मंगलबार, माघ २०, २०८२

नक्कली शरणार्थी प्रकरणका आरोपीविरुद्ध सरकारी वकिलले के के पेस गर्‍यो प्रमाण ?

मेरोन्यूज २०८० जेठ ११ गते ८:१३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका १६ पक्राउ परेका र १४ फरारविरुद्ध सरकारी वकिलको कार्यालय काठमाडौँले बुधबार जिल्ला अदालतमा अभियोजन पत्र दायर गरेको छ । अभियोजन पत्र दायर गर्दा सरकारी वकिलले आरोपीहरू यस प्रकरणमा संलग्न रहेका विभिन्न प्रमाण पेस गरेको छ ।

प्रहरीले ६० दिन लगाएर गरेको अनुसन्धानमा प्राप्त प्रमाणलाई सरकारी वकिलले प्रमाणका रुपमा अभियोजन पेस गर्दा पेस गरेको हो ।

मिसिलका रूपमा सरकारी वकिल कार्यालयले प्रतिवादीहरूको खातामा रकम जम्मा गरिएको भौचरको प्रतिलिपीहरूलाई मुख्य प्रमाण भनेर देखाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले २८ करोड ८१ लाख रूपैयाँ विगो दाबी अभियोजन पत्रमा गरेको छ ।

ठगी, संगठित अपराध, किर्ते, राज्यविरुद्धको अपराधमा दायर अभियोजनमा
प्रतिवादी बालकृष्ण खाँणको कोठा खानतलासी गर्दा बरामद भएको खैरो रंगको नोटबुक १ थान, कालो रंगको डायरी ३ थान, सम्पत्ति विवरण पाना ३८ थान, च्यातिएर तीन टुक्रा पारिएको कागज जोड्दा नरेन्द्र जीसमेत भनी लेखिएको कागजको टुक्रालाई प्रमाणका रूपमा पेस गरिएको छ ।

नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबबाट प्राप्त परीक्षण प्रतिवेदन, प्रतिवादी सन्देश शर्माले जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीको नाममा काटिएको ५ थान सक्कल चेक पनि प्रमाणका रुपमा पेस गरिएका छन् ।

सानु भण्डारीको घरबाट बरामद भई आएको नबिल बैंक लेखिएको र भित्र विभिन्न पानामा भुटानी शरणार्थीसम्बन्धीको रकम विवरण लेखिएको १ थान डायरी, इन्द्रजित राईले ७ लाख ५० हजार रूपैयाँ राजश्व दाखिला गरेको भौचर, ५० लाख र १ लाख ९३ हजार रूपैयाँको मेगा बैंकको किरात इन्टरनेशनल प्रालिको नामको बैंक खातामा निरज राई र इन्द्रजित राईले जम्मा गरेको भौचर पनि पेस गरिएको छ ।

इन्द्रजित राईको कोठाबाट बरामद भएको सुमिरा कार्कीको नाममा जारी भएको सक्कल जग्गाधनी पुर्जा १ थान, बैना गरेको सक्कल कागज १ थान, मेगा बैंकको इन्द्रजित राईको नाममा रकम जम्मा गरिदिएको विभिन्न मितिको सक्कल भौचर ६ पाना, सानु भण्डारीको कोठाबाट बरामद भएको २०१६ नबिल बैंक लेखिएको डायरी १ थानलाई प्रमाणको रूपमा पेस गरिएको छ ।

प्रतिवादीहरूबाट बरामद भएको मोबाइलहरू तथा देख्ने, सुन्ने बुझिएका मानिसहरूको बयान कागज, जाहेरवालाहरूले दिएको जाहेरी, विभिन्न बैंकहरूबाट माग गरिएको पत्रसहितका कागजातहरू, प्रतिवादीहरूले गरेको बयान कागजलाई मुख्य दसी तथा प्रमाणको रूपमा अभियोगपत्रसहित पेस गरिएको छ ।

प्रतिक्रिया