बिहीबार, मंसिर १८, २०८२

एमएस समूहको नयाँ पुस्ताकी माल्भिका : ‘बुनेको : कैश्मियर टेल्स’मार्फत फेसन उद्यममा

मेरोन्यूज २०८० असोज ४ गते ८:३१

नेपालमा कहलिएको व्यवसायिक घरानामा पर्छ- एमएस ग्रुप । १ सय २२ वर्ष लामो व्यवसायिक विरासत भएको यो घरानाको नेपालमै चौथो पुस्ता हुर्किइरहेको छ । अहिले यो घरानाको नेतृत्व गरिरहेका छन्- शशीकान्त अग्रवाल र सुमित अग्रवाल ।

एमएस ग्रुपको इतिहास काठमाडौंको झोसेबाट सुरु हुन्छ । झोसेबाट १ सय २२ वर्षअघि हजुरबुवा मल्लीराम अग्रवाल ट्रेडिङ व्यापारबाट व्यवसाय सुरु गरेका हुन् । मल्लीरामको लत्ताकपडाको व्यापार निकै फैलिएको थियो । त्यसपछि उनका छोरा शिवकुमारले त्यही व्यवसायलाई निरन्तरता दिए । नाति पुस्तामा शशीकान्त र सुमित अग्रवालले हजुरबुवाको ट्रेडिङलाई गार्मेट हुँदैं उधोग, हस्पिटालिटी, स्टील्स, हाउजिङ र कन्स्ट्रक्सनलगायतका क्षेत्रमा फैलाए ।

यही व्यवसायिक घरानाकी पनाति पुस्ता माल्भिका अग्रवाल भने अलग धारमा हिड्न खोजिरहेकी छन् । उनका बुवा सुमित एमएस ग्रुपको कन्स्ट्रक्सन, हाउजिङलगायतका कारोबार सम्हाल्छन् । छोरी माल्भिका पारिवारिक लिगेसीभन्दा अलग र भिन्दैं पहिचान बनाउन खोजिरहेकी छन्—फेसनमा । उनको सोच नै यस्तै छ—आफू जन्मे हुर्केको माटोका उत्पादनलाई ‘ग्लोबल ब्राण्ड’का रुपमा विश्वबजार पुर्‍याउने ।

माल्भिकाले स्कुलिङ जावलाखेलस्थित ब्रिटिस स्कुलमा भएको हो । उनले त्यहाँबाट ए लेभलको अध्ययन पूरा गरिन् । उनको सानैदेखि फेसनमा रुचि थियो । ‘मलाई सानैदेखि फेसनमा एकदम रुचि थियो । फेसन दुनियाँको रौनक र सिर्जनशीलताले आकर्षित थिए,’ माल्भिका भन्छिन्, ‘एकदिन म यसै दुनियाँमा आफ्नो छाप छोडेर मेरो देश नेपालका लागि पनि केही सकारात्मक योगदान दिने सोचमा थिए ।’ त्यसैका लागि माल्भिका फेसन पढ्न बेलायतको म्यानचेष्टर गइन् । त्यहीबाट उनले फेसनमा ग्राजुयट गरिन् ।

यतिले मात्रै उनको फेसन सम्बन्धि ज्ञानको दायरा पूर्ण भइसकेको थिएन । जसका कारण थप उच्च शिक्षाका लागि फेसनमा चर्चित मानिने इटाली गइन् । इटालीको मिलानमा फेसनमा माष्टर्स तहको पढाइ सकेपछि माल्भिका थेसिस गरिरहेकी थिइन् । विश्व फेसन बजारमा नेपालीपन बोकेका प्रडक्टहरु किन पुग्दैनन् ? यही प्रश्नले उनलाई घोचिरह्यो । त्यहीबेला उनले नेपाली फेसन दुनियाँमा केही फरक र अर्थपूर्ण काम गर्ने सोच बनाइन् ।

त्यही प्रयासतर्फको पहिलो कदम हो—‘बुनेको : कैश्मियर टेल्स’ । ‘बुनेको’को सुरुवात मेरो मास्टर्सको थेसिससँगै भयो । मेरो थेसिस नेपालको कैश्मियर ब्रान्ड र यसको विश्व बजारमा फैलिन सक्ने अवस्थाको बारेमा थियो,’ हालैको एक मध्यान्ह उनले सुनाइन्, ‘यसमा गहन अध्ययन, विश्लेषण गर्दै बजारको गतिशीलता, ब्रान्ड बेचबिखन हुनसक्ने महत्वपूर्ण ठाउँहरु, ब्रान्डको विश्वव्यापी फैलावटको सम्भावना लागि गरिनुपर्ने रणनीतिको बारेमा अध्ययन गरे ।’ त्यही अध्ययनले उनलाई यसमा प्रशस्त सम्भावनाहरु देखायो । जन्मभूमीका लागि केही गर्ने उनको इच्छा पनि यही सम्भावनाभित्र देखिनँ ।

माल्भिका ‘बुनेको : ‘कैश्मियर टेल्स’मार्फत नेपाली फेसन अन्तर्राष्ट्रिकरणमा गर्न जुटिरहेकी छन् । बुधबार होटल मेरियटमा उनले यसतर्फको पहिलो चालेकी छन्—‘बुनेको’को ग्राण्ड ओपनिङमार्फत । ‘मेरो अन्तिम चाहना नै बुनेको कैश्मियरको माध्यमबाट फेसनमा नेपालको प्रतिभा, सामग्री र कला विश्वलाई देखाउँदै नेपालको नाम विश्वमा चिनाउने नै हो ।’ उनकाअनुसार कपडाको मुल्यअनुसार यसको गुणस्तर र दिगोरस्थिरता कपड़ाका आधारभूत गुण हुन् । गुणस्तरले कपडाप्रतिको विश्वास बढाउँछ भने साजसज्जा यसलाई जीवन्त बनाउँछ ।

त्यसो भए ‘बुनेकोः कैश्मियर टेल्स’ नाम नै किन त ? ‘बुनेको : कैश्मियर टेल्स’ उनको मुटुमै बसेको नाम हो । ‘बुनेको भनेको नेपालीमा बुन्नु हो, बुन्नु शब्दले मैले गर्ने कार्यको उद्देश्य र मर्म प्रस्तुत गर्छ,’ उनले नामको गहनपनबारे सुनाइन्, ‘आखिर मैले गर्न खोजेको नै विभिन्न कला, संस्कृति र कथाहरुलाई एकापसमा बुनेको त हो । मैले यसबाट यस्तो धरातल निर्माण गर्न खोजेको हो जसले समावेशीकरण र एकता प्रकट गरोस् ।’ वाह युवा सोच । मुलुकमा जाति, भाषा र समुदायका नाममा विभाजन बढिरहेका बेला एक युवा नेपाली फेसन ब्राण्डमार्फत एकता खोजिरहेको छ । एकता खोज्नेमात्रै होइन्, नेपालीपन विश्व बजारमा पु¥याउने सोच बनाइरहेको छ ।

‘बुनेको : कैश्मियर टेल्स’का उत्पादनमा नेपालको शील्प कौशल र इटालीको डिजाइनको विशिस्ट कलालाई एकै ठाँउमा ल्याउने प्रयास गरिएको छ । यसका धेरैजसो डिजाइनहरु एकदम सावधानीपूर्वक फेसनको सम्पदा मानिने इटालीमै गरिएको माल्भिका बताउँछिन् । ‘ती डिजाइनलाई कला, संस्कृति र परम्पराको धनी देश नेपालमा जीवन्त रुप दिइएको हो,’ उनले भनिन्, ‘यो दुइटाको एकताबाट बनेका वस्तु हेर्दा अवश्य लोभलाग्दा छन् नै । साथै, स्थानीय कला र विश्वव्यापी प्रस्फुटनको सन्देश पनि बोकेका छन् ।’

सबैभन्दा रोचक त के भने ‘बुनेको : कैश्मियर टेल्स’लाई छुट्टै अस्तित्व प्रदान गर्ने गरी डिजाइनका पछाडिका ‘टेल्स’ अर्थात कथाहरु हुन् । ‘हरेक बनेका वस्तुको यहाँ आफ्नै कथा छ, आफ्नै छुट्टै यात्रा छ,’ माल्भिका सुनिइन्, ‘त्यही कथालाई ती कुशल शिल्प, कौशलकार अथवा कालिगडले आफ्नो कलामा उनेर सुन्दर कपड़ा बनाए ।’ उनकाअनुसार हिमालमा बनेको कपडाको स्रोत र कपडा बनाउँदा प्रयोग गरिएको डिजाइनले हरेक बुनाइलाई जीवन दिएका छन् ।

माल्भिका ‘बुनेको : कैश्मियर टेल्स’का कपडाहरु केवल कपडा मात्रै छैनन् । ‘कथाहरुले हाम्रो वस्तुमा अझै गहिरो भावना र जीवन ल्याएका छन्,’ उनले थपिन्, ‘कपड़ा केवल कपडा मात्रै नभई जीवन्त कलात्मकता र संस्कृतिको रुपमा परिचय छोडेका छन् ।’

बुनेको कैश्मियर सुन्ने बित्तिकै सल, स्कार्फ, गलबन्दी दिमागमा आउँछ । किनभने, यसबाट बनेका पूराना तथा क्लासिक कपड़ा यी नै हुन् । तर, ‘बुनेको : कैश्मियर टेल्स’ त्यतिमा मात्र सिमित नभएर सारी, ट्युब टप्स, सल, स्वेटर र अन्य उत्पादनहरु प्नि बजारमा ल्याएको छ । माल्भिकाअनुसार कैश्मियर बहुमुखी हुनुका साथै यसले ग्राहकको आराम र स्टाइललाई पनि जोड दिएको छ । ‘सारी, ट्युब, टप्सलगायतका कैश्मियरबाट बनेको लुगा लगाउँदा साँच्चै सपना पूरा भएजस्तै लाग्छ,’ उनले भनिन्, ‘यी लुगाको कपडाले न्यानोपना र कोमलताको आभास गराउँदै लगाउनेलाई आफ्नै शैली र फेसनमा मन्त्रमुग्ध बनाउनेछ ।’

जाडोमा मानिसहरुले फेसनेबल लुगा लगाउन नै पाइरहेका हुँदैनन्, माल्भिकाले जाडोका लागि आकर्षक डिजाइनका न्याना पहिरनहरु पनि कैश्मियर भण्डारमा उपलब्ध हुने जानकारी दिइन् । हाललाई ‘बुनेको: कैश्मियर टेल्स’का लुगाहरु अनलाइन स्टोरमार्फत उपलब्ध हुने उनले जानकारी दिइन् ।

प्रतिक्रिया