सोमबार, मंसिर १५, २०८२

गुजरातलाई पराजित गर्दै चेन्नाई आईपीएलको फाइनलमा

मेरोन्यूज २०८० जेठ १० गते ६:२८

काठमाडौँ । गुजरात टाइटन्सलाई १५ रनले पराजित चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ । गयराति भएको आईपीएलको पहिलो क्वालीफायरमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाईले फाइनलमा स्थान पक्का गरेको हो ।

चेन्नाईसँग पराजित भएको डिफेन्डिङ च्याम्पियन गुजरात टाइटन्सलाई फाइनल पुग्न भने अझैं एक मौका रहने छ ।

एलिमिनेटर राउन्डमा मुम्बई र लखनऊ भिड्दै छन् । मुम्बई र लखनऊको विजतासँग गुजरातले फाइनल प्रवेशका लागि फेरि एक पटक प्रतिस्पर्धा गर्ने छ ।

पहिला ब्याटिङ गरेको चेन्नाईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको गुजरातले निर्धारित ओभरमा सवै विकेट गुमाएर १५७ रन बनायो ।

चेन्नाइका लागि लागि ऋतुराज गायकवाडले ६०, डेभोन कोनवेले ४०, रविन्द्र जडेजाले २२ तथा अजिंक्या रहाणे र अम्बाती रायडूले १७, १७ रन बनाए ।

गुजरातका मोहम्मद सामी र मोहित शर्माले दुई दुई विकेट लिए ।

१७३ रनको लक्ष्य पछ्याएको गुजरातका लागि ऋद्धिमान साहले १२, शुभमन गिलले ४२, रासिद खानले ३०, दासुन सनका १७ तथा भिजय शंकरले १४ रन जोडे ।

चेन्नाईका लागि दीपक चहार, मथिसा पथरिना, महेश तिक्षणा र रविन्द्र जडेजाले दुई दुई विकेट लिए ।

चेन्नाई आईपीएलका चार पटकको च्याम्पियन टिम हो ।

प्रतिक्रिया