शुक्रबार, फागुन २९, २०८२

एकै महिनामा ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप

मेरोन्यूज २०७९ असार २८ गते २१:१७

काठमाडौँ । तरलताको अभाव रहेको भनिएका बैंक तथा वित्तीय संस्थामा पछिल्ला एक महिनामा उल्लेख्य सुधार देखिएको छ । वाणिज्य बैंकको निक्षेपमा सुधार देखिएपछि त्यसको प्रभाव सकारात्मक परेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

गत जेठ महिनाको तुलनामा असार महिना लागेसँगै वाणिज्य बैंकको निक्षेप संकलन ९४ अर्ब रुपैयाँले बढेको हो । नेपाल बैंकर्स संघका अनुसार गत जेठ महिनामा वाणिज्य बैंकको कूल निक्षेप ४४ खर्ब रहेकामा असार २४ गतेसम्म ४४ खर्ब ९४ अर्ब पुगेको हो ।

पछिल्लो समय निरन्तर रुपमा घटेको निक्षेप असार महिना लागेसँगै केही सुधार देखिएको छ । संघको तथ्यांकअनुसार असार पहिलो साता वाणिज्य बैंकको निक्षेप संकलन (३ गते) ४३ खर्ब ९४ अर्ब, असार दोस्रो साता (१० गते) ४३ खर्ब ९८ अर्ब र असार तेस्रो साता (१७ गते) ४४ खर्ब ३२ अर्ब रहेको थियो ।

असार महिनामा निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने घटेको छ । गत जेठ महिनाको तुलनामा असारको २४ गतेसम्म १९ अर्बले कर्जा लगानी घटेको हो । गत जेठ मसान्तसम्म कूल ४१ खर्ब ९३ अर्ब कर्जा लगानी गरेका बैंकले असार चौथो सातासम्म कूल ४१ खर्ब ७४ अर्बमात्रै कर्जा लगानी गरेका हुन् ।

यस्तै, एक सातामा वाणिज्य बैंकको कर्जामा १० अर्ब गिरावट देखिएको छ । असार १७ गतेसम्म ४१ खर्ब ८४ अर्ब कर्जा लगानी रहेकोमा असार २४ गतेसम्म ४१ खर्ब ७४ अर्ब पुगेको हो ।

वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) पनि घट्दै गइरहेको छ । असार २४ गतेसम्म वाणिज्य बैंकको औसत सीडी रेसियो ८८.५७ प्रतिशत पुगेको हो ।

प्रतिक्रिया