शनिबार, चैत २८, २०८२

२५ औँ भूकम्प सुरक्षा दिवस कमलपोखरीमा मनाइने

मेरोन्यूज २०७९ पुष २७ गते १४:५४

काठमाडौं । यस वर्षको २५ औँ भूकम्प सुरक्षा दिवस कमलपोखरीमा मनाइने भएको छ । आगामी माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन काठमाडौँ महानगरपालिकामा आज भएको छलफलका क्रममा व्यवस्थापन उपसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

छलफलका क्रममा नगर उपप्रमुख सुनिता डङ्गोलले दिवसको अवसरमा सुरु हुने कार्यक्रमलाई महानगरले वर्षैभरि सञ्चालन गर्ने जनाउँदै विद्यालयको सुरक्षित भौतिक संरचनाका लागि विद्यालय स्तरमा गएर जानकारी दिइने बताएका छन् ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले मानिसले भूकम्प बिर्सिदै गएर भवन संहिता पालनामा पनि लापर्वाही गर्न थालेको स्मरण गराए ।

अनधिकृत संरचना आफैँ व्यवस्थापन गर्न सम्बन्धितका नाममा सार्वजनिक सूचना जारी गरिएको र अटेर गर्नेलाई कारवाही प्रक्रिया अगाडि बढाइने महानगरले जानकारी दिएको छ ।

यही पुस १८ गते भूकम्प सुरक्षा दिवस मूल समारोह समितिका संयोजक, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संयोजकत्वमा बसेको बैठकले कामपाको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गरेको थियो ।

त्यसैगरी सहरी विकास तथा भवन निर्माण विभागको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गर्ने निर्णय गरिएको थियो । बैठकले यस वर्षका लागि ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नारा तय गरेको छ ।

विसं १९९० माघ २ गतेको विनाशकारी भूकम्पले पु¥याएको क्षतिको सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ ।

विसं २०५५ देखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । भूकम्पलाई विज्ञानसँग जोडेर २०५७ सालसम्म विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरेको थियो । विसं २०५८ देखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरेर दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया