संविधान घोषणाको ८ वर्ष
संविधान घोषणाको ८ वर्ष: दुईपटक संविधान संशोधन तर, असमझदारी ज्यूँका त्यूँ
कार्यान्वयन पक्ष कमजोर, संविधानले दिएको दायित्व पूरा गर्न लाग्नुपर्ने दलहरु सरकारकै खिचातानीमा मस्त

काठमाडौं । नेपालमा संविधानसभाबाट संविधान जारी भएको आठ वर्ष पुगेको छ । जनताले चुनेर पठाएका जनप्रतिनिधिले २०७२ असोज ३ गते संविधान जारी गरेका थिए ।
संविधानमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी /समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षता, तीन तहको सरकारको ब्यवस्थासहितको संघीयता जस्ता ब्यवस्था छ । संविधान जारी भएपछि तीन तहका सरकारले दोस्रो कार्यकालमा रहेर काम गरिरहेका छन् । संविधानले गणतन्त्र, धर्मनिरपेक्षता, संघीय राज्य प्रणाली, समानुपातिक समावेशी प्रतिनिधित्वलगायत विषय सुनिश्चित नै गरेको छ । यही संविधानमा टेकेर दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भएका छन् ।
यदाकदा अहिले संविधानमा अपुगता रहेको र अपूर्णतालाई संविधान संशोधन गरेर भएपनि पूरा गर्नुपर्ने आवाज पनि उठेको छ । संविधान जारी गर्ने बेला राजनीतिक दलहरुका बीचमा जुन खालको एकता थियो अहिले त्यो एकता खण्डित छ । विश्वास र समझदारीको बाताबरण बन्न सकेको छैन । ‘त्यो बेला दलहरुका बीचमा अभूतपूर्व एकता बनेको थियो, त्यही एकताको बलमा संविधान जारी भयो,’ नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले भने, ‘तर अहिले दलहरुका बीचमा समझदारी छैन । अवश्विास छ । जसकाकारण संविधानले आफनो गति बलियो गरेर पक्डिन सकिरहेको छैन ।’
नयाँ राजनीतिक व्यवस्था कार्यान्वयनसँगै देश विकासको गतिमा अघि बढ्ने र समृद्धि हासिल गर्ने राजनीतिक प्रतिबद्धताले नागरिकमा उत्साह थियो । तर संविधान जारी भएको आठ वर्ष बित्दा पनि कार्यान्वयनमा समस्या देखिएको छ । यसले संविधानविद् मात्र नभएर संविधान जारी गर्नेहरु नै सन्तुष्ट देखिँदैनन् ।
संविधानमा रहेको निर्वाचन प्रणाली र शासकिय स्वरुपमा संशोधन आवश्यक रहेको कतिपयले बताएका छन् । निर्वाचन प्रणाली महँगो र मिश्रित भईरहँदा कुनै दलको संसदमा बहुमत जुटने अवस्था नआउने र त्यस्तो बेला खिचडी संसद मात्र बन्ने अवस्था रहेको भन्दै निर्वाचन प्रणाली फेर्नुपर्ने आवाज जर्वजस्त उठिरहेको छ । त्यस्तै गणतन्त्रको विकल्प खोज्न नसकिने भएपनि यो ब्इवस्थाभित्रै रहेर प्रत्यक्ष निर्वाचत कार्यकारी प्रमुख बनाउने गरि राज्यको शासनको स्वरुप निर्धारण गर्नुपर्ने मत पनि छ । यो मत खासगरि माओवादी केन्द्रका नेता कार्यकर्ताले उठाईरहेका छन् । तर अन्य दलहरु भने अहिले संविधान संशोधनको हतारोमा लाग्न नहुने पक्षमा छन् ।
२०७२ सालमा संविधानसभाबाट जारी भएको तर संविधानले परिकल्पना गरेको बलियो शासन व्यवस्था, सुशासन र जनजीविकाका विषय सम्बोधनमा संविधान जारी भएको ८ वर्ष पुगेपनि समस्या देखिएका छन् ।
संविधानअनुसारका कानुन निर्माणमा संघीय सरकार चुक्दा कर्मचारीमा अन्योल छ । शिक्षा क्षेत्रका समस्या उस्तै छन् । प्रहरी समायोजनको विषय अगाडि बढ्न सकेको छैन । यसले संविधानले परिकल्पना गरेको सुशासनमै धक्का लागेको छ ।
संविधानअनुसार ७० भन्दा बढी कानुन बनाउनै बाँकी छ । संघीय सरकारले नै तत्काल बनाउनुपर्ने भनिएका ४० वटा कानुन बनेका छैनन् । मौलिक हक कार्यान्वयसम्बन्धी कानुन बने पनि कार्यान्वयनमै समस्या छ । संविधानले दिएको दायित्व पूरा गर्न लाग्नुपर्ने दलहरु सरकारकै खिचातानीमा रमाइरहेका छन् ।
संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीसम्बन्धी कानुन बनेको छैन । स्रोत बाँडफाँटको विषयलाई लिएर प्रदेशहरु केन्द्र सरकारविरुद्ध नै न्यायिक उपचारमा लागेका छन् । संघ र प्रदेशबीच सहकार्यलाई बढाउनुपर्ने बेलामा अन्तरप्रदेश परिषद् निष्क्रिय जस्तै छ ।
संविधानमा परिभाषित समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थाले लक्षित वर्गलाई कति छुन सक्यो भन्ने प्रश्न उठेको संविधान निर्माणमा संलग्नहरुले नै स्वीकार्न थालेका छन् ।
त्यसो त संविधान जारी हुँदा पनि दलहरुबीच केही असमझदारी थिए । दुईपटक संविधान संशोधन गरिए पनि अहिलेसम्म त्यस्ता असमझदारी ज्यूँका त्यूँ रहेको लोसपाका नेता सर्वेन्द्रनाथ शुक्लको बुझाइ छ ।
संविधान जारी भएलगत्तै यसको कार्यान्वयनमा लाग्नु राजनीतिक दलहरुको दायित्व हो । तर पूर्ण कार्यान्वयन नहुँदै दलहरु सत्ता स्वार्थमा केन्द्रीत हुँदा संविधानको मर्ममाथि नै प्रश्न उठ्ने जोखिम बढेको संविधानविद् विपिन अधिकारी बताउँछन् ।
संविधान सहमतिको राजनीतिक दस्तावेज हो । कार्यान्वयनमा समस्या देखिए आवश्यकताका आधारमा यो संशोधन गर्न सकिन्छ । तर यसतर्फ दलहरुले ध्यान दिन सकेका छैनन् ।
नेपालको संविधानले नागरिकलाई अधिकार सम्पन्न बनाएको छ । तर संविधान कार्यान्वयन सुस्त हुँदा नागरिकले आफ्ना मौलिक अधिकारकोसमेत उपयोग गर्न पाएका छैनन् । संविधानको भावनाअनुसार अघि नबढ्ने हो भने व्यवस्थामाथि नै प्रश्न उठ्नेतर्फ राजनीतिक दलहरु सचेत हुनुपर्ने देखिन्छ ।
एउटा पक्ष के देखिएको छ भने मधेसमा क्रमशः संविधानप्रतिको विश्वास र स्वीकारोक्ति भने बढेको छ । संविधान जारी गर्ने बेला र जारी भएपछि पनि मधेस केन्द्रीत दलहरु सन्तुष्ट हुन सकिरहेका थिएनन । उनीहरुले आधार भरिएको र आधा खाली गिलासको रुपमा संविधानलाई चित्रित गदैं आईरहेका थिए । उनीहरुले पटक पटक संविधान संशोधनको आवाज उठाईरहेका थिए । संविधान दिवसका दिन उनीहरुले कुनै न कुनै विरोध कार्यक्रम आयोजना गर्ने गर्दथे ।
तर यो पटक उनीहरुले विरोधका कार्यक्रम न समर्थनका कुनै पनि कार्यक्रम बनाएको देखिएको छैन । यसले गर्दा क्रमशः मधेसमा पनि संविधानप्रतिको स्वीकारोक्ति देखिदै जान थालेको छ । तर मधेस केन्द्रीत दलहरुले स्वीकारोक्तिका रुपमा नबुझन आग्रह गरिनै रहेका छन् ।










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया