प्रहरीको मिलेमतोमा मारुती सिमेण्टका सञ्चालकलाई उन्मुक्ति

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सप्तरी र जिल्ला सरकारी वकिलको कार्यालय सप्तरीले मारुती सिमेण्टका सञ्चालकलाई मिलेमतोमा उन्मुक्ति दिएको छ ।
घर बनाउँदा प्रयोग गरेको मारुती सिमेण्टका कारण ढलान नै भत्किएको भन्दै सप्तरीको राजविराज ४ का दिवाकर कुमार साहले ठगी तथा आपराधिक विश्वास घात मुद्दामा प्रहरी र सरकारी वकिलको कार्यालयले उन्मुक्ति दिएको हो ।
साहले मारुती सिमेण्टका सञ्चालकसहित डिलर र बिक्रेतासमेत ८ जनालाई प्रतिवादी बनाएर दर्ता गराएको मुद्दा १५ दिनमै मिलाइएको हो । स्रोतका अनुसार दिवाकरको जाहेरीले नेपाल सरकार वादी भएको यस मुद्दामा मारूती सिमेण्टका प्रमुख सञ्चालक नन्दकिशोर राठी, प्रबन्ध निर्देशक उनका छोरा अनुप, उद्योगका प्रतिनिधि लक्ष्मीप्रसाद सिवाकोटी, व्यपार निर्देशक ज्योति जोशी, डिलर सञ्जय साह, सिमेन्ट बिक्री गर्ने नरेश साह, अजयकुमार साहविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।
साथै, उनीहरूविरूद्ध असार ११ गते नै पुर्जी जारी भएको भए पनि पक्राउ परेका ज्योती जोशीलाई मिलेमतोमा छाडिएको छ । असार १४ गते राति ज्योति जोशीलाई विराटनगरबाट पक्राउ गरेर सप्तरी लगिएको थियो ।
पक्राउ परेका जोशीलाई अनुसन्धानका लागि जिल्ला अदालत सप्तरीबाट पाँच दिनको म्याद लिइएको थियो । त्यसपछि पुनः सात दिनको म्याद लिइएको थियो । जिल्ला अदालत राजविराजले प्रहरीलाई अनुसन्धानका लागि दिएको सात दिनको म्याद सकिन दुई दिन बाँकी छँदै जोशीको मुद्दा फिर्ता लिइएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले व्यापारिक घरानालाई मुद्दा नचलाई छाडेपछि उनले आर्थिक लाभ लिएको हुन सक्ने शंका गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले जोशीलाई हाजिर जमानीमा छाड्ने सहमति दिएपछि उनी छुटेका थिए ।
सरकारी वकिलको कार्यालयका प्रमुख (जिल्ला न्यायाधिवक्ता) गोकुल बहादुर निरौलाको हस्ताक्षरित पत्रमा भनिएको छ, ‘निजलाई हाजिर जमानीमा छाडेको सक्कलै कागज मिसिल संलग्न राख्नुहुन र सहमति माग भएको पत्रमा उल्लेखित थप बाँकी अनुसन्धानको कार्य गर्न गराउनसमेत निर्देशन गरिन्छ ।’
दिवाकर कुमार साहको जाहेरीले वादी नेपला सरकार प्रतिवादी ज्योती जोशीसमेत भएको ठगी तथा आपराधिक विश्वास घात मुद्दामा कार्यालयको चनं ९५३१ मिति २०८० असार २६ गतेको माथवर व्यक्तिको जिम्मामा छाड्न सहमति दिने विषयको पत्रसहितको सक्कल मिसिल जिल्ला प्रहरी कार्यालयबाट प्राप्त भएपछि जिल्ला सरकारी वकिलको कार्यालयले जोशीलाई छाड्न आदेश गरेको स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयले अनुसन्धान प्रक्रियामा रहेको मुद्दाका वादी दिवाकर कुमार साह र प्रतिवादीमा राजदेवी हार्डवेयरको तर्फबाट रूपक कुमार सिंह, मारुती सिमेण्ट उद्योगको तर्फबाट ज्योति जोशीबीच ठगी तथा आपराधिक विश्वासघात मुद्दाको सम्बन्धमा दुवै पक्षबीच क्षतीपूर्ति पाई सहमति भएको थियो । दिवाकर कुमार साहले २५ लाख क्षतिपूर्ति पाएको उल्लेख गरिएको छ ।
प्रहरीले भने मधुमेहका रोगी जोशीलाई हाजिर जमानी छाड्न सरकारी वकिल कार्यालयले आदेश दिएका कारण छाडेको जनाएको छ । उनलाई थुनामा राख्दा स्वास्थ्यमा प्रतिकूल समस्या भई ज्यानै खतरामा हुन सक्ने हुँदा उनका आफन्त आशिष जोशीको जिम्मामा खोजेको बखत हाजिर हुने गरी छाड्नका लागि सहमति प्रदान गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई बुधबार पत्र पठाएको थियो ।
सिरहाको सिमेण्ट उत्पादन गर्ने मारुतीको उद्योग रहेको छ । त्यसका अध्यक्ष नन्दकिशोर राठी हुन् । यो उद्योगले उत्पादन गर्ने ५३ ग्रेट ओपीसी सिमेण्टलाई नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ७२७ प्रमाणित गरिदिएको छ । आफूले उत्पादन गरेको सिमेण्ट यस्तो प्रमाण पाउने नेपालकै पहिलो सिमेण्ट भएको सो उद्योगले दाबी गरे पनि गुणस्तरहीन समाग्री बजारमा पठाएको छ ।
गुणस्तरहीन सिमण्ट उत्पादन गरेको भन्दै धेरै पटक मारुती सिमेण्ट बारम्बार कारबाहीमा परिरहेको छ । तर, कारबाही भोग्दा पनि मारुतीको गुणस्तर नसुधारेको पाइएको छ । लोभ र लाभ दिएर केस सल्टाउँदै आएको पाइएको छ ।
मारुतीले कम गुणस्तरको सिमेण्ट उत्पादन तथा बिक्री गरेको भन्दै गत मङ्सिर पहिलो साता नेपाल गुणस्तर तथा नापतौल विभागले कारबाही गरेको थियो ।
त्यसको साढे दुई महिनापछि माघ १२ गते सोही कम्पनीविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिमेण्ट सञ्चालक शरद गोयलविरुद्ध २० करोड ५० लाख ६५ हजार रूपैयाँ बिगोसहित मुद्दा दर्ता गर्यो । तर त्यसमा अझै कारवाही भएको छैन ।
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
प्रतिक्रिया