मंगलबार, माघ १३, २०८२

झाँक्रीको कुटाईबाट महिलाको मृत्यु

मेरोन्यूज २०७९ वैशाख ३ गते १६:१६

काठमाडौँ । धामी झाँक्रीको भर पर्दा कञ्चनपुरको बेदकाटे नगरपालिका ६ मुसेपानीका ४२ वर्षीया रञ्चुला साउँदको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामसिंह चौधरीका अनुसार लामो समयदेखि बिरामी साउँदलाई झारफुक गर्न धर्मानन्द भट्ट र नारायणदत्त भट्ट घरमा आउने गरेका थिए । झारफुककै क्रममा साउँदको शुक्रबार राति मृत्यु भएको थियो । मृत्युको घटनाबारे शनिबार बिहान मात्रै प्रहरीलाई जानकारी प्राप्त भएको थियो ।

स्थानीयवासीका अनुसार धामीझाँक्रीद्वयले झारफुकका नाममा साउँदलाई सरिया तताएर कुटपिट गरेको थियो । प्रहरी उपरीक्षक चौधरीले झारफुकमा संकलन भट्टद्वयलाई नियन्त्रणमा लिएको जनाउँदै महिलाको शवपरीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको बताए ।

‘घटनाबारे विस्तृत अनुसन्धान हुँदैछ,’ उनले भने, ‘दोषी जो कोही भए पनि कारबाहीको दायरामा ल्याइनेछ ।’

बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्दले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेका छन् । ‘धामीझाँक्री हल्दुखाल र बाराकुण्डाका हुन् भन्ने आएको छ,’ उनले भने, ‘बिरामीले थला परेकी साउँद तीन दिनदेखि गम्भीर हुँदा पनि धामीझाँक्री झारफुकमै लागेको भन्ने सुनियो ।’

प्रतिक्रिया