आइतबार, माघ ४, २०८२

एआइजी बढुवामा असन्तुष्टि: सिफरिस विरुद्ध उजुरी दिने तयारी

मेरोन्यूज २०७८ चैत ६ गते ११:२२


काठमाडौं । गृहमन्त्रालयले आफूभन्दा जुनियर डिआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको भन्दै नेपाल प्रहरीका केही डिआइजीहरुले बढुवा पुनरावलोकन समितिमा उजुरीको तयारी गरेका छन् ।

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि तीन जना नायव महानिरीक्षक (डीआईजी)को नाम सिफारिस गरेपछि त्यसमा अन्याय भएको बताउदै डिआइजीहरुले उजुरीको तयारी गरेका हुन् ।

‘सकेसम्म आजै उजुरी दिनेछौ, भएन भने भोली (सोमबार) उजुरी दर्ता गर्नेछौ’, अन्यायमा परेका एक डिआइजीले भने ।
उनीहरुले शुक्रबार गृहमन्त्रालयबाट निवेदन दिएर बढुवामा प्राप्त नम्बरहरु लिइसकेको र उनीहरुले पुनरावलोकन समिति समक्ष उजुरी गर्ने तयारी गरेका हुन् ।

नेपाल प्रहरी ऐन, ०७१ को दफा ४२ मा बढुवा समितिको बढुवा सिफारिसमा चित्त नबुझे सात दिनभित्र पुनरावलोकन समितिउपर उजुरी गर्न सकिने प्रावधान राखिएको छ ।
सोही अनुसार उजुरीमा जान लागेका हुन् । डिआइजीहरु इश्वरबाबु कार्की, प्रकाश कार्की, घनश्याम अर्याल,देवबहादुर बोहोरा, उत्तम सुवेदी लगायतका डिआइजीहरुले आफूहरुलाई अन्याय भएको भन्दै उजुरी दिन लागेका हुन् । पुनरावलोकन समितिले न्याय नगरे अदालतसम्म जाने तयारी गरेका छन् ।

विगतमा यादव अधिकारी, पर्शुराम खत्री लगायतका चार डिआइजीले एआइजी बढुवामा अन्याय भएको भन्दै अदालतमा मुद्धा दायर गरेका थिए । सो मुद्धा फैसला हुँदा उनीहरुलाई सरकारले एआइजी बढुवा गर्न बाध्य भएको थियो ।
गृह मन्त्रालयअन्तर्गतको बढुवा समितिको मंगलबार बसेको बैठकले डीआईजीहरु बसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत डिआइजी बसन्तकुमार पन्त पहिलो नम्बरमा परेका थिए ।


दोस्रो नम्बरमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डिआइजी धीरजप्रताप सिंह रहँदा तेस्रो नम्बरमा अपराध अनुसन्धन विभाग कार्य निर्देशनालय नक्सालमा कार्यरत रवीन्द्रबहादुर धानुक रहेको बढुवा समितिको सचिवालयल जनाएको थियो । डिआइजीहरुले रविन्द्र धानुकको बढुवाको विषयलाई धेरैनै असन्तुष्टि जनाएका थिए ।

खासगरी आइजीपी शैलेश थापा क्षेत्रीले रविन्द्र धानुकलाई बढुवा गर्न नचाहेको तर सत्ता गठबन्धनमा रहेको माओवादीको दबाब थेग्न नसकेपछि धानुकलाई बढुवा सिफरिस गरिएको स्रोतले जनाएको छ ।

उजुरी परेमा सिफरिसमा परेका डिआइजीहरुको बढुवा एक साता लम्बिनेछ । यदि अदालतमा गए यादव अधिकारी, पर्शुराम खत्रीको नजिर दोहोरिन सक्ने र बढुवाका लागि न्यायको ढोका ढक्ढक्याउने डिआइजीहरुले एआइजीको बढुवा हुने एआइजीको बढुवा हुने संभावना पनि रहेको छ ।

थप यो पनि पढ्नुहोस्

जुनियर सिफारिस भए सिनियर अदालत जाने

प्रतिक्रिया