यी विषयमा देखियो माधव नेपाल र झलनाथ खनालका बीचमा विमति
नेपालको राजनीतिक प्रतिवेदनमा खनालको ३ बुँदे असहमति, महाधिवेशनसम्म ठीक निष्कर्षमा नपुगे पार्टी नबन्ने चेतावनी

काठमाडौं । नेकपा एमालेसँग दुई वर्ष अघि विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालका बीचमा वैचारिक मतभेद देखिएको छ । आगामी माघमा हुने पार्टीको महाधिवेशनसम्म पार्टीमा देखिएको बैचारिक मतभेदका विषयमा ठिक निश्कर्षमा नपुगे पार्टी नै संकटमा पर्ने चेतावनी खनालले नेपाललाई दिएका छन् ।
एकीकृत समाजवादीको मंगलबारदेखि जारी पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा आफनो तर्फबाट ३ बुँदे असहमति पत्र दर्ज गराएका सम्मानित नेता खनालले नेपाललाई त्यस्तो चेतावनी दिएका हुन् ।
‘मैले भनेको कुरा अध्यक्षले मान्नैपर्छ भन्ने छैन र अध्यक्षले भनेको कुरा मैले मान्नैपर्छ भन्ने छैन,’ खनालले नेपालको प्रतिवेदनमाथी मंगलबार नै धारणा राख्दै आफना ३ बुँदे असहमति समेत दर्ज गराउादै सम्मानित नेता खनालले बैठकमा भनेको भनाई उदधृत गदै एक केन्द्रीय सदस्यले मेरोन्यूजसँग भने, ‘ पार्टीमा देखा परेका वैचारिक मतभेदका विषयमा सार्वभौम केन्द्रीय कमिटीमा छलफल गरौं र ठीक निष्कर्षमा पुगौं । अन्यथा पार्टी बन्दैन । यसले संकटमा लान्छ ।’
नेपालले भने खनालले बैठकमा राखेको असहमतिका बारेमा केही बताएका छैनन । तर उनले आफनो प्रतिवेदन राख्नेक्रममै खनालप्रति संकेत गदैं भनेका थिए,- ‘पार्टीभित्र अहिले अनावश्यक विषयमा छलफल चलाइनु गलत हुनजान्छ ।’
नेकपा एकीकृत समाजवादीको आज र भोलि सम्म केन्द्रीय कमिटिीको बैठक चल्दैछ । आज देखि केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा केन्द्रीत रहेर टिप्पणी गर्नेछन् ।
खनाल र नेपालका बीचमा खासगरि अहिलेको प्रधानअन्तरविरोध, जनताको बहुदलीय जनबाद, समाजवादी मोर्चा र सत्ता गठबन्धनका विषयमा फरक मत देखिएको छ । यसलाई नेताहरुले सैद्दान्तिक बैचारिक मतभेदका रुपमा अथ्र्याएका छन् । अहिले माओवादी, कांग्रेस, जसपा, लोसपा, जनमतसहितको सरकारमा एकीकृत समाजवादी पनि केन्द्र सरकारमा दुई वटा मन्त्रीसहित सहभागी छ ।
त्यस्तै माओवादी, जसपा र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग समाजवादी मोर्चामा आवद्ध छ । यी दुवैको निरन्तरताको प्षमा माधव नेपाल छन् । तर खनाल भने अहिलेको सत्ता गठबन्धन दक्षिणपन्थी गठबन्धन रहेको र त्यसबाट बाहिरिनुपर्ने तथा समाजवादी मोर्चालाई कार्यनीतिक मोर्चा मात्रै बनाउनु पर्ने पषमा उभिएका छन् ।
कुन विषयमा कुन नेताको के छ धारणा ?
क) प्रधान अन्तरविरोध
माधव नेपाल : तीन प्रकारका आधारभूत अन्तरविरोधमध्ये बाह्य अन्तरविरोध प्रधान रहेको अवस्था अहिले होइन । त्यसैले आन्तरिक आधारभूत अन्तरविरोध अर्थात् दलाल नोकरशाही पुँजीपति वर्ग र आम नेपाली जनताबीचको अन्तरविरोध वर्तमान नेपाली समाजको प्रधान अन्तरविरोध हो । दलाल नोकरशाही पुँजीपति वर्गको हितमा काम गर्ने प्रतिनिधि कुनै एउटा राजनीतिक दलमा मात्र नभएर विभिन्न दल र संगठनमा हुन सक्छन् । यसका अनेक गुट अनेक दलमा हुन सक्छन् । त्यसैले कुनै एउटा राजनीतिक दललाई दलाल नोकरशाही पुँजीपति वर्गको राजनीतिक प्रतिनिधि घोषणा गर्नु र उक्त राजनीतिक दलसँग आम नेपाली जनताको अन्तरविरोध वर्तमान नेपाली समाजको प्रधान राजनीतिक अन्तरविरोध हो भन्नु उपयुक्त हुँदैन ।
झलनाथ खनाल : योसँग पनि र त्योसँग पनि अन्तरविरोध छ भन्दा शक्ति छरिन्छ र त्यसले निष्कर्षमा पुर्याउन सक्दैन । अध्यक्षको प्रतिवेदनमा धेरै अन्तर्विरोधको विषयमा कुरा गरिएको छ तर स्पष्ट रूपमा कुनरकुन पात्र हो भनिएको छैन । यसबेला नेपाली समाजको ठोस राजनीतिक स्थितिमा हाम्रो पार्टीको र सबै वामपन्थी दल समूहहरूको मुख्य प्रतिद्वन्द्वी शक्ति भनेको मुख्यतः दक्षिणपन्थी शक्तिका रूपमा रहेको कांग्रेसबाहेक अरू कुनै पनि हुन सक्दैन । तर अन्य अधिकांश वामपन्थी समूहहरू ठीक यही बिन्दुमा पुगिरहेका छन् । उनीहरू मुख्य प्रतिद्वन्द्वी शक्तिसँग गठबन्धन, कार्यगत एकता र मोर्चा बनाउँदै सत्ताको चुस्की लिइरहेका छन् । प्रधान राजनीतिक अन्तरविरोध र प्रमुख राजनीतिक प्रतिद्वन्द्वीलाई ठीक ढंगले ठम्याउनुपर्छ र क्रान्तिको प्रवाहलाई निसाना केन्द्रित ढंगले अघि बढाउनुपर्छ ।
ख) जनताको बहुदलीय जनवाद
माधव नेपाल : जनताको बहुदलीय जनवादमा सामन्तवादविरुद्ध अगाडि सारिएका राजनीतिक माग, नारा र मूल्यमान्यता संविधानमा संस्थागत भएका छन् । यो उपलब्धिको पक्ष हो । तर, जनताको बहुदलीय जनवाद सामन्तवाद विरोधी कार्यक्रम मात्र होइन, दलाल नोकरशाही पुँजीवादविरोधी कार्यक्रम पनि हो । यो राजनीतिक कार्यक्रम मात्र पनि होइन, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको कार्यक्रमसमेत हो । यसले अगाडि सारेका आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका कार्यक्रमहरू व्यवहारमा लागू भइसकेका छैनन् । जबजले राज्यसत्ताको मात्र होइन, कम्युनिस्ट आन्दोलन र पार्टीको लोकतान्त्रीकरणको मान्यता पनि राख्ने गरेको छ । प्रतिस्पर्धा र पहलकदमीद्वारा श्रेष्ठता एवं अगुवाइ हासिल गर्ने मान्यता पनि जबजले राखेको छ । यी सबै सन्दर्भमा जबजको सान्दर्भिकता छ ।
झलनाथ खनाल : संविधान बनेपछि जबजको युग सकियो । जबज भनेको नयाँ जनवाद नै हो, छुट्टै नयाँ जनवाद होइन । पुराना कुरा पनि स्मरण गर्ने हो भने नयाँ जनवाद पनि स्मरण गरौं ।
समाजवादी मोर्चा
माधव नेपाल : संयुक्त मोर्चा क्रान्तिकारी आन्दोलन सञ्चालन गर्ने एउटा महत्त्वपूर्ण संरचना हो । अहिले बनाइएको समाजवादी मोर्चा समाजवादी कार्यदिशा अंगालेका वामपन्थी पार्टीबीचको संयुक्त मोर्चा हो ।
झलनाथ खनाल : समाजवादी मोर्चा रणनीतिक हुन सक्दैन । कम्युनिस्ट नभएको घोषणा गर्ने जसपा, माओवादीमा केही उग्रवामपन्थ र दक्षिणपन्थी अवसरवाद बाँकी रहेको तथा नेत्रविक्रम चन्दमा उग्रवाद बाँकी रहेको छ । फरकफरक सोच रहेकाहरूसँग मोर्चा कतिसम्म दिगो जान सक्छ भन्नेमा शंका छ । यो रणनीति मोर्चा नभएर कार्यनीतिक मोर्चा मात्रै हुन सक्छ ।
सत्ता गठबन्धन
माधव नेपाल : यो गठबन्धन वर्तमान संसद्को संरचनाअनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो । यो दीर्घकालीन होइन, तात्कालिक राजनीतिक कार्यगत एकता मात्र हो । त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने राजनीतिक गठबन्धन वा कार्यगत एकता पनि बदलिन सक्छ । अहिले तत्काल वर्तमान राजनीतिक परिस्थिति र गठबन्धन बदलिने र हामी गठबन्धनबाट बाहिर निस्कने अवस्था छैन ।
झलनाथ खनाल : यो दक्षिणपन्थी कार्यदिशाले वामपन्थीहरूलाई निरन्तर अधोगति, सुस्तता, विभाजन र पलायनतिर लगिरहेछ । दक्षिणपन्थीहरूलाई लगातार फाइदा पुगिरहेछ । उनीहरू वामपन्थीलाई विभाजन गर्न र त्यसको एक हिस्सालाई उपयोग गरेर आफ्नो शक्ति वृद्धि गर्न सफल भइरहेछन् । यसरी वामपन्थी समूहरू दक्षिणपन्थी शक्तिका प्यादा र बैसाखी जस्ता बनेका छन् । आफ्नो साख निरन्तर गिराइरहेका छन् । यस्तो डरलाग्दो दक्षिणपन्थी गल्तीबाट पार्टीलाई जोगाउनुपर्छ । हाम्रो अनुभवहरूको समीक्षा गर्नुपर्छ, आफ्ना गल्तीलाई स्वार्थमुक्त भएर आँटका साथ सच्याउनुपर्छ र पार्टीलाई सही वैचारिक–राजनीतिक कार्यदिशा, नीति र सिद्धान्तको जगमा उभ्याउनुपर्छ ।

शितल शर्मा
मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया