बिहीबार, माघ ८, २०८२

गृहमन्त्री खाण र नेकपा बहुमतका अध्यक्षबिच भेटर्वाता

मेरोन्यूज २०७९ असार ७ गते १८:१६

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणसँग धर्मेन्द्र बास्तोला अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत)को टोलीले भेटघाट गरेको छ ।

मंगलबार दिउँसो गृह मन्त्रालयमा भएको भेटमा सरकारी पक्षमा गृहसचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेल तथा नेकपा (बहुमत)का तर्फबाट अध्यक्ष बास्तोलासहित प्रवक्ता हेमन्तप्रकाश ओली, देवकला अधिकारी, गुणराज लोहनी र दिपक सहभागी थिए ।

भेटमा २०७७ फागुन २० गते केपी शर्मा ओली नेतृत्वको सरकार र तत्कालिन नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा कुराकानी भएको छ ।

गृहमन्त्री खाणले सरकार नेकपासँग अघिल्लो सरकारले गरेको सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए । नेकपासँग भएका सहमति कार्यान्वयन गर्ने क्रममा मा प्रतिबद्ध छौँ । सहमतिमा समेटिएका केही बुँदा कार्यान्वयन भइसकेका र केही कार्यान्वयनको चरणमा रहेका गृहमन्त्री खाणले बताए ।

नेकपाका तर्फबाट संयोजक बास्तोलाले जेलमा रहेका पार्टीका नेता कार्यकर्ता रिहाइ गर्न आग्रह गरेका थिए । सहमति कार्यान्वयनको विषयमा अन्य मन्त्रालय र निकायसँग समेत छलफल गर्नुपर्ने भएकाले ती निकायसहित बसेर पुनः छलफल गर्नेगरी बैठक सकिएको छ ।

तत्कालिन नेत्रविक्रम चन्द नेतृत्वको नेकपा फुटेर बास्तोलाको संयोजकत्वमा नयाँ पार्टी बनेको हो ।

प्रतिक्रिया