मंगलबार, माघ २०, २०८२

नेमकिपा भन्छ : सरकारमा गएका दलहरुले भष्टाचार गरेको पुष्टि भयो

मेरोन्यूज २०७९ जेठ ७ गते ८:५८

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय तह निर्वाचनले सरकारमा पुगेका दलहरूले भ्रष्टाचार गरेको पुष्टि गरेको जनाएको छ ।

आचारसंहिता उल्लङ्‍घन गर्दै भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्ने, पैसा बाँड्ने, भोज भतेर खुवाउने जस्ता क्रियाकलापले सरकारमा गएका दलहरूले भ्रष्टाचार गरेको पुष्टि गरेको नेमकिपाले जनाएको छ ।

नेमकिपाका सांसद प्रेम सुवालले निर्वाचनमा सरकारमा गएका दलहरुका रवैयाले उनीहरु भष्टाचारमा लिप्त रहेको पुष्टि गरेको बताएका हुन् । ‘सरकारमा जानेहरूले भ्रष्टाचार गरेकै हुनुपर्छ भन्ने जनताको अनुमान थियो । त्यो सत्य भएको देखियो । किनभने सत्ताको दुरुपयोग गर्दै आचारसंहिताविपरीत भारतीय नम्बर प्लेट भएको गाडी प्रयोग गर्ने, पैसा बाँड्ने र भोज खुवाउने काम भयो’, सांसद सुवालले भने ।

निर्वाचनमा सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेको पनि नेमकिपाको आरोप छ । निर्वाचन निष्पक्ष गर्ने भनेर गठन गरिएको निर्वाचन आयोगलाई निरीह बनाएको नेमकिपाले बताएको छ ।

निर्वाचनलाई अमेरिकी सहयोग परियोजना एमसीसी समर्थक र विरोधीबीचका लडाइँ भएको पनि सांसद सुवालले बताए । तर, पैसा बाँड्ने र भोजभतेर खुवाएर एमसीसी समर्थकहरूले निर्वाचन जितेको उनको आरोप थियो ।

प्रतिक्रिया