बिहीबार, माघ ८, २०८२

कैदी हरिजनको आत्महत्याबारे छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

मेरोन्यूज २०७९ जेठ ३१ गते २१:१०

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले कैदी सुन्दर हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे तयार भएको प्रतिवेदनका समेटिएका विषय कानुनअनुरुप कार्यान्वयनको प्रक्रियामा लगिने बताएका छन् ।

गृहमन्त्री खाँणले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कैदी हरिजनले आत्महत्या गरेको घटना सम्बन्धमा मन्त्रालयका सहसचिव सूर्य सेढाई नेतृत्वको समितिले स्थलगत रूपमा सत्यतथ्य छानबिन गरी तयार पारेको प्रतिवेदन बुझेका छन् । सोही क्रममा उनले घटनामा प्रतिवेदनले दोषी औँल्याएकालाई कानुनअनुरुप कारबाहीको प्रक्रिया सुरु गरिने बताएका हुन् ।

घटनाबारे छानबिन गर्न सहसचिव सेढाईको संयोजकत्वमा मन्त्री स्तरीय निर्णयबाट १७ जेठमा पाँच सदस्यीय समिति गठन भएको थियो । समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका थिए ।

समितिले प्रतिवेदनमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा तत्कालीन अवस्थामा कारागार प्रशासनसँग सम्बद्ध कर्मचारीले कारागार ऐन र नियमावली तथा आफ्नो पदीय जिम्मेवारी एवं दायित्व निर्वाहमा लापरबाही तथा त्रुटी गरेको र कर्तव्य पालनामा उदासिनता देखाएको उल्लेख गरेको छ ।

प्रतिवेदनमा प्रस्तुत गरिएका सुझाव लागू गर्न साफारिस गर्दै लागू भएमा कारागार प्रशासन सुध्रन सक्ने संयोजक सेढाईले बताए ।
समितिले २०७७ मैसिर ८ गते बाँके कारागारबाट रोल्पा कारागारमा कैदीहरू हरिजन र विजयविक्रम शाहको स्थानान्तरण गर्दा भएको त्रुटी तथा कैदीले आत्महत्या गरेको सम्बन्धमा अनुसन्धान गरेको जनाएको छ ।

समितिले अनुसन्धानका क्रममा नेपाल सरकारका सम्बद्ध पदाधिकारीको स्वीकृति र सहयोगमा भारत सरकारसँग अनौपचारिक समन्वय गरी भारतको उत्तर प्रदेशको बारबंकी जिल्लामा लागू औषध मुद्दामा कैद भुक्तान गरिरहेका हरिजनसँग सँगै बाँकेबाट रोल्पा कारागारमा स्थानान्तरण गरिएका शाहसँग पनि सोधपुज गरेको जनाएको छ ।

त्योसँगै समितिले घटनाको स्थलगत अध्ययन, अवलोकन, सूचना संकलन तथा विश्लेषण, सोधपुज तथा बनाउन, फोन कल विवरण अध्ययन र घटना विवरण गरेर प्रतिवेदन तयार पारेको जनाएको छ ।

प्रतिक्रिया