सोमबार, माघ १२, २०८२

लाइन बस्नु भनेपछि ‘सुरक्षा गार्ड’लाई पर्यटन मन्त्रीले थुनाए, गृहमन्त्रीले छुटाए

मेरोन्यूज २०७९ भदौ २० गते १९:५५

काठमाडौँ । एक जना समान्य गार्ड काम गर्ने व्यक्तिलाई पर्यटन मन्त्रीले थुनाएसँगै गृहमन्त्रीको निर्देशनमा थुनामुक्त भएका छन् ।

पर्यटन मन्त्री जीवनराम श्रेष्ठले आफूलाई लाइनमा बस्न भनेर अपमान गरेको भन्दै प्रहरी हिरासतमा पुर्याएका व्यक्तिलाई गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा थुनामुक्त भएका हुन् ।

सोमबार साँझ जिल्ला प्रशासन कार्यालय काठमाडौँले सुरक्षागार्ड काम गर्दै आएका शेरजंग गुरुङ साधारण तारेखमा छाड्न आदेश दिएको हो । लगत्तै उनलाई थुनामुक्त गरिएको छ ।

गृहमन्त्री खाँणले उनलाई छाड्न भन्दै प्रजिअ रिजाललाई निर्देशन दिएका थिए । गृहमन्त्रीको सचिवालयबाट यसबारे सूचना सार्वजनिक भएलगत्तै पर्यटन मन्त्रालयसमेत विज्ञप्ति जारी गरेर उनलाई छाड्न भन्दै पर्यटनमन्त्रीको बचाउ गरेको थियो ।

सुरक्षागार्डले कर्तव्य पालना गराउँदा थुनाएको भन्दै चौतर्फी आलोचना भएपछि उनी थुनामुक्त भएका हुन् ।

शुक्रबार पर्यटन मन्त्री श्रेष्ठ ठमेलस्थित छायाँ सेन्टरमा श्रीमतीलाई लिएर क्यानडामा हुने आईकाओको कार्यक्रममा सहभागी हुन बायोमेट्रिक दिन पुगेका थिए ।

सोही क्रममा ‘गरुड सेक्यूरिटी’ अन्तर्गत कार्यरत सुरक्षागार्ड गुरुङले मन्त्री श्रेष्ठलाई लाइनमा आउन भनेका थिए ।

गुरुङलाई प्रहरी वृत्त दरबारमार्गको हिरासतमा राखिएको थियो । हिरासतमा रहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भेट गरेका थिए ।

यस विषयमा छानबिन गर्न प्रहरीले एसपी दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरेको छ ।

प्रतिक्रिया