सोमबार, चैत ३०, २०८२

साहित्य समिक्षा : वर्ष २०७९

साहित्यकार राष्ट्रपति र पाठ्यपुस्तकका जन्मदाता राष्ट्रिय विभूति घोषणा भएको वर्ष

श्याम रिमाल २०७९ चैत २९ गते २०:२०

काठमाडौं । राजनीतिक, आर्थिक, सामाजिक, न्यायिक विषयसँगै सांस्कृतिक-साहित्यिक विषय पनि यस वर्ष चर्चामा रहेको छ । राष्ट्रियस्तरमा मात्र होइन, अन्तराष्ट्रियस्तरमा पनि धेरै साहित्यिक-सांस्कृतिक गतिविधि भए । यसबाट हाम्रो संस्कृति, साहित्य, कला, संस्कृति, भाषालगायत पक्ष अझै मजबुत र स्थापित हुँदै गएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यसै वर्ष नेपाल प्रज्ञा–प्रतिष्ठान, सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र ललितकला प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीको पदावधि पूरा भई क्रमशः भूपाल राई, निशा शर्मा र नारदमणि हार्तम्छाली नेतृत्वको प्रज्ञा–प्रतिष्ठान गठन भए । तथापि यी नियुक्ति विवादरहित भने भएनन् । यसअघि झैँ प्रतिष्ठित भाषाविद्, साहित्यकार, कलाकार, सङ्गीतकर्मी आदि नसमेटिएको गुनासो यस पालि पनि रह्यो । त्यस्तै आजीवन सदस्यको मनोनयन र दोहोरो भत्तासम्बन्धी विवाद सतहमा आयो ।

संस्थाले यसै वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घरलाई देवकोटा सङ्ग्रहालयका रूपमा निर्माण पूरा ग¥यो । यसले नेपाली भाषाको शब्दकोश ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’ लगायत भाषासाहित्यका पुराना कृतिको परिमार्जनसहित पुनःप्रकाशन र नयाँ कृति प्रकाशनलाई निरन्तरता दियो । संवैधानिक अङ्गका रूपमा रहेको भाषा आयोगका अध्यक्षमा भोजपुरी भाषाका चर्चित व्यक्तित्व डा गोपाल ठाकुर तथा सदस्यमा डा अमर गिरी, डा पुष्करराज भट्ट, मातृका पोखरेल र गोपाल अश्कको मनोनयन पनि यसै वर्ष भयो ।

श्याम रिमाल

साहित्य क्षेत्रको कुरा गर्दा कृति प्रकाशन र विमोचन, पुस्तक चर्चा–परिचर्चा, प्रदर्शनी मजासँग भए । नेपाल प्रज्ञा–प्रतिष्ठान, साझा प्रकाशन र निजी क्षेत्रका प्रकाशकहरूको प्रकाशनले यस वर्ष पनि राम्रो चर्चा पाएका छन् । जनस्तरमा उठेको आग्रह, अनुरोध र दवावस्वरूप सवारी साधनमा इम्बोस्ड (उत्कीर्ण गरिएको) नम्बर राख्ने विषय बल्ल बल्ल स्वीकार्य भएको समाचार पनि आयो । यसलाई नेपाली भाषाको विजयका रूपमा लिइए पनि नेपाली भाषामा प्रयुक्त वर्णविन्याससम्बन्धी विवाद भने कायमै रहेको छ ।

एकै दिनजसो आयोजित आयामेली कवि वैरागी काइँला र चित्रकार । व्यङ्ग्यकार वात्सायनको नागरिक अभिनन्दन कार्यक्रम यस वर्षको वर्णन गर्नलायक कार्यक्रममध्येका हुन् । त्यस्तै नेपाली, मैथिली र हिन्दी भाषामा कलम चलाउने डा राजेन्द्र विमलको ७७ औँ जन्मोत्सव पनि उत्साहपूर्ण रूपले सम्पन्न भयो । यस घटनाले नेपाली समाज गुणग्राही रहेको तथा अग्रजप्रति सम्मान र कृतज्ञता ज्ञापन गर्न लालायित रहेको जनाउँछ । ती कार्यक्रमको साहित्यकार–कलाकारले मुक्तकण्ठले स्वागत गरेका छन् ।

साझा प्रकाशनले राष्ट्रकवि माधवप्रसाद घिमिरेकृत ‘ऋतम्भरा’ महाकाव्य प्रकाशन गर्नु नेपाली साहित्यमा चर्चित घटना भइदियो । धेरै गीत र खण्डकाव्य लेखेर पनि महाकाव्य नलेखिँदा आफैँलाई रिक्तता महसुस भएको बताउने घिमिरेको अन्तिम पुस्तकाकार सो कृति विश्वमा विज्ञान प्रविधिको विकासपछि अणुशक्ति उत्पादन र सञ्चय गरी अणुयुद्ध थालनी हुन लाग्दा मानव सभ्यता नै खतरातिर उन्मुख हुन थालेपछि विश्वलाई सही मार्गतिर केन्द्रित गर्ने प्रयत्नस्वरूप रचना गरिएको रचनाकारले आफ्नो भूमिकामा उल्लेख गरेका थिए ।

नेपालको एक मात्र आधिकारिक समाचार समिति ‘राष्ट्रिय समाचार समिति’ ९रासस० ले पनि आफ्नो ६२ औँ वार्षिकोत्सवका अवसरमा ‘रासस शैली पुस्तक’ र ‘रासस हिजो र आज : २०१८–२०७९’ प्रकाशन गरेर सञ्चारजगत्का लागि उपहार दिएको छ । शैली पुस्तक सबै सञ्चारमाध्यमको मानक तथा रासस इतिहास मिडियाकर्मीका लागि अध्ययनको विषय हुन सक्छ ।

गैरआख्यानमा राजनीतिज्ञ सूर्यबहादुर थापाको आत्मकथा ‘मेरा नौ दशकः पाँच व्यवस्था, पाँच राजा र पाँच पटक प्रधानमन्त्री’ आत्मकथाले निकै चर्चा पायो । त्यस्तै खिमलाल गौतमको सगरमाथाको मापन गर्दाका विषय सँगालिएको ‘पन्ध्रौँ चुली’, गोविन्द गिरी प्रेरणाको ‘सुश्री पारिजात’, उज्ज्वल प्रसाईँको साहित्यकार खगेन्द्र सङ्ग्रौलाको जीवनीसम्बन्धी ‘एक वागी’, रतन भण्डारीको ‘द्वारिकादेवी ठकुरानी’ को जीवनी, धर्तीचन्द्र यात्रीको ‘जङ्गलमा ३३ वर्ष’ मिडियामा धेरै कभर गरिए । मुटुरोगका वरिष्ठ चिकित्सक डा भगवान् कोइराला र डा अवनिभूषण उपाध्यायका क्रमशः ‘हृदय’ र ‘मुटुसँग सहयात्रा’ ले पनि बजार पिटे ।

कृति र कृतिकारको चर्चा, अन्तर्वार्ता आदि बाट गैरसाहित्यिक क्षेत्रका विज्ञ पनि लेखन क्षेत्रमा स्थापित हुन सक्ने स्पष्ट देखिएको छ । नेकपा (एमाले)का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा बौद्धिक विषयमा दिइएको मन्तव्य समेटी रत्न पुस्तक भण्डारले ‘केपी शर्मा ओलीका प्राज्ञिक सम्बोधन’ कृति प्रकाशनमा ल्याएर पाठकलाई बौद्धिक खुराक दिन खोजेको छ । यसबाट तत्कालीन समयको इतिहास र ज्ञानका विषयबाट पाठक लाभान्वित हुन सक्ने विश्वास गर्न सकिन्छ ।

हाल ‘फिरङ्गी’ लेखनमा लाग्नुभएका साहित्यकार प्रोल्लास सिन्धुलीयको पाँच वर्षको मेहनतस्वरूप यस वर्ष फागुनमा प्रकाशित ‘भग्न भैरव’ हास्यव्यङ्ग्यशिल्पी भैरव अर्यालको इतिवृत्तमा आधारित आख्यान हो जसको प्रकाशन बुक हिल पब्लिकेसन प्रालिले गरेको हो । यसलाई ‘जीवनी र आख्यानलाई एकसाथ प्रस्तुत गरिएको नवीन ढङ्गको …उपन्यास’ जिकिर गरिएको छ । आख्यानतर्फ सुविन भट्टराईको जनकपुरतिरको परिवेश समेटिएको ‘इजोरिया’ र बुद्धिसागरको ‘एक्लो’, विवेक ओझाको सशस्त्र युद्धका बेला पीडितको कथा बोकेको ‘ऐंठन’, सुरेश बडालको ‘मायाका मसिना अक्षर’, प्रवासमा रहेका शिवप्रकाशको ‘समभोक’ र तुलसी आचार्यको ‘स्वप्नभूमि’ उपन्यास पनि चर्चामा रहे ।

यस वर्षकै अन्तिम समयमा नेपालकै मातृभाषा मैथिलीमा मिथिला नाट्य परिषद्ले धर्मेन्द्र विह्वलको ‘शहरक भीडमे एसगर हम’ ९सहरको भिडमा एक्लो म० काव्यसङ्ग्रह प्रकाशनमा ल्याएको छ । पत्रकार झाको सो कृतिमा सहर शीर्षकका ५१ कविता समाविष्ट छन् । राससका अध्यक्षको यसै साल ‘व्योमक ओही पार’ (क्षितिज पारि) तान्कासङ्ग्रह पनि प्रकाशन भइसकेको छ । नेपाली तथा मैथिली भाषाका साहित्यकार धीरेन्द्र प्रेमर्षिको ‘कोन सुर सजावी’ (कुन सुर सजाऊँ) गीतसङ्ग्रह पनि यसै वर्ष प्रकाशन भई महाकवि विद्यापतिलगायतले बीउ रोपेको मैथिली साहित्यलाई प्रवद्र्धन गर्ने काम भएको छ । पत्रकार अमरेन्द्र यादवको ‘स्त्री आ आगि’ (स्त्री र आगो) कवितासङ्ग्रह प्रकाशन भयो जसले दुई वर्षअघि नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार जितेको थियो । महिलाहरूले भोग्नुपरेको शोषण र हिंसाका विषयवस्तु समेटिएका ४२ कविता त्यसमा समाविष्ट छन् ।

भोजपुरी भाषा, साहित्य तथा सङ्गीत क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनुभएका भाषा आयोगका अध्यक्ष डा ठाकुरको यसै वर्ष प्रकाशित ‘सहज भोजपुरी वर्तनी’ (सहज भोजपुरी वर्णविन्यास) र ‘भोजपुरी व्याकरण (जीवन्त मजबुनका साथे)’ र समालोचनात्मक–अनुसन्धानात्मक कृति ‘उत्पीडित मधेस आ भोजपुरी) ले नेपाली मातृभाषाका रुपमा रहेको भोजपुरी भाषा र साहित्यको प्रवद्र्धन गर्न निकै सहयोग पु¥याउने विश्वास गर्न सकिन्छ । यस्तै आयोगका सदस्य अश्कको ‘नेपाली भोजपुरी साहित्यको इतिहास’, प्रज्ञा–प्रतिष्ठान प्राज्ञसभा सदस्य उपेन्द्र सहनीको ‘मिसइल पिअवा’ (जँड्याहा पति) खण्डकाव्य र सुरेन्द्र गिरीको ‘कहाँ गइल ऊ दिन’ (कहाँ गए ती दिन) लघुकथासङ्ग्रह पनि सम्झनायोग्य भए ।

विजयकिशोर पाण्डेको भोजपुरी भाषामा प्रकाशित ‘सिमरौनगढके इतिहास’ ले त सङ्घीय सरकारले दिने क्षेत्रीय पुरस्कार नै हात पा¥यो । रामप्रसाद साहको भोजपुरी भाषाको ‘ए हिरामन सुगा’ र ‘रसगर वसन्त जवान’ (रसिलो वसन्त युवक) कवितासङ्ग्रह पनि यस वर्ष प्रकाशित भए । डा रेखा यादव निर्झरका ‘सुस्तरी’ (नेपाली) । ‘धीरे से’ (हिन्दी) अर्का कवितासङ्ग्रह हुन् जसमा मानव जीवन र प्रेमको खोजीका भाव प्रतिविम्बित छन् । आयोगका सदस्य अश्क नेपाली भाषासाहित्यको चर्चा गर्दा मातृभाषाका कृति र गतिविधि पनि आउनुपर्ने बताउनुहुन्छ । मिडियाले पनि नेपालका अन्य भाषाका कृतिमाथि समीक्षा गरिदिनुपर्ने उनले जोड दिए ।

साहित्यकार महेश पौड्याल विधागत रूपमा हेर्दा कवितालाई अलि पछाडि धकेल्दै आख्यान र यात्रा साहित्य ९नियात्रा० मा उछाल आएको तथा फेरि पनि उपन्यास र कथाको दबदबा बढेको बताए । “प्रकाशनका हिसाबले गजल पनि यस वर्ष कम देखियो । तर, मञ्चहरूका गजलको उपस्थिति बाक्लै देखियो । आत्मपरक निबन्ध र लेख्य–नाटकको फाँट भने निराशाजनक देखियो ”, उनको कथन छ ।

अनुवादक पौड्यालका अनुसार यस वर्ष विदेशमा बसेर साहित्य लेख्ने साहित्यकारको किताब निकै धेरै सङ्ख्यामा बाक्लिएको र विगतका तुलनामा तिनको गुणस्तर पनि बढेको छ । अनुवादका क्षेत्रमा यस वर्ष निकै ठूलो चासो देखिएको उनको अनुभव छ । देशभित्रै र बाहिर अन्तरराष्ट्रिय प्रकृतिका सभा–सम्मेलन बढी हुनु तथा लेखकहरूको भ्रमण बढेको हुँदा जहाँ गए पनि कुनै न कुनै अन्तरराष्ट्रिय भाषाको पुस्तक भइदिए सजिलो हुन्थ्यो भन्ने सोच पनि यसको कारण हुन सक्ने उनको भनाइ छ ।

यसै वर्ष एकातिर नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्री नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित (फागुन २५) भए । नेपाली राजनीतिमा बौद्धिक नेता भनेर चिनिने उनका राजनीति, नेपाली कांग्रेस, समाजवाद आदिसम्बन्धी दर्जनौँ कृति प्रकाशित छन् । नेपालको शैक्षिक, कूटनीतिक, प्रशासनिक, पत्रकारिता र भाषाका क्षेत्रमा योगदान पु¥याउने मानवतावादी जयपृथ्वीबहादुर सिंहलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले १८ औँ राष्ट्रिय विभूतिका रूपमा घोषणा गरेर स्तुत्य काम ग¥यो । उनको ‘अक्षराङ्क शिक्षा’ नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ जसमा देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाब समावेश गरिएका छन् । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०४ वर्षका उमेरमा भएको अवसान ९असोज ३०० बाट भने राष्ट्रले नै शोक खप्नुप¥यो ।

यसै वर्षको अन्तिमतिर कैलालीको धनगढीमा ‘नेपाली साहित्य महोत्सव’ (फागुन १९–२१) र ‘विश्व नेपाली नारी साहित्य महोत्सव’ (चैत १०–१३) तथा ‘टीकापुर साहित्य महोत्सव’ (चैत २५–२७), झापामा ‘साहित्य उत्सव’ (चैत २५) र इलाम साहित्य महोत्सव (चैत २६–२७) सम्पन्न भए । नेपाली लेखक सङ्घ, प्रलेस, साहित्य सन्ध्या, एपेक नेपाल, अन्तरराष्ट्रिय साहित्य समाज, विश्व नेपाली साहित्य महासङ्घलगायत राष्ट्रिय–अन्तरराष्ट्रिय सङ्घसंस्थाले भौतिक र जुम मिटिङबाट आफ्ना साहित्यिक गतिविधिलाई अगाडि बढाए । यस वर्ष बालसाहित्यसम्बन्धी सम्मेलन पनि भई नेपाली साहित्यका सबै क्षेत्र जागरुक भएको देखिएको छ ।

नेपाली र विदेशी साहित्यमा बढी अध्ययनशील भनी चिनिनुभएका उदय अधिकारी (चितवन) ले नेपाली साहित्य सम्बन्धमा यस वर्ष धेरै जात्रा, भेला, महोत्सव भएको बताउँदै क्षेत्रीय, स्थानीय रूपमा गठन भएका प्रज्ञा–प्रतिष्ठानको पनि यसमा भूमिका रहेको स्पष्ट गरे । “ प्रकाशनगृहहरूले पुरानाका साथै नयाँ लेखक–साहित्यकारका कृति प्राथमिकता दिएर प्रकाशन गरिदिए । यस वर्ष संस्मरण र आख्यान बढी नै आयो । जे होस्, सोचेको भन्दा बढी नै पुस्तक आयो र गतिविधि पनि भए ”, अङ्ग्रेजी साहित्यका सहप्राध्यापक (अवकाशप्राप्त) अधिकारीले भने । साहित्यिक सङ्गठनहरूमा पनि क्रियाशील साहित्यकार पौड्यालले पनि साहित्यिक उत्सव-महोत्सवको सङ्ख्या बढ्नामा स्थानीय सरकारले साहित्यलाई अलि अलि सहयोग गर्न थालेकाले भएको विचार व्यक्त गरे । “स्थापित भनिएका लेखकहरूका पुस्तकले निरास तुल्याए यस साल । बरू युवा र नवप्रवेशीहरूले राम्रो छाप छोडे”, उनले स्पष्ट नै भने ।

(राससबाट)

प्रतिक्रिया