मंगलबार, चैत १०, २०८२

नवौँ राष्ट्रिय खेलकुद : साइक्लिङमा बागमती र एपीएफलाई स्वर्ण

मेरोन्यूज २०७९ असोज ३० गते १८:३८

काठमाडौँ । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङको ‘क्रस कन्ट्री’ विधामा महिलातर्फ बागमती प्रदेश र पुरुषतर्फ एपीएफले एक–एक स्वर्ण पदक जितेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

पोखराको रानीवनमा भएको महिला क्रस कन्ट्री विधातर्फको फाइनल खेलमा १५ किलोमिटरको दुरी एक घण्टा नौ मिनेट ४८ सेकेण्डमा पूरा गर्दै बागमतीका लक्ष्मी मगरले स्वर्ण पदक जितेकी हुन् ।

नेपाली सेनाका उषा खनालले निर्धारित दुरी एक घण्टा १२ मिनेट ३९ सेकेण्डमा पार गरी रजत पदक जित्दा एक घण्टा २० मिनेट ०४ सेकेण्डमा लक्ष्य पूरा गरी एपीएफका हुमी बुढामगरले कास्य पदक जितेकी छन् ।

पुरुषतर्फको क्रस कन्ट्री साइक्लिङको फाइनल खेलमा एपीएफले स्वर्ण र कास्य, नेपाल आर्मीले रजत पदक जित्न सफल भएका छन् । १९ किलोमिटरको दुरी एक घण्टा नौ मिनेट ३८ सेकेण्डमा पूरा गर्दै एपीएफका सुरज रानाले स्वर्ण पदक जित्न सफल जिनेका हुन् ।

सेनाका हिमाल टमाटाले उक्त दुरी एक घण्टा ११ मिनेट ४३ सेकेण्डमा पार गर्दै रजत पदक जिते । यसैगरी एक घण्टा १३ मिनेट २५ सेकेण्डमा दुरी पार गर्दै एपीएफकै लक्ष्मण मल्लले कास्य पदक दिलाए ।

साइक्लिङमा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता छ । साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री विधा सकिएको छ । ‘रोड रेस इन्डिभिजुअल टाइम ट्रायल’ र ‘रोड रेस मास स्टार्ट’ विधा बाँकी रहेको छ । साइक्लिङमा विभिन्न चार विधामा पुरुष र महिला गरी आठ–आठ स्वर्ण, रजत र कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।

गण्डकी प्रदेशका आठ जिल्लामा नवौँ राष्ट्रिय खेलकुदअन्तर्गतका खेल भइरहेका छन् । प्रतियोगितामा ३६ खेल सञ्चालन हुने छ ।

प्रतिक्रिया