सोमबार, माघ १९, २०८२

निर्वाचनको भीडभाडले कोभिड १९ को नयाँ भेरियन्ट फैलिनसक्छ, सावधानी अपनाउनूस् : स्वास्थ्य मन्त्रालय

मेरोन्यूज २०७९ कार्तिक २२ गते १४:००

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले निर्वाचनकेन्द्रित गतिविधिमा भीडभाड गर्दा सावधानि अपनाउन आग्रह गरेको छ । मन्त्रालयले कोभिड १९ को संक्रमण कायम रहेकाले संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले निर्वाचन केन्द्रित कार्यक्रमहरुमा भीडभाड गर्दा कोभिड १९ को संक्रमण दर बढ्नसक्ने बताए । उनले देशमा कोभिड संक्रमण दर धेरै नभएपनि संक्रमणको अवस्था भने यथावत रहेको उल्लेख गरे । उनले भीडभाड बढी हुँदा अन्य प्रकारका संक्रामक रोगहरु पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले त्यसमा पनि सावधानि अपनाउनु जरुरी रहेको बताए । डा. अधिकारीले कोभिड १९ बिरुद्धको खोप नलगाएका व्यक्तिहरुलाई भीडभाड हुने ठाउँमा नजान पनि आग्रह गरे । उनले भने– ‘अझ कोभिड १९ को महामारी हामीले भोगेको अवस्था र हामीसँग संक्रमण अहिले पनि रहिराखेको अवस्था छ, विश्वका विभिन्न ठाउँहरुमा नयाँ भेरियन्टहरु देखिराख्ने अवस्था सबै अवस्थालाई हेर्दाखेरी हाम्रो भीडभाड हुने गतिविधिहरुलाई हामीले एकदमै सावधानीका साथ अगाडी लिएर जानुपर्छ । जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नसक्ने, ख्याल गर्न सकिने ठाउँहरुमा विशेष रुपमा ख्याल गर्नुपर्ने हुन्छ । कोभिडको कुरा मात्रै भएन, अरु किसिमका संक्रमण पनि कसैलाई छन् भने, रुघाखोकी पनि कसैलाई छन् भने थप धेरै मानिसहरुलाई हुनसक्छ । धेरै मानिसहरु बिरामी हुनसक्ने अवस्थाहरु हुनसक्छ । ती सबै कुराहरुलाई मध्यनजर गरेर हामीले मास्कको प्रयोग गर्नुपर्छ, त्यस्ता भीडभाडहरुमा जानुपर्ने अवस्था आउँदा । सकेसम्म नजाने ।’

उनले विश्वव्यापी रुपमा कोभिड १९ को संक्रमण घटेको बताउनु भयो । देशमा पनि विगतको भन्दा सहज अवस्था रहेको उहाँको भनाई छ । तरपनि संक्रमण कायम रहेको अवस्थामा जोखिमपूर्ण भेरियन्ट आउनसक्ने सम्भावनका कारण सावधानि अपनाउनुपर्ने उनले स्पष्ट पारे । उनले देशमा अहिले ६ सयको हाराहारीमा कोभिड १९ का संक्रमितहरु रहेको बताए । उनले भने – ‘कोभिड १९ संक्रमण पुष्टि हुने कुराहरु शुन्य भइसकेको अवस्था अहिले छैन । अहिलेपनि देशभरी ६ सयको हाराहारी सक्रिय संक्रमितहरु आधिकारिक रुपमा तथ्यांकहरु प्राप्त भएको हाम्रो विवरणमा देखिन्छ । यसलाई हेर्दाखेरी हामी संक्रमणको कुरालाई अहिलेपनि मध्येनजर गरेर सावधानिहरु लिनुपर्छ । जस्तो जनस्वास्थ्यका मापदण्डका कुराहरु, खोपका कुराहरुलाई हामीले विशेष रुपमा केन्द्रमा राखेर काम गर्नुपर्ने अवस्था अहिले पनि छ ।’

उनका अनुसार अहिलेसम्म ६ करोड भन्दा बढी मात्रा खोप नेपालले प्राप्त गरेको छ । जसमध्ये साढे ५ करोड मात्रा खोप लगाइसकिएको तथ्यांक छ । उनले खोप लगाउने लक्षित जनसंख्या २ करोड ३३ लाख भन्दा बढी रहेकोमा त्यसमध्ये शतप्रतिशतले एक मात्रा खोप लगाएको र ९६ प्रतिशतले पूर्ण मात्रा खोप लगाइसकेको बताए । उनले ८० लाख बुस्टर मात्राको प्रयोग भएको पनि बताए । उनले कोभिड १९ बिरुद्धको खोप सरकारसँग बाँकी रहेको पनि जानकारी दिए । सर्वसाधारणहरुलाई नियमित रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यसंस्था र स्वास्थ्यकर्मीहरुलाई सम्पर्कगरी कोभिड १९ बिरुद्धको खोप लगाउन पनि डा. अधिकारीले आग्रह गरे ।

प्रतिक्रिया