मंगलबार, माघ २०, २०८२

नक्कली भुटानी शरणाथी प्रकरण

तीन पूर्वमहान्यायाधीवक्ता, बार अध्यक्षसहितले खाणको प्रतिरक्षा गर्दै

मेरोन्यूज २०८० जेठ २९ गते १०:३९

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा आज पनि थुनछेक बहस जारी रहने भएको छ ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भइरहेको थुनछेकबारे आज आरोपितहरू नरेन्द्र केसी, शमशेर मियाँ, गोविन्द चौधरी र लक्ष्मी महर्जनको प्रतिरक्षा बहस हुनेछ । उनीहरूको बहस आइतबार नै हुने तय भए पनि प्रतिरक्षा गर्ने वकिलहरू नभएका कारण बहस हुन सकेको थिएन ।उनीहरूको पक्षको बहस सकिएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा थुनछेक बहस हुनेछ ।

खाणको पक्षबाट तीन पूर्वमहान्यायाधीवक्ता, नेपाल बार एसोसिएसनका अध्यक्ष र दुई पुर्वअध्यक्षसहितका वरिष्ठ अधिवक्ताहरूले बहस गर्नेछन् ।

खाणको पक्षबाट पूर्वमहान्यायाधीवक्ताहरू खम्मबहादुर खाती, रमणकुमार श्रेष्ठ र महादेवप्रसाद यादवले बहस गर्नेछन् । त्यस्तै बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले पनि बहस गर्नेछन् ।

बारका दुई पूर्वअध्यक्षहरू प्रेमबहादुर खड्का र शेरबहादुर केसी, सर्वोच्च बारका पूर्वअध्यक्ष हरिहर दाहाल, डेमोक्रयाटिक लयर्स एसोसिएसनका अध्यक्ष योगेन्द्र अधिकारी, सुरेन्द्र महतोलगायतका वरिष्ठ अधिवक्ताहरूले बहस गर्ने तय भएको छ ।

२७ बैशाखमा चावहिल मैजुवहालस्थित निवासबाट खाणलाई शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ गरेको थियो । पोलि पोलाउ बयानका आधारमा प्रहरीले खाणलाई पक्राउ गरेको थियो । तर, अनुसन्धान गर्दा बैँक खातामा पैसा, कसैले नगदी बुझाएको प्रमाण प्रहरीले फेला पार्न नसकेको खाणका तर्फबाट बहस गर्न तयारी गरिरहेकाहरुको जिकिर छ । खाणका आफन्तहरुले पनि पूर्व गृहमन्त्री खाणलाई प्रहरीले जे आरोपमा पक्राउ गरेको थियो, त्यो अनुसारको प्रमाण अनुसनधानका क्रममा देखाउन र जुटाउन नसकेको बताउँदै आएका छन् ।

म्यासेज र सामाजिक सञ्जालमा पनि प्रकरणबारे खाणको प्रमाण भेटिएन । प्रहरीले उनको मोवाइलको डाटा रिकभरका लागि प्रहरी ल्यावमा पठाए पनि कुनै प्रमाण रिस्टोर नभएको प्रहरीले बताएको छ ।

उनको विरुद्ध कुनै पनि जाहेरीकर्ताले किटानी जाहेरी दिएका छैनन् । प्रहरी, सरकारी वकिल र जिल्ला अदालतमा भएको बयानमा पनि कसैले खाणको नाम नपोलेका अभियोजन अनुसन्धान गर्दा देखिन्छ ।

खाणको मात्रै होइन हज समितिका अध्यक्ष मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालको पनि प्रमाण फेला पार्न प्रहरीले सकेन । खाण गृहमन्त्री हुँदा नीजिसचिव रहेका केसीको पनि ठोस प्रमाण फेला नपरेको प्रहरी बताउँछ ।

प्रतिक्रिया