किवी खेति गर्ने किसान भन्दछन्: कहाँ लैजाने र बिक्री गर्ने

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकास्थित दोखुका राजकुमार गुरुङले यस वर्ष झण्डै ३० क्विन्टल किवी उत्पादन गरे ।
व्यावसायिकरुपमा केही वर्षदेखि किवीको खेती गर्दै आउनुभएका उहाँलाई नपाक्दासम्म रोग कीरा लाग्ला भन्ने चिन्तामा थिए । उनलाई किवी बोटमा पाक्न थाल्छ फेरि बजार र मूल्य नपाइएला भन्ने चिन्ता थपियो । केही वर्षदेखि उनलाई यस्तै चिन्ता निरन्तर छ । यस वर्ष उत्पादन भएको मध्ये करिब चार क्विन्टल किवी बिक्री गरिसक्दा किसान गुरुङलाई बाँकी रहेको कता लैजाने र कहाँ बिक्री गर्ने गर्ने भन्ने अन्योल छ ।
“जिल्ला बाहिरका आफन्तलाई फोन गरेर, छरछिमेकलाई अनुरोध गरेर अलि अलि बेचियो, बाँकी कता लैजाने भन्ने अन्योल छ, केही लागेन भने रक्सी पारौँला भन्ने छ”, उनले भने। उनले काठमाडाँैलगायत विभिन्न जिल्लामा रहेका आफन्त, साथीभाइलाई केही मात्रामा पठाए । होलसेल प्रतिकिलो रु एक सय र फाट्टफुट्ट रु एक सय ५० का दरले बिक्री गरेको उनले बताए । उत्पादन गरे पनि बजार र मूल्य नपाउँदा समस्या भएको उनले बताए । यस्तै दोखुकै रमेश गुरुङले उत्पादन गरेको किवी ठूलो मात्रामा कुहिएर गयो । पाकेलगत्तै टिपेर राखेका गुरुङले बजार पाउनुभएन । बजार पाइएलाभन्दा भन्दै ठूलो मात्रामा कुहिएको उनले बताए।
यसरी बजार नपाउँदा उहाँहरु मात्रै नभई जिल्लाका दर्जनौँ किसान निरास छन् । यहाँका अधिकांश किसानले किवी खेतीबाट राम्रै आम्दानी हुन्छ भन्ने आशाले यसको व्यावसायिक खेती सुरु गरेका थिए तर उत्पादनसँगै बजारमा यसको माग घटेकाले किसान समस्यामा परेका छन् । “एक समयमा किवीको खुबै चर्चा थियो, बजार र मूल्य राम्रो छ, मनग्य आम्दानी हुन्छ भन्ने समाचार सुनियो, गाउँगाउँमा उस्तै हल्ला चल्यो, त्यही समयदेखि मेहनतका साथ लागियो तर अहिले न बजार छ, न मूल्य नै, मेहनत र लगानी खेर जाने चिन्ता छ”, राजकुमार गुरुङले भने।
समयमा बजारीकरण नभए पनि शीतभण्डार (कोल्डस्टोर) भए पनि केही राहत मिल्ने किसानको भनाइ छ । “पाकेर बोटबाटै झर्ने अवस्था आएपछि टिप्नै पर्छ, समयमै बिक्री भएन भने कुहिएरै जाने अवस्था आउँछ, कम्तीमा ठाउँठाउँमा शीतभण्डार भए पनि केही राहत हुने थियो”, सिरीजङ्घा गाउँपालिका–७ खेवाङका नरेन्द्र तिवारीले भने । उनले यो पटक आफूले उत्पादन गरेको किवी बल्लतल्ल झापा लगेर रु एक सय प्रतिकिलोका दरले बेचे। गाउँघरमा रु ७० देखि ८० का दरले बिक्री गरेको उनको भनाइ छ । धेरै किसान यसको व्यावसायिक खेतीतर्फ आकर्षक भए पनि बजार र मूल्य अभावकै कारण निरास हुनुपरेको तिवारीले बताए ।
किवी खेतीका लागि यहाँको जमिन र वातावरण अनुकूल भएकाले यसको खेतीमा धेरैजसो किसान आकर्षित भएको पाइन्छ । समुद्र सतहबाट एक हजारदेखि १५ सय मिटरको उचाइमा यसको खेती फस्टाउने बताइन्छ । फलफूलको राजा मानिने किवीको बोट छोटो समयमा नै हुर्कने र फल लाग्न सुरु गर्ने भएकाले यसको व्यावसायिक खेती विस्तारसँगै बजारीकरण, प्रशोधन र भण्डारणमा सरकारले विशेष चासो दिनुपर्ने आवश्यकता देखिएको कृषकको भनाइ छ । किवीको प्रयोगले स्वास्थ्यलाई पुग्ने फाइदाका विषयमा प्रचारप्रसार गर्नसमेत आवश्यक रहेको उनीहरुको बुझाइ छ । जुुस, वाइनजस्ता पेय पदार्थका रुपमा किवीलाई प्रशोधन गरेर बजारीकरण गर्नसके किसानको आयआर्जनमा वृद्धि हुनुका साथै मुलुककै अर्थतन्त्रमा सहयोग पुग्ने स्थानीय बताउँछन् ।
धेरै प्रजातिका फलफूलमा पाइने तत्वसँगै भिटामिन सि प्रचुर मात्रामा पाइने किवीको सेवनले मुटुलाई स्वस्थ राख्न, आँखाको ज्योति बढाउन, क्यान्सरबाट बचाउन र रगतलाई सफा राख्न मद्दत पुग्ने बताइन्छ । रासस

















चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रतिमतदाता रु २८४ खर्च
सूर्य नेपाल वेस्टर्न ओपन जारी, भुवन नगरकोटीलाई एक स्ट्रोकको अग्रता
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
प्रतिक्रिया