मंगलबार, माघ २०, २०८२

बचतकर्ताको रकम फिर्ता नगर्ने नगरप्रमुख नेपालीसहित सहकारीका सञ्चालकलाई यात्रा अनुमतिमा रोक

मेरोन्यूज २०८० जेठ ८ गते १२:३६

काठमाडौँ । बचतकर्ताको रकम फिर्ता नगर्ने ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई अध्यागमन विभागले यात्रा अनुमतिमा रोक लगाएको छ । बागलुङको इमेज सहकारी संस्थाका संस्थापक अध्यक्ष नेपालीले बचतकर्ताको रकम फिर्ता नगरेको आरोप लगाएर बचतकर्ताले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

गृह मन्त्रालयले अध्यागमन विभागलाई संस्थापक अध्यक्ष नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन, सञ्चालक चित्रबहादुर भण्डारी, सदस्य रुपा विक र झगबहादुर शाहीको यात्रा अनुमति रद्द गर्न निर्देशन दिएको थियो ।

गृहको निर्देशन अनुसार उनीहरुलाई कालो सूचीमा राखिसकिएको अध्यागमन विभाग जनाएको छ । कालो सूचीमा परेकाहरू इमिग्रेसन पार गरेर जान नसक्ने अध्यागमन विभागले जनाएको छ ।

नगरप्रमुख नेपालीसहितका पदाधिकारी सम्पर्कवीहिन बनेका छन् ।

ढोरपाटन नगरपालिका वडा नम्बर १, बागलुङ नगरपालिका–२ र पोखरा–७ सिर्जनाचोकमा कार्यालय रहेको सहकारीका बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नपाएको भन्दै प्रहरीमा र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । जेठ ५ गते उपाध्यक्ष डोरबहादुर परियारलाई कार्यवाहकको पत्र दिएर नेपाली सम्पर्कविहीन भएको स्थानीयहरू बताउँछन् ।

नेपाली विदेश जान सक्ने सम्भावना रहेकाले गृहले पत्राचार गरेर यात्रा रोक्न निर्देशन जारी भएको बागलुङ जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सहकारीले १ अर्बभन्दा धेरै रकम भुक्तानी गर्न बाँकी रहेको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।

नेपालीसहित, श्रीमती छेला नेपाली, अहिलेका सञ्चालक र व्यवस्थापकसहित भूमि व्यवस्थापन तथा अभिलेख विभागमा सम्पति रोक्का गर्न पठाइएको छ । भूमि व्यवस्थापन विभागले सबै मालपोत कार्यालयलाई पत्राचार गरेको बताइएको छ ।

प्रतिक्रिया