सोमबार, मंसिर ८, २०८२

आपराधिक विश्वासघात अभियोगमा अभिनेता केसीलाई ३ दिन हिरासतमा राख्न अनुमति

मेरोन्यूज २०८० असोज १४ गते १९:३५

काठमाडौँ । आपराधिक विश्वासघात अभियोगमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई काठमाडौँ जिल्ला अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

आइतबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

आपराधिक विश्वासघातको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयले केसीलाई शुक्रबार भक्तपुरको साँगाबाट पक्राउ गरेको थियो । पक्राउ गरेको दिनबाट आइतबार सम्म मात्र थुनामा राख्न अदालतले अनुमति दिएको हो । अनमोललाई पुनः सोमबार अदालतमा उपस्थित गराउनुपर्नेछ ।

पक्राउपछि केसीलाई महाराजगन्जस्थित चिरायु अस्पतालमा भर्ना गरिएको थियो । रावायण फिल्म खेल्छु भनेर १० लाख पेस्की लिएर खेल्न आनाकानी गरेपछि निर्माण युनिटले उनीविरुद्ध ‘आपराधिक विश्वासघात’को कसुरमा जाहेरी दिएको थियो ।

अनमोलले आफूलाई प्रहरीले धरपकड गरेको भन्दै उच्च अदालत पाटनबाट अन्तरिम आदेश लिएका थिए । तर, देवानी कसुरमा पक्राउ नगर्नु भन्ने आदेश लिए पनि फौजदारी कसुरमा उनीविरुद्ध पक्राउ अनुमति जारी भएको हुनाले मुद्दा अनुसन्धानमा असर नपर्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

अनमोलले ‘आपराधिक विश्वासघात’ गरेका कारण करिब डेढ करोड लगानी डुबेको दाबी गर्दै निर्माण युनिटले बिगो भराउन माग गरेको छ ।

प्रतिक्रिया