अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौं । मानव जीवनका लागि योग भन्ने आह्वानसहित अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो ।
सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो ।
नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।
यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।
वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्त प्रायः बनेको थियो । यही क्षेत्रबाट पुनःजागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो ।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यता प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।
माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा प्रस्ताव गरेका थिए । नेपाल सरकारले विसं २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।
योग र ध्यान साधनाका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ ।रासस
















Protected: यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिक्रिया