बुधबार, पुष ९, २०८२

राष्ट्रपतिले उपचार खर्च आफ्नै खल्तीबाट व्यर्होछु भन्नुहोस् : गगन थापा

मेरोन्यूज २०८० वैशाख १८ गते १८:२३

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपति रामचन्द्र पौडेलले उपचार खर्च आफैँले व्यहोर्नु पर्ने बताएका छन् ।

सोमबार नेपाल ट्रेड युनियन कांग्रेसले १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आयोजना गरेको सम्बोधन गर्दै महामन्त्री थापाले राष्ट्रपति पौडेल आफैँले आफ्नो उपचार खर्च व्यहोर्नु पर्ने बताएका हुन् ।

भारतबाट उपचार गरेर आइतबार स्वदेश फर्किएका राष्ट्रपति पौडेलले उपचार खर्च राज्यकोषबाट नभई आफ्नै खल्तीबाट व्यहोर्नु पर्ने उनको भनाइ थियो । उनले राष्ट्रपति पौडेललाई उपचार खर्च आफैँ व्यहोर्छु भनेर सार्वजनिक गर्न आग्रह गरे ।

‘हामीले संसदबाट एउटा कानून बनायौँ, गणतन्त्र भनेको दुई खालको नागरिकहरु हुँदैन भन्यौँ, सबै समान हुन्छ भन्यौँ, त्यसैले गणतन्त्र नेपालमा हेर्दा सानो कुरा देखिन्छ, नेपालको राष्ट्रध्यक्ष, राष्ट्रपति, प्रधानमन्त्री वा ठूलो मान्छे भनौँ न अस्वस्थ भयो, बिरामी भयो भने उसको उपचार राज्यको कोषबाट, जनताले तिरेको करबाट बाहिर लगेर हामीले उपचार गर्ने, अनि उसको उपचार खर्च जनताले व्यहोर्नुपर्ने,’ उनले भने, ‘तर, नागरिक चाहिँ अस्पतालमा उपचार गर्दा गर्दै उपचारको पैसा तिर्न नसकेर हाम्फाल्नु पर्ने, बन्धक बन्नुपर्ने यो गलत ।’

‘राष्ट्रपति बिरामी हुँदै गर्दा पनि उपचारको खर्च राष्ट्रपतिले आफ्नो खल्तीबाट व्यहोर्नु पर्छ, म बेहोर्छु भनेर हाम्रो राष्ट्रपति बाहिर आइदिनुस् त, त्यसले राष्ट्रपतिको सम्मान कहाँ पुर्‍याउँछ ? त्यसले राष्ट्रपतिको विश्वास कहाँ पुर्‍याउँछ ?’ उनले थपे ।

महामन्त्री थापाले गणतन्त्रमा राज्यका उच्च पदस्थ व्यक्तिहरुले राज्यकोषबाट उपचार गर्ने र आम नागरिकले भने आफैँ उपचार गर्नु पर्ने विभेद हुन नहुने बताए ।

उनले आगामी आर्थिक वर्षको बजेट बन्दै गरेको भन्दै बजेटमा श्रमिकको न्युनतम ज्याला पुनरावलोकनको माग राख्न ट्रेड युनियनकर्मीलाई आग्रह गरे ।

प्रतिक्रिया