सोमबार, चैत १६, २०८२

के काठमाडौंमा वैकल्पिक शक्ति बन्लान् रमेश खरेल र र्‍यापर बालेन शाह ?

दया दुदराज २०७८ चैत १६ गते २१:४१


काठमाडौँ । निर्वाचन आयोगले घोषणा गरेको स्थानीय तहको मिति नजिकिएसँगै राजनीतिक माहोल बढेको छ । नेताहरुको चहलपहल बढेको छ । निर्वाचनका लागि दलहरु आफ्नो एजेण्डा र घोषणापत्रको तयारीमा जुटेका छन् । नेताहरुको चहलपहल र दौढधुपको त कुरै नगरौँ, स्थानीय तहको निर्वाचनकै लागि केन्द्रीय तहका नेताहरु नै जनता समक्ष मत गुहार्न पुगेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाली काँग्रेसले घरदैलो अभियान सुरु गरेका छन् भने एमालेले केन्द्रीय स्तरबाट नै सक्रिय कार्यकर्तालाई परिचालन गरेर चुनावमा आफ्ना लागि मत जुटाउने टिकडम सुरु गरेको छ । त्यस्तै माओवादी केन्द्रले समेत विभिन्न प्रशिक्षण कार्यक्रमहरु गर्दै कार्यकर्तालाई परिचालन सुरु गरेको छ ।

दलका नेतागणहरुको चहलपहल र एक पार्टीले अर्को पार्टीलाई गरेको घोचपेचलाई देख्दा निर्वाचन दैलोमै आइपुगेको बुझिन्छ । निर्वाचनको लागि केन्द्रीय नेताहरु जनता समक्ष झुक्न पुगेका छन् ।

निर्वाचन मिति नजिकिएसँगै कुन दलबाट को उम्मेद्वार बन्ने भन्ने विषय पनि उत्तिकै उत्कर्षमा छ । उम्मेद्वार बन्ने चटारोमा विभिन्न दलका नेता तथा कार्यकर्ताहरु तछाडमछाडको अवस्थामा छन् । यद्यपि, दलहरुले उम्मेद्वार छनोट गर्न सकेको छैन । यसैबीच काठमाडौं महानगरपालिकाको मेयरमा को आउला ? भन्ने प्रश्न पनि उत्तिकै चर्चा सुरु भएको छ ।

काठमाडौं महानगरको नेतृत्व हत्याउन मुख्यतः प्रमुख दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीले बलियो तयारी गरेका छन् । नेकपा एकीकृतले संगठनात्मक आधार कमजोर रहे पनि सत्तागठबन्धनको बलमा उम्मेद्वारी दिन पाए जितिने लक्ष्य राखेको देखिन्छ । माओवादी केन्द्रले गठबन्धनको भर पर्दै चितवनकै भरतपुरमा आँखा लगाउँदा काठमाडौंमा त्यति चासो राखेको जस्तो देखिन्न ।

प्रमुख दलहरुले आफ्नो उम्मेद्वारको नाम टुंगो लगाउन नसके पनि स्वतन्त्र रुपमा उम्मेदवार दिने व्यक्तिहरुले भने निर्वाचनको तयारी मिति घोषणा हुनुअगावै सार्वजनिक उम्मेदवारी घोषणा गर्न थालेका छन् ।

राजधानी साथै देशको केन्द्रीय भूभागमा रहेको काठमाडौं महानगरको मेयर बन्न दलका उम्मेद्वार साथै स्वतन्त्र उम्मेदवारहरुले समेत चासो देखाएका छन् । राजधानीमा काम गर्न चुनौती भएता पनि यसैको माध्यमबाट केन्द्रीय स्तरमा राजनीति गर्न माध्यम बनाउनकै लागि काठमाडौंको मेयरमा धेरैको चासो रहेको राजनीतिक विश्लेषकहरु बताउँछन् । देशको सबैभन्दा बढी मतदाता संख्या रहेको त्यसमा पनि राजधानी सहर रहेकाले धेरैको ध्यान यतैतिर केन्द्रीत छ ।

पुरानो शक्ति…

०७४ सालमा विवेकशिल नेपाली दल पार्टीबाट काठमाडौं महानगरमा उम्मेद्वारी दिएकी रञ्जु न्यौपाने (दर्शना) एक वैकल्पिक शक्तिका रुपमा उदयएकी थिइन् । नर्विाचन नजिते पनि त्यसवेला उनले आर्कषक मत ल्याएकी थिइन ।

उनले नेकपा एमालेका विजयी मेयर विद्यासुन्दर शाक्यसँग ४१ हजार ४७४ मतान्तर थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको चुनावी तालमेलमा एमालेका विद्यासुन्दर शाक्यले ६४ हजार ९१३ मत ल्याएर विजयी भएका थिए । दर्शनाले २३ हजार ४३९ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए ।

सो निर्वाचनमा प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाएका थिए । उपमेयरमा भने कांग्रेसकै हरिप्रभा खड्की ५८ हजार ९५२ मत ल्याएर विजयी भएकी थिइन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेसँगको तालमेलमा लडेका राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत मात्रै ल्याएका थिए ।

सोहीबीच मेयरकै लागि अर्का स्वतन्त्र रहेका किशोर थापाले समेत उम्मेद्वारी दिएका थिए । स्वतन्त्र उम्मेद्वारका रुपमा उम्मेदवारी दिएका किशोर थापा १८ हजार ४९६ मत ल्याएर चौथो भएका थिए । उनलाई तत्काल निर्वाचन आयोगमा दर्ता हुन बाँकी रहेको रविन्द्र मिश्र नेतृत्वको साझा पार्टीको सहयोग थियो । नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम दास डंगोलले ७ हजार ९०६ मत ल्याएर पाँचौ स्थानमा थिए ।

अबको नयाँ शक्ति…

०७४ को स्थानीय निर्वाचनमा वैकल्पिक शक्तिका रुपमा उदय भएका दल विवेकशिल नेपाली दल भने साझा पार्टीसँग एकिकरण गरेलगत्तै आन्तरिक किचालोका बिच गुज्रिरहेको छ । जसकारण सो दलबाट उम्मेद्वारी दिने स्वतः पराजय हुने निश्चित देखिन्छ । आसन्न निर्वाचनका लागि पनि ०७४ मा जत्तिकै जनमत हात पार्न सक्ने उम्मेदार छ त ? यो प्रश्न पेचिलो छ ।

आसन्न निर्वाचनका लागि स्वतन्त्र उम्मेद्वारका लागि इन्जिनियर तथ र्यापर बालेन शाहले काठमाडौंको उम्मेदवारी दिने घोषणा गरेका छन् । शाहले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अब युवाको पालो, हामीले पढेको लेखेको कहिले काम लाग्छ ? हाम्रो काठमाडौं, हामी आफैं बनाउँछौं ।’ उनले ह्यासह्याग गर्दै बालेन फर मेयर र अब युवाको पालो भनेर पनि लेखेका थिए ।

बालेन शाहले स्वतन्त्र रुपमा उम्मेदवारी घोषण गरेका हुन् । उनलाई स्वतन्त्र जमातको ठूलो समर्थन छ । साथै कलाकारहरुले समेत उनलाई सहयोग गर्ने बताउँदै आएका छन् । बालेनको मेयरमा उम्मेदवारी दिने घोषणाबाट उत्साहित हुँदै परिवर्तनकारी गायक तथा स्याडोज् ब्याण्डका भोकलिस्ट स्वप्निल शर्माले आफू बालेन शाहको झोला बोक्न तयार रहेको बताएका थिए । गायक स्वप्निलले बालेको घोषणापछि आफ्नो फेसबुकमा उनलाई ट्याग गर्दै लेखेका छन्, ‘म बालेन शाहको झोला बोक्न तयार छु ।’ सो पोस्टमा उनले ‘युथ अन पोलिटिक्स’ भन्दै ह्यासट्याग पनि गरेका छन् ।

त्यक्तिमात्रै नभई देश तथा विदेशमा रहेका समस्त युवाहरुको समर्थन पनि उनीतिर देखिएको छ । यतिबेला सामाजिक सञ्जालमै ह्यासट्याग बालेन फर मेयरको ट्रेन्ड सुरु गरिसकेको छ । नेतामाथिको घोचपेच र सरकारमा रहेकाहरुलाई व्याङ्यात्मक शैलीबाट गीत प्रस्तुत गर्दै उनले भ्रष्टाचारको विरोध गर्दै आएका थिए ।

त्यस्तै नेपाल प्रहरीका पूर्व डीआईजी तथा सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले समेत काठमाडौंको मेयरमा उम्मेद्वारी दिने मनसाय बनाएका छन् । मेरोन्युजसँगको संवादमा उनले भने, ‘हाम्रो पार्टीका साथीहरूसँग आन्तरिक छलफल हुँदै छ, छलफलपछि एउटा निष्कर्ष निस्किन्छ, मेयर उठ्ने विषयलाई नकारेको पनि होइन ।’ वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा काठमाडौंको मेयर उठ्ने बारेमा खरेल सकारात्मक रहेको बताएका छन् ।

उनले गत पुसमा खरेलले नेपाल सुशासन पार्टी निर्वाचन आयोगमा दर्ता गरेका थिए । त्यसयता उनी सो पार्टीको संगठन विस्तारमा छन् । खरेलले २०७४ सालमा नेपाल प्रहरीबाट राजीनामा दिएका थिए । सरकारले अर्का डीआईजी सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि राजीनामा दिएर खरेल नेपाल सुशासन अभियानमा क्रियाशील थिए ।

प्रहरीमा रहेर नै उनले समाजमा परिवर्तनकारी भूमिका खेलेको कारणले उनलाई जनताले रुचाएको पाइन्छ । निर्वाचनमै उम्मेदवारी दिने मनसायका उनले काठमाडौंमा गुण्डाराजको अन्त्य गर्ने अप्रेसन सञ्चालन गरेका थिए । जसका कारण उनि जनता समक्ष प्रिय बनेका थिए ।

पछिल्लो समय उनी प्रहरीबाट राजिनामा दिइसकेपछि समेत भ्रष्टाचार विरोधी कार्यक्रमहरुमा क्रियासिल हुँदै आएका थिए । जसका कारण उनी प्रतिको क्रेज उत्तिकै उत्कर्षमा छ ।

वैकल्पिक शक्ति आउने सम्भावना कति?

काठमाडौं महानगरमा साच्चै वैकल्पिक शक्तिको आगमन हुन्छ कि हुँदैन भन्ने प्रश्नसमेत जनमानसमा उत्तिकै छ । एमाले र कांग्रेसको राम्रो पकड भएको काठमाडौं महानगरमा वैकल्पिक शक्ति निर्णायक मत मात्रै बन्ने विभिन्न विश्लेषकहरुको भनाई समेत छ ।

विगतको जस्तै यसपटक समेत मुख्य प्रतिस्पर्धा एमाले–कांग्रेसबीचमै हुने निश्चित देखिन्छ । दुवै दलले अहिले आफू सहजै जित्ने दाबी गरिरहेका छन् । यसरी कांग्रेस–एमालेबीच सोझो प्रतिस्पर्धा देखिदा २०७४ मा विवेकशिल नेपालकी दर्शना र स्वतन्त्र उम्मेदवार थापाले पाएको ४१ हजार ९३५ मत नै निर्णायक हुने देखिन्छ ।

विगतमा प्रमुख दलहरू कांग्रेस, एमाले र माओवादी केन्द्रसँगको असन्तुष्टी नै जनताहरूले मतमार्फत दर्शना र थापामाथि खन्याएका थिए । तर वैकल्पिक भनिएको शक्ति नै छिन्नभिन्न हुँदै पुरानो एजेण्डा बोक्न थालेपछि मतदाता फेरि पुरानै ठाउँमा फर्किने हो की भन्ने चुनौतीसमेत पछिल्लो उम्मेद्वारलाई छ ।

यद्यपि, आसन्न निर्वाचनमा मतदाताको संख्या बढेको हुनाले उम्मेदवारहरुले धेरै आश राख्न सकिने देखिन्छ । आसन्न निर्वाचनका लागि काठमाडौं महानगरपालिकाबाट २० हजार ९३३ मतदाता थप भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगका अनुसार ०७४ को स्थानिय निर्वाचनमा कुल २ लाख ७९ हजार तीनसय ९ जना मतदाता थिए ।

यसपटक १ लाख ४४ हजार ३ तीन ६३ जना पुरुष र १ लाख ५५ हजार ८ सय ७८ महिला गरी तीन लाख २ सय ४२ कूल मतदाता संख्या रहेको छ । थपिएका नयाँ २० हजार ९३३ जना मतदाता समेत गरी काठमाडौं महानगरमा ३ लाख ४५ हजार १ सय ३३ जना मतदाता पुगेका छन् ।

वैकल्पिक शक्तिका लागि दिइएको पुरानो मत र पछिल्लो थपिएको मत हालका स्वतन्त्र उम्मेदवारले पाउने हो भने काठमाडौंमा नयाँ शक्तिको उदय हुने सम्भावना हुन सक्छ । रन्जु र किशोरले ल्याएको जम्मा पुरानो ४१ हजार ९३२ मत र पछिल्लो समय थपिएको २० हजार ९३३ मत प्राप्त गर्ने हो भने वैकल्पिक शक्तिको पनि सम्भावना हुन सक्छ । तर, परिणाम त्यसरी मात्रै निर्धारण हुँदैन ।

दया दुदराज

<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>

प्रतिक्रिया