शनिबार, वैशाख ५, २०८३

३६ दिनमा सकियो निश्चलको ‘दिमाग खराब’को छायांकन

मेरोन्यूज २०८० असार १२ गते १७:२५

काठमाडौं । निर्देशक निश्चल बस्नेतले ३६ दिनमा फिल्म ‘दिमाग खराब’को छायांकन पूरा गरेका छन् । सोमबार काठमाडौंको पिंगलास्थानस्थित नेपाल फिल्म क्याम्पसमा फिल्मको अन्तिम सिन खिचिएको हो ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

सेड्युल (४० दिन) भन्दा ४ दिन अगावै ‘प्याकअप’ भएको फिल्मको काभ्रेको पाँचखाल क्षेत्र र काठमाडौंको विभिन्न स्थानमा छायांकन गरिएको छ ।

फिल्ममा मुख्य अभिनेत्री रहेकी स्वस्तिमा खड्काले फेसबुकमा फोटो सेयर गर्दै लेखेकी छन् ‘इन्ड कल्याप दिमाग खराब । फिल्म हलमा हेर्नको लागि अधैर्य छु । यसको लागि यो टिमलाई धन्यवाद,’

जनता र शक्तिको कथामा बनेको फिल्म आगामी कात्तिक २४ गते प्रदर्शन हुँदैछ । ६ वर्षपछि निर्देशनमा फर्किएका निश्चलको कमब्याक फिल्म भएकाले पनि दर्शकमा अपेक्षा उच्च छ ।

फिल्ममा स्वस्तिमाका अलावा खगेन्द्र लामिछाने, दयाहाङ राई, अर्पण थापा र विजय बरालको मुख्य भूमिका रहेको छ । स्वस्तिमाले पहिलो पटक श्रीमान् निश्चल बस्नेतको निर्देशनमा फिल्ममा काम गरेकी हुन् । उनीहरुले यसअघि आधा दर्जनभन्दा बढी म्यूजिक भिडियोसँगै फिल्म ‘घामड शेरे’मा एकसाथ अभिनय गरेका थिए ।

ब्ल्याक हर्स पिक्चर्स र सिनेमा आर्टस्को ब्यानरमा निर्माण हुने फिल्ममा निमेष श्रेष्ठको सम्पादन, सुशन प्रजापतिको छायांकन, जयन के वाइवा र कालीप्रसाद बाँस्कोटाको संगीत रहनेछ । फिल्मको निर्मातामा रौनक विक्रम कँडेल र कार्यकारी निर्मातामा सुरज बम ठकुरी छन् ।

निश्चलले यसअघि लुट, टलकजंग भर्सेस टुल्के र लुट २ निर्देशन गरिसकेका छन् । उनले आफ्नो दोस्रो फिल्म ‘टलकजंग भर्सेस टुल्के’ रिलिज लगत्तै ‘दिमाग खराब’ निर्माणको घोषणा गरेका थिए ।

प्रतिक्रिया