बुधबार, माघ १४, २०८२

यात्रुलाई सहज हुने गरी घुम्ती शौचालय सेवा

मेरोन्यूज २०७९ वैशाख २ गते ७:५३

काठमाडौँ । तनहुँको व्यास नगरपालिका कार्यालयले पहिलोपटक घुम्ती शौचालय सञ्चालनमा ल्याउने तयारी गरेको छ । सदरमुकाम दमौलीको भोर्लेटार चोक क्षेत्रमा सो शौचालय राखिने छ ।

उक्त चोकबाट लमजुङ जिल्ला जाने आउने, जिल्लाको दक्षिण पूर्वी बुद्धसिंह मार्ग हुँदै सवारी आवतजावत हुँदा मानिसको चहलपहल हुने भएकाले उक्त ठाउँमा सो शौचालय राखिने नगरपालिकाले जनाएको छ ।

महिला र पुरुषले छुट्टाछुट्टै प्रयोग गर्न मिल्ने गरी दुई वटा कोठाको शौचालयमा रहेको छ । त्यस क्षेत्रमा एउटा पनि सार्वजनिक शौचालय नहुँदा सर्वसाधारणले कठिनाइ भोग्नु परेकाले घुम्ती शौचालय राख्न लागिएको नगरपालिकाका वन, वातावरण तथा सरसफाइ शाखाका प्रमुख कृष्णराज घिमिरेले जानकारी दिए ।

उक्त शौचालय चार लाख ९८ हजारको लागतमा ल्याइएको हो । उनले भने, “तत्कालै स्थानीय टोल विकास संस्थासँग समन्वय गरी व्यवस्थित गर्ने योजना बनाएका छौँ ।”

घुम्ती सेवा भएकाले आवश्यकताअनुरुप आवश्यक स्थानमा लैजान सकिने उनले बताए ।

प्रतिक्रिया