मंगलबार, माघ १३, २०८२

नक्कली फेसबुक अकाउण्ट बनाएर महिलाको चरित्र हत्या गर्ने पक्राउ

मेरोन्यूज २०७९ कार्तिक २० गते १९:११

काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा नक्कली अकाउण्ट बनाएर दुःख दिने सप्तरीका सुमित कुमार थापालाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर व्यूरोले जनाएको छ ।

उनले फेसबुकमा समिरा शर्मा नामको नक्कली आईडी बनाएर उक्त आईडीको वाल र टाइमलाइनमा पीडितको तस्विरको साथमा अन्य अपरिचित महिलाको अश्लिल तस्बिर राखेर पोष्ट गरेर पीडित जाहेरवालाको बारेमा अनर्गल र अश्लिल शब्दहरू स्टाट्स लेखी पोष्ट गर्ने गरेका थिए ।

यसका साथै उक्त फेक आईडीको म्यासेञ्जरबाट पीडितको आफन्तले प्रयोग गर्ने फेसबुक अकाउण्टको म्यासेञ्जरमा समेत पीडितको बारेमा विभिन्न अश्लिल म्यासेजहरू गरी पीडितको बदनाम, बेईज्जत गरी अनावश्यक मानसिक तनाव, दुःख हैरानी दिई, चरित्र हत्या हुने कार्य गर्ने गरेको ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार सप्तरीको सुरुङ्गा नगरपालिका १ का १९ वर्षीय सुमित कुमार थापालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा कात्तिक १८ गते इलाका प्रहरी कार्यालय भेडिया सारीको सहयोगमा पक्राउ गरिएको हो ।

ब्यूरोले काठमाडौ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी उनिमाथि आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया