दार्चुला हिमपहिरोमा बेपत्ता भएकाको पहिचान खुल्यो, लगातारको हिमपातले उद्धारमा कठिनाइ

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका–१ बोलिङ्गमा हिमपहिरोमा परी बेपत्ता भएका पाँच यार्सागुम्बा सङ्कलकको पहिचान खुलेको छ । बेपत्ता भएका चार महिला र एक पुरुषको पहिचान खुलेको हो ।
सशस्त्र प्रहरी बल नेपाल, नम्बर ५० गुल्म छाङरुका प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टका अनुसार बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिकाका ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रविण कुँवर रहेका छन् । दुवैजना आमाछोरा हुन् । यस्तै डोटीको जोरायल गाउँपालिकाका ४५ वर्षीया नक्नी डोल्मा थापा, २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमी सोमो थापा समेत हिमपहिरोमा बेपत्ता भएका छन् ।
गए रातिदेखिको लागातारको वर्षा तथा हिमपातका कारण बेपत्ताको उद्धारमा कठिनाइ भएको डिएसपी भट्टले बताए । ‘रातिदेखि वर्षा र हिमपात एकसाथ भइरहेको छ, उद्धारका लागि लेकतर्फ उक्लिन सकिरहेका छैनौँ,’ उनले भने, ‘हिमपात रोकिएपछि घट्नास्थलमा जाने तयारीमा छौँ ।’
मंगलबार दिउँसो हिमपहिरो जाँदा यार्सागुम्बा संकलक बस्दै आएका त्रिपाल हिउँले पुरिएका थिए । केही व्यक्तिले भागेर ज्यान जोगाएका थिए । डिएसपी भट्टको नेतृत्वमा सशस्त्र प्रहरीको २५ जनाको टोली मंगलबार साँझ घट्नास्थलमा पुगेको थियो । वर्षा र हिमपातका कारण उद्धारमा कठिनाई भएपछि सो टोली गए राति छाङरुस्थित गुल्ममा फर्किएको थियो ।
‘घटनास्थल वरपर बाक्लो हिमपात भएकाले बस्नै सकिएन, राति अँध्यारोमा हिउँ पन्छाउन सकिने अवस्था थिएन,’ डिएसपी भट्टले भने । हिमपहिरोबाट जोगिएका २० जना यार्सागुम्बा संकलकलाई आफूसँगै सुरक्षित स्थानमा ल्याएर राखिएको उनले बताए ।
वर्षा र हिमपातका कारण यार्सागुम्बा संकलन प्रभावित बनेको छ । संकलक केही दिनयता त्रिपालमुनि बस्दै आएका थिए । उनीहरू यार्सागुम्बा सङ्कलन गर्नका लागि हिउँ पग्लिने पर्खाइमा थिए । यार्सागुम्बा संकलन गर्न दार्चुलाबाहेक अन्य जिल्लाबाट पनि सर्वसाधारण सो क्षेत्रमा पुगेका थिए । (रासस)
















वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्छ : उपराष्ट्रपति यादव
नेप्सेमा दोहोरो अंकको गिरावट
President Paudel addresses joint session of Federal Parliament
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै
विचारः सूचनाको हक कानुनको कार्यान्वयन सरकारको प्राथमिकता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया