति तयार गर्ने भएको छ। एमालेले आगामी निर्वाचनमा कसरी अधिकतम जित हासिल गर्ने भन्ने विषयमा पनि सबै तहको बैठकमा छलफल गर्ने छ।
विगतको निर्वाचनमा एमालेले एक्लैले करिब ४५ प्रतिशत स्थानीय तहको निर्वाचनमा जित हासिल गरेको थियो। कांग्रेस दोस्रो र माओवादी तेस्रो तथा मधेसवादी दलहरू र अन्य दलहरूको पनि उपस्थिति रहेको थियो। अहिले राजनीतिक परिस्थिति बदलिएको र एमालेबाट माधव नेपाल, झलनाथ खनाल जस्ता प्रभावशाली नेताहरूले छुट्टै राजनीतिक दल खोलिसकेका छन्। सोही कारण एमालेका लागि स्थानीय तह र संघीय संसदको निर्वाचन सहज नहुने अवस्था रहँदा पार्टीले चाडै नै निर्वाचनसम्बन्धी कार्य तालिका बनाएर जिल्ला जिल्लामा कार्यक्रम आयोजनासमेत गर्ने भएको छ।
सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम गरेको एमालेले शनिबार काठमाडौँमा रहेका नेता कार्यकर्ता र सम्पर्क मञ्चसँग आबद्ध रहेका कार्यकर्ताहरूलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो। सो कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीको तर्फबाट धारणा राख्दै गठबन्धनलाई पराजित गर्न जनताको घर दैलोमा पुग्नै पर्ने बताएका थिए।
















इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
आज अन्तरराष्ट्रिय शिक्षा दिवस
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
प्रतिक्रिया