बिहीबार, माघ १५, २०८२

सिरहाको मिर्चैयामा तनाव, पाँच राउण्ड गोली चल्यो

मेरोन्यूज २०७९ पुष २४ गते १६:१३

काठमाडौँ । सिरहाको मिर्चैया ३ मा रहेको विद्यालयमा अध्ययनरत एकजना छात्राको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।

शुक्रबार विद्यालयमा हुँदा औषधि खाने क्रममा ‘स्प्रिट’ पिएर विरामी भएकी सगरमाथा उच्च माध्यामिक विद्यालयमा अध्ययनरत १६ वर्षे सृनजाकुमारी महराको उपचारको क्रममा निधन भएको थियो ।

शनिबार राति १२ बजे उपचारको क्रममा फूलबारी मेमोरियल अस्पतालमा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी हरिबहादुर वलीले जानकारी दिए । छात्राको मृत्यु भएपछि आक्रोशित विद्यार्थी र अभिभावकले विद्यालय तोडफोड गरेका छन् ।

आन्दोलनका क्रममा भिडले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरी नारावाजी समेत गरेका थिए । आक्रोशित आन्दोलनकारी अनियन्त्रित भएपछि भीडलाई तितरवितर बनाउन तीन सेल अश्रु ग्यास र पाच राउण्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी लालबाबु कबारीले जानकारी दिए ।

गत शुक्रबार सामान्य पेट दुखेपछि विद्यालयकी शिक्षिका अम्बिका लम्सालले औषधि खाने क्रममा पानीको सट्टा स्प्रिट पिलाउँदा छोरी बिरामी भएको बुबा धर्मेन्द्र महराले बताए । स्प्रिट पिएपछि बिरामी भएकी सृनजालाई उपचारको नगरी विद्यालयका प्रिन्सिपल प्रदीप तिवारीले घर पुर्याएकाले समयमै उपचार हुन नसकेको उनले बताए ।

“प्रिन्सिपल सरले थोरै स्प्रिट पिएकाले नसा लागेको र केहीबेर सुताएपछि निको हुन्छ भनेपछि हामीले विश्वास गर्यौं”, उनले भने, “अवस्था खराब हुँदै गएपछि अस्पताल पुर्यायौँ, तर ढिला भइसकेको रहेछ ।”

प्रतिक्रिया