मंगलबार, माघ २०, २०८२

वानएक्स बेट प्रकरण

पक्राउ परेका कलाकारलाई जुवा, राष्ट्रबैंक र सम्पत्ति शुद्धिकरण ऐन अन्तर्गत मुद्दा चलाइने

मेरोन्यूज २०८० असार १ गते ७:२४

काठमाडौँ । प्रहरीले वानएक्स बेटको प्रचार गरेबापत पक्राउ परेका कलाकारहरूलाई जुवा ऐन, सम्पत्ति शुद्धिकरण ऐन र राष्ट्रबैंक ऐन अन्गर्तत मुद्धा चलाउने भएको छ ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. मनोज केसीले प्रतिबन्धित जुवा खेलाउन प्रचार गरी चर्को कमिसन लिएको आरोप लागेका कलाकारहरूमा तीन मुद्दा आकर्षित हुने जानकारी दिए ।

प्रहरीले बेटिङको प्रचार गरेको आरोपमा बिहीबार गोरखा घर भई बनस्थली बस्ने ३५ वर्षीय हास्य कलाकार ‘बल्छी ध्रुबे’ मरिचमान श्रेष्ठ, धनकुटा घर भई भक्तपुर बस्ने २८ वर्षीय ‘म्याकुरी’ पवन खतिवडा, पोखरा घर भई नयाँबजार बस्ने ‘राजुमास्टर’ राजु पौडेल र उदयपुर घर भई ललितपुरको टिकाथली बस्ने युट्युबर एलिश राईलाई पक्राउ गरेको थियो ।

प्रहरीले बिहीबारै रोल्पा घर भई कीर्तिपुर बस्ने २४ वर्षीय युट्युबर जलन घर्तीमगर, मुगु घर भई टिकाथली बस्ने युट्युबर गणेश देवकोटा, मोरङ घर भई भक्तपुर ठिमी बस्ने २५ वर्षीय सरोज घिमिरे ‘ढेडु बुढो’ र प्युठान घर भई कलंकी बस्ने भटभटे माइला भन्ने बेगम नेपालीलाई पक्राउ गरेको थियो ।

प्रतिबन्धित वानएक्स बेटिङ गर्न प्रचार गरेको आरोप लागेका उनीहरूलाई प्रहरीले बिहीबारै काठमाडौँ जिल्ला अदालतबाट ३ दिनसम्म थुनामा राखेर अनुसन्धान गर्ने अनुमति लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।

लामो अनुसन्धानपछि समाजमा बेटिङ खेलाउनमा एजेन्टहरूको मात्रै नभएर प्रचारप्रसार गर्नेहरूको पनि उत्तिकै संलग्नता हुने गरेको भन्दै कलाकारहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूमाथि विस्तृत अनुसन्धान अघि बढाएको बताएको छ। प्रचार गर्ने कलाकारहरूलाई जुवा खेल्न र खेलाउन नहुने कसुर, राष्ट्र बैंक ऐन, सम्पत्ति शुद्धीकरणको कसुरहरू आकर्षित हुने प्रहरीले जनाएको छ।

कालकार र युटुबरहरूले प्रचार गरेवापत ४० लाखसम्म लिएको खुलेको प्रहरीले जनाएको छ । प्रमुख एसएसपी केसीले कलाकारहरूले रकम भ्युज, सब्सक्राइबर अनुसार ५ लाखदेखि ४० लाखसम्म लिएको प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिए ।

‘उनीहरूलाई यहाँ लोकल एजेन्टहरूले विभिन्न माध्यमबाट सम्पर्क गर्ने गर्दा रहेछन्। त्यसपछि प्रचार गरिदिएबापत पैसा पठाइदिँदा रहेछन्,’ एसएसपी केसीले भने, ‘कतिपयको सिधै खातामा आउने पनि देखियो, कतिपयलाई एजेन्टले दिने रहेछन्।’

वानएक्स बेटले छोटो समयमा छिटो प्रभाव पार्न कलाकार र धेरै सब्सक्राइबर भएका सेलिब्रिटी छानेको प्रहरी बताउँछ।

आफ्नो युट्युब भिडिओमा प्रोमो कोडको प्रयोग गरी बेटिङ गर्न प्रचार गर्थे। उनीहरूको प्रोमो कोडको प्रयोग गरे छुट हुने बताएर बेटिङको प्रोत्साहन गरेको पाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया