सोमबार, चैत ९, २०८२

तरकारीले उकास्यो जीवनस्तर, वार्षिक पाँच लाख रुपैयाँ आम्दानी

मेरोन्यूज २०७९ माघ ४ गते ७:३०

चौतारा । धन कमाउन विदेश जानु पर्दैन, यसको उदाहरण बनेका छन्, सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ जेठलका मकरबहादुर तामाङ । चार वर्ष साउदी बसेका तामाङले त्यहाँ बालुवामा तरकारी फलेको देखेपछि उत्साहित भएर गाउँ फर्की तरकारी खेती गरेको बताउँछन् ।

Advertisement
nepal life insurencenepal life insurence

छ महिना खान नपुग्ने उनको परिवारले अहिले तरकारी खेतीबाटै वार्षिक पाँच लाख रुपैयाँ आम्दानी लिन थालेको छ । यसका साथै तामाङले ३० जनालाई रोजगारीसमेत दिएका छन् ।

साउदीको अनुभव सुनाउँदै तामाङले भने, “बालुवामा पाँच फिट माटो राखेर तरकारी लगाउँदा हुँदोरहेछ ।” त्यहाँको तरकारी बजारमा काम गर्दाको अनुभवलाई यहाँ प्रयोग गर्दा राम्रो मुनाफा हात पार्न सफल भएको उनले बताए । सिलढुङ्गा तरकारी सङ्कलन तथा आलु बीउ भण्डारका अध्यक्षसमेत रहेका तामाङ गुनासो गर्दै भन्छन्, “सिँचाइका लागि सम्भावना भए पनि सम्बन्धित निकायमा माग गर्दा सुनुवाइ भएन ।”

तामाङ तरकारीमा रासायनिक मलको सट्टा जैविक विषादी बनाएर प्रयोग गर्छन् । रासायनिक मल प्रयोग गरेको तरकारीले दीर्घकालीन रोग बढाउने बुझेपछि उनले त्यसको बदलामा जैविक विषादी प्रयोग गर्न थालेका हुन् । अब त झारबाटै विषादी बनाएर तरकारीमा छर्कने गरेको छु । रासायनिक विषादी रोगको कारण भन्ने थाहा भएपछि यसको प्रयोग गर्न छाडेको तामाङले बताए ।

गत वर्षदेखि रासायनिक प्रयोग पूर्णरूपमा छाडेर जैविक विषादी प्रयोग गरेर तरकारी फलाइरहेको उनले बताए । गाउँघरमै पाइने तीतेपाती, उरेलुलगायतका विभिन्न झारपातबाट सजिलो तरिकाबाट विषादी बनाइरहेको उनको अनुभव छ । रासस

प्रतिक्रिया