काठमाडौं क्षेत्र नम्बर १ र ५ मा नयाँ उम्मेदवारको चासो किन ?
०७४ को संघीय निर्वाचनमा क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रकाशमान सिंह र ५ बाट एमालेका ईश्वर पोखरेल निर्वाचित भएका थिए

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगर र तीन उपमहानगरसहित अन्य कतिपय स्थानीय तहमा स्वतन्त्र उम्मेदवार विजयी भए । अझ देशकै राजधानी काठमाडौँको जनमत बुझ्नै नसक्ने गरी अदलबदल हुन थालेको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बालेन शाहको चुनावी परिणामले पुष्टि गरेको छ ।
स्थानीय तहमा देखिएको प्रभाव अबको कात्तिक-मंसिरमा हुने संघीय निर्वाचनमा पर्ने देखिएको छ । काठमाडौँमा स्वतन्त्र उम्मेदवार बालेन शाह, धरानमा हर्क साम्पाङ र धनगढीमा गोपाल हमालले राजनीतिक दलका उम्मेदवारविरुद्ध सानदार जित निकालेसँगै संघीय निर्वाचनमा समेत स्वतन्त्रबाट उम्मेदवारी दिनेको संख्या बढ्ने देखिएको हो ।
निर्वाचनको पूर्वसन्ध्यामा अहिले धमाधम स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी घोषणा शुरु भएको छ । आइतबार मात्रै पनि भारतमा कृषिको अध्ययन गरेर आएका ३४ वर्षीय हेम बम्जोनले काठमाडौँ ४ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए ।तर, स्वतन्त्र उम्मेदवारहरूको आकर्षण भने काठमाडौँको १ र ५ मा देखिन थालेको छ ।
क्षेत्र नम्बर १ र ५ मा उम्मेदवारका आकांक्षी बढ्दो
काठमाडौँमा कूल १० वटा निर्वाचन क्षेत्रहरू छन् । जसमध्ये सधैँ जसो चर्चामा रहने निर्वाचन क्षेत्र भनेको १ र ५ हो । जहाँ प्रत्येक निर्वाचन वर्षमा नयाँ उम्मेदवारहरूले उम्मेदवारी दिँदै आएका छन् । आसन्न संघीय निर्वाचनको मिति तय भएको छैन । यद्यपि, उम्मेदवारी दिने चर्चा गरिरहेका अधिकांशले काठमाडौँको क्षेत्र नम्बर एक र पाँच नै रोज्न थालेका छन् । यी दुई क्षेत्र कांग्रेस र एमालेका हेभिवेट नेताको निर्वाचन क्षेत्र हो ।
बलियो पार्टीका हेभिवेट नेताले निर्वाचन जितेको क्षेत्रमा सिति मिति कुनै स्वतन्त्र उम्मेदवारले हतपती चुनाव लड्ने घोषणा गर्दैनन् । तर, ०७४ यताका निर्वाचन हेर्दा र अहिलेको स्थानीय तहको चुनावपछि शहरी क्षेत्रका हभिवेट नेताहरूको निर्वाचन क्षेत्रमै स्वतन्त्रले उम्मेदवारी घोषणा तीव्र पार्न थालेका छन् ।
काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १ बाट २०७४ सालको संघीय निर्वाचनमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका थिए । क्षेत्र नम्बर ५ बाट नेकपा (एमाले)का ईश्वर पोखरेल विजयी भएका थिए । यी दुई क्षेत्रमै स्वतन्त्र र युवा पुस्ताका उम्मेदवारहरू आकांक्षी देखिएका छन् ।
राजनीतिमा लामो समयदेखि क्रियाशील र पटकपटक मन्त्रीसमेत भइसकेका एमालेका वरिष्ठ उपाध्यक्षसमेत रहेका पोखरेल र काग्रेसका वरिष्ठ नेतामध्येका केन्द्रीय सदस्य सिंहको निर्वाचन क्षेत्रमा युवा पुस्ताका नयाँ अनुहारले स्वतन्त्र र केहीले दलभित्रैबाट पनि उम्मेदवारी दिन तम्सिएको देखिन्छ ।
आइतबार मात्रै नेपाल प्रहरीका पूर्व डीआईजी तथा सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले आसन्न संघीय निर्वाचनमा काठमाडौँको क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषण गरेका छन् । त्यस्तै, गत जेठ २० गते मात्रै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट नै ‘इनफ इज इनफ’ अभियान्ता पुकार बमले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १ मा विवेकशील साझाका नेता रविन्द्र मिश्रले समेत उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघिको संघीय निर्वाचनमा मिश्र यही निर्वाचन क्षेत्रमा कांग्रेसका प्रकाशमानसँग पराजित भएका थिए ।
काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ५ मा समेत धेरै जनाले उम्मेदवारी दिने तयारी थालेका छन् । कतिपयले उम्मेदवारी दिने घोषणासमेत गरिसकेका छन् । विवेकशील नेपालीकी पूर्व नेतृ रञ्जु दर्शनाले पनि क्षेत्र नम्बर ५ बाट आगामी संघीय निर्वाचनमा भाग लिने तयारी गरेकी छन् । २०७४ को स्थानीय तहको निर्वाचनमा दर्शनाले काठमाडौँ महानगरको मेयर पदमा उम्मेदवारी दिएकी थिइन् । उनले त्यसबेला २३ हजार ४३९ मत पाएकी थिइन् ।
योपटक उनले संघीय निर्वाचनमै काठमाडौँको क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गर्ने तयारी थालेकी छन् । विवेकशील साझामा विग्रह आएसँगै पार्टीबाट स्वैच्छिक राजीनामा दिएर स्वतन्त्र भूमिकामा रहेकी उनले संघीय सांसदमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेकी हुन् । यसअघि रञ्जु दर्शनाकै संस्थापक नेता उज्ज्वल थापाले यो निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका थिए । थापालाई नेकपा एमालेका ईश्वर पोखरेलले पराजित गरेको थियो ।
जसपा संघीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमीले काठमाडौँ क्षेत्र नम्बर ५ या ७ बाट संघीय सांसदमा उम्मेदवारी दिने तयारी गरेकी छन् । २०६५ मा भएको स्ववियु निर्वाचनमा त्रिभुवन विश्वविद्यालयबाट सचिवमा निर्वाचित भएकी यमीलाई जसपाले काठमाडौँबाट निर्वाचन लड्न प्रस्ताव गरेको उनले दाबी गरेकी छन् ।
उनी अखिल क्रान्तिकारीका पूर्व नेतासमेत हुन् । यो क्षेत्र नभए उनी काठमाडौँ ७ बाट उम्मेदवार बन्न सक्ने छिन् । काठमाडौँ ७ भने उनकै आमा हिसिला यमीको पनि निर्वाचन क्षेत्र हो । २०६४ मा यमीले यो क्षेत्रबाट निर्वाचन जितेकी थिइन् ।
काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ५ बाट ०७४ सालको संघीय निर्वाचनमा कांग्रेसले हालका प्रवक्ता प्रकाश शरण महतलाई उठाएको थियो । योपटकको निर्वाचनमा कांग्रेसले अर्थविद् स्वर्णीम वाग्लेलाई सो निर्वाचन क्षेत्रबाट उठाउने तयारी थालेको स्रोतको दाबी छ । यद्यपि, नैनसिंह महर, प्रदीप पौडेलदेखि नरहरि आचार्यको श्रीमती शारदा शर्मासम्मको काठमाडौँ ५ मा चर्चा छ । कांग्रेस प्रवक्ता महत भने नुवाकोट जाने वा नजानेमा दोधार छन् । उनको सोच नुवाकोट क्षेत्र नम्बर १ जाने भए पनि गत चुनावमा माओवादीका हितबहादुर तामाङले जितेको यो निर्वाचन क्षेत्रमा स्थानीय तह चुनावमा झन् माओवादी एक्लै चुनाव लड्दा पनि बलियो बनेर देखा परेको छ । जसका कारण महत दोधारमा देखिएका छन् ।
निर्वाचन क्षेत्र १ र ५ नै किन ?
स्थानीय तहको निर्वाचनर प्रदेश चुनवामा जहाँ मतदाता नामावली छ, उम्मेदवार हुन चाहे त्यही स्थानबाट उम्मेदवारी दिनु पर्ने व्यवस्था छ । तर, संघीय निर्वाचनमा यो नियम लागु हुँदैन । देशभरका जुनसुकै स्थानबाट पनि उम्मेदवारी दिन पाउने व्यवस्था छ । यसको फाइदा उठाउँदै देशभरका विभिन्न स्थानका व्यक्तिहरूले काठमाडौँबाट उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । काठमाडौँको १० निर्वाचन क्षेत्रमध्ये पनि क्षेत्र नम्बर १ र ५ मा उम्मेदवारी दिने घोषणा गर्नेको संख्या ह्वात्तै बढेको छ ।
काठमाडौँ महानगरको वडा नम्बर १०, ११, २९ र ३१ लाई समायोजन गरेर निर्वाचन क्षेत्र नम्बर १ तोकिएको छ । उक्त निर्वाचन क्षेत्रमा बानेश्वर, त्रिपुरेश्वर, डिल्लीबजार र भिमसेन गोलालगायतका क्षेत्र पर्दछ । त्यस्तै, काठमाडौँ महानगरको वडा नम्बर २, ३, ४, ५ र बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ लाई संयोजन गरेर निर्वाचन क्षेत्र नम्बर ५ तोकिएको छ । उक्त निर्वाचन क्षेत्रमा लाजिम्पाट, महाराजगञ्ज, बालुवाटार, हाडीगाँउ लगायतका स्थानहरू पर्दछन् ।
काठमाडौँमा नेवार समुदायको बाहुल्यता भएता पनि यी क्षेत्रहरूमा भने मिश्रित समुदायको बसोबास छ । काठमाडौँभित्र पनि धेरै विकशित टोल वा वडा यो निर्वाचन क्षेत्रमा पर्दछन् । यी दुई निर्वाचन क्षेत्रहरू १ र ५ मा बसोबास गर्ने व्यक्तिहरू मिश्रित समुदायका मात्रै नभई, शिक्षित जनता बस्ने टोल वा स्थानका रुपमा समेत परिचित छ ।
नेवार समुदायको बाहुल्यता धेरै भएको निर्वाचन क्षेत्रमा आफूहरूले धेरै मत प्राप्त गर्न नसकिने तर, शिक्षित र मिश्रित समुदायले नयाँ विकल्पको खोजी गर्ने आशंका साथ निर्वाचन क्षेत्र १ र ५ मा बढी उम्मेदवारी आउने देखिन्छ ।
सरकारले आगामी कात्तिक-मंसिरमा प्रदेश र संघीय निर्वाचन घोषणाको तयारी गरेको छ । निर्वाचन आयोगसँगको परामर्शमा कात्तिक २७ र मंसिर ३ मा गरी दुई चरणमा सरकारले निर्वाचन मिति तोक्ने तयारी गरेको छ ।
काठमाडौँ महानगरका नवनिर्वाचित मेयर बालेन्द्र शाह उर्फ बालेनले आसन्न निर्वाचन मितिसम्म काठमाडौँमा राम्रो काम गरेको खण्डमा संघीय निर्वाचनमा उम्मेदवारी दिने युवा र स्वतन्त्र उम्मेदवारले राम्रो मत प्राप्त गर्ने आकलन गर्न सकिन्छ ।

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै
झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया